बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

आइतबार, १३ पुस २०८२, १० : ०७
आइतबार, १३ पुस २०८२

सारांश

  • मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्यो।
  • प्रहरीले ३३० केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने तयारी छ।

विराटनगर । मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले मध्यरातमा हवाई फायर गर्नुपरेको छ । सो क्रममा नेपाल–भारत सीमा क्षेत्र नजिकबाट ३३० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार राति करिब १०ः३० बजेतिर जहदा गाउँपालिका–२ तारिगामा गाँजा ओसारपसार भइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

टोली घटनास्थलमा पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीलाई देख्नासाथ कारोबारीहरू गाँजाको बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणका लागि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट ३३० केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गाँजा ओसारपसारकै क्रममा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत पुर्‍याउने प्रयास हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप