शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

रवि र बालेनबिचको सहमतिबारे के भन्छन् भारतीय मिडिया ?

आइतबार, १३ पुस २०८२, १५ : २२
आइतबार, १३ पुस २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको छ।
  • भारतीय मिडियामा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै समाचार प्रकाशित भएका छन्।
  • सहमतिले भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने लक्ष्य राखेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाहबिच भएको सहमतिले नेपालको राजनीतिक धरातल तरङ्गित भएको छ । दुई नेताबिच भएको सात बुँदे सहमतिलाई लिएर छिमेकी मुलुक भारतमा समेत चर्चा चलिरहेको छ ।

भारतीय मिडियाले रवि र बालेनबिच भएको सहमतिलाई महत्त्वपूर्ण स्थान दिएर समाचार प्रकाशन गरेका छन् । उनीहरूले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा चित्रित गर्दै समाचार लेखेका हुन् ।

बीबीसी हिन्दीले समेत यो समाचारलाई निकै महत्त्व दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको चर्चा गर्दै समाचारमा उनी युवामाझ निकै लोकप्रिय रहेको जनाइएको छ ।

यस्तै भारतको चर्चित अखबार ‘नवभारत टाइम्स’को अनलाइन संस्करणमा पनि रवि र बालेनबिच भएको सहमतिलाई प्राथमिकता दिएर प्रकाशन गरिएको छ ।

बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल हुने सहमतिसँगै सो पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको भन्दै समाचारमा लेखिएको छ, ‘यो सम्झौतालाई जेनजी आन्दोलनको राजनीतिक विस्तार भनिएको छ । दुवै पक्षले युवाका तर्फबाट भ्रष्टाचार, कुशासन, बेरोजगारीविरुद्ध सुरु गरिएको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने घोषणा गरेका छन् ।’

रास्वपा विघटित प्रतिनिधि सभाको चौथो प्रमुख दल रहेको चर्चा गर्दै नवभारत टाइम्सले समाचारमा लेखेको छ, ‘बालेन शाहजस्ता लोकप्रिय र गैरपारम्परिक नेता जोडिएपछि पार्टीलाई सहरी युवा र पहिलो पटक मत दिन लागेका युवाको ठुलो समर्थन प्राप्त हुने अपेक्षा छ ।’

उक्त समाचारमा बालेन शाहले बेलाबखत भारतविरोधी अभिव्यक्ति दिएको उल्लेख छ । समाचारमा लेखिएको छ, ‘उनले कैयौँ पटक भारतसँगको सीमा विवादलाई लिएर कडा टिप्पणी गरेका छन् । उनले नेपालको राजनीतिमा भारतीय हस्तक्षेपको चर्चा पनि गरेका छन् । यद्यपि राहतको कुरा यो छ कि उनले चीनको समर्थनमा पनि बयानबाजी गरेका छैनन् ।’

अर्को प्रमुख भारतीय अखबार ‘अमर उजाला’कै अनलाइन संस्करणमा पनि रवि र बालेनबिच भएको सहमतिबारे समाचार बनाइएको छ । दुवै नेताले जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दालाई सम्बोधन गर्ने सहमति गरेको समाचारमा उल्लेख छ ।

भारतीय न्यूज च्यालन ‘जी न्यूज’को अनलाइन संस्करणमा पनि बालेन शाहलाई नेपालको भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने गरी सहमति भएको विषयलाई स्थान दिइएको छ । विघटिन प्रतिनिधि सभामा २१ सिट रहेको रास्वपाले युवामाझ लोकप्रिय रहेका बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेसँगै आसन्न चुनावमा पार्टी अझ मजबुत बन्ने समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप