रवि, बालेन र कुलमान मिलेपछि पुराना दल दबाबमा–दिनभर के भयो आयोगमा ?
सारांश
- निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय दलहरूको ढिलासुस्तीका कारण प्रभावित भयो।
- विभिन्न दलहरूबीच एकता र सहकार्यको प्रयास भइरहेको छ, जसमा रास्वपा र कुलमान घिसिङबीचको सहमति विशेष चर्चामा रह्यो।
- धेरै दलहरूले ढिलो गरी बन्दसूची बुझाए, जसले गर्दा निर्वाचन आयोगका कर्मचारीहरूलाई रातभर काम गर्नुपर्ने बाध्यता भयो।
काठमाडौँ । पुराना तथा नयाँ राजनीतिक दलहरूबिच ध्रुवीकरण र एकताका कारण निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नै प्रभावित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउने समय आयोगले कात्तिक ३० गतेको निर्णय अनुसार पुस १३ र १४ गतेलाई तोकेको थियो । तर प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सोमबार दिउँसो पौने चार बजेसम्म पनि पुगेका थिएनन् । बन्दसूची बुझाउने कार्यालय समय बिहान १० देखि ४ बजेसम्म भएपनि दलहरू समयमै नपुग्दा रातभर काम गर्नुपर्ने बाध्यतामा आयोग पदाधिकारी र कर्मचारी रहेका छन् ।
आयोग पुगेका नगन्य दलहरू समेत रितपूर्वक कागजात नपुगेकाले बाहिर चौरमा बसेर मिलाइ रहेका थिए । दिउँसो ३ः ५५ बजे उम्मेदवारहरूको बन्दसूची लिएर नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहितका टोली पुग्यो । पार्टीको कार्यसम्पादन समितिको बैठक सम्पन्न गरेर आउँदा ढिलो भएको विश्वकर्माले जिकिर गरे । बन्दसूची बुझाउनका लागि निस्सा लिएर प्रक्रिया अगाडि बढाउँदा समेत उम्मेदवारहरूको बन्दसूची तरखरमै थिए । आयोगको कार्यालयभित्र बन्द कोठामा बसेर नेताहरूले गृहकार्य गरिरहेका थिए । विश्वकर्माले प्रक्रिया पुर्याएर आएकाले आजै दर्ता हुने विश्वास व्यक्त गरे ।
‘समानुपातिक उम्मेदवारको सबै प्रक्रिया पुरा गरेर आएका छौँ । सायद अबेरसम्म काम सकाएर नै जान्छौँ । यस पटक नयाँ अनुहारलाई प्राथमिकता दिएर बन्दसूचीमा राखेका छौँ’, उनले भने ।
उनले नयाँ दलहरूबिच एकता र ध्रुवीकरणको लहर चलिरहेकोप्रति स्वाभाविक प्रतिक्रिया दिएपछि आफूहरू गठबन्धन गर्ने पक्षमा नरहेको बताए । विश्वकर्माले कांग्रेसले नेकपा एमालेसँग गठबन्धन नगरेको भए देश दुर्घटनामा नपर्ने उनको बुझाइ थियो ।
‘देश, लोकतन्त्र, संविधान धरापमा परेको बेला सहकार्य वा गठबन्धन गर्नुपर्थ्यो । हामीले एमालेसँग गठबन्धन नगरेको भए सायद भदौ २३ र २४ गते विध्वंस हुने थिएन । अहिले हामी कुनै दलसँग सहकार्य वा गठबन्धनको पक्षमा छैनौँ’, उनले भने ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १५ वटा वामपन्थी घटकसँग मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा भागबन्डा मिलाउन केन्द्रीय कार्यालयमा प्रमुख नेताहरूको बैठक बसिरहेको थियो । निस्सा बुझ्नका लागि आयोग परिसरमा नेतृ दिलु पन्त खटिएकी थिइन् । साढे चार बजेतिर बन्दसूची बोकेर नेताहरू राजेन्द्र पाण्डे र मुक्ति प्रधान पुगेका थिए । केन्द्रीय कार्यालयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई एकता प्रक्रियामा ल्याउन संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल सक्रिय थिए । यद्यपि भागबण्डालाई लिएर पार्टीभित्र कुनै विवाद नभएको पाण्डेले जिकिर गरे ।
‘हामी १५ वटा घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । एउटै पार्टी भएपछि भागबन्डा भन्ने कुरा हुँदैन । कुनै विवाद पनि छैन । ११० जनाको बन्दसूची लिएर आएका छौँ’, उनले भने ।
निर्वाचनमा ५० वटा दल सहभागी हुनुभन्दा विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता हुनु नै राम्रो हुने उनले बताए । राष्ट्रियता, लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाको लागि एमाले लगायत दलहरूसँग सहकार्य हुन सक्ने उनले संकेत गरे ।
‘एमालेसँग एकता वा सहकार्यको कुरा भएको भए थाहा पाइहाल्नुहुन्छ । राष्ट्रियता, व्यवस्था र संविधानको रक्षाका लागि जोजो पार्टीसँग सहकार्य हुनसक्छ उनीहरूसँग सहकार्य हुन्छ’, पाण्डेले भने ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई महिनादेखि समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक निर्वाचनको प्रक्रिया सुरु गरेको थियो । उम्मेदवार छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि ५० प्रतिशत प्राइमरी निर्वाचन र ५० प्रतिशत लिडरसिप एकेडेमी, पोल्टिकल प्रोक्सिमिटी र समावेशीको आधारमा उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । तर आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग ७ बुँदे सहमति गरेको रास्वपाले उर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग एकताको लागि लगातार प्रयास गर्यो । एकताको प्रयास असफल भएपछि रास्वपाले आयोगमा बुझाउने बन्दसूचीबारे निर्णय लिन केन्द्रीय समितिको बैठक बोलायो । तर जेनजीका विभिन्न समूह, अभियान्ता सुदन गुरुङ लगायतका समूहले कुलमानसँग मिल्न दबाब दिएपछि रास्वपाका सभापति रवि लामिछाने बैठक छाडेर छलफलमा गए । झन्डै आठ/नौ घण्टापछि दुई पक्षबिच सात बुँदे सहमति भएको छ । कुलमानलाई रविपछिको उपसभापति बनाउने गरी हस्ताक्षर भएको छ । सहमतिमा बालेन साक्षी बसेका छ । दुई पक्ष बिचमा सहमति भएपनि उज्यालो नेपाल पार्टीले आयोगमा छुट्टै बन्दसूची बुझाइ सकेको छ ।
राजनीतिमा आएको छोटो पाँच महिनामै ११ लाख ३५ हजार भोट सहित २१ सिट जितेको रास्वपाले सहरी युवामाझ लोकप्रिय रहेका बालेन र आम नगरिकबिचमा राम्रो छवि बनाएका कुलमान बिचको एकताले राजनीतिमा तरंग ल्याएको छ । बालेन र कुलमानलाई रास्वपाकै झण्डा, ब्यानर, चुनाव चिन्हमा समाहित गरेर नयाँ वैकल्पिक राजनीतिको मूल धार रास्वपा भएको रविले सन्देश दिन सफल भएका छन् । सहकारी ठगी मुद्दामा विभिन्न जिल्ला अदालमा मूद्दा खेपेका उनी बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । त्यसअघि नेपालमा वैकल्पिक शक्तिका सूत्रधार मानिएको विवेकशील साझालाई पार्टीमा समाहित गरिसकेको छ । रवि, बालेन र कुलमान गठबन्धनले पुराना दलमाथि निकै दबाब बढाएको छ ।
रास्वपाले कुलमानसँगको सहमति अनुमोदन गरेर अझै आयोगमा अद्यावधिक सहित समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
‘हामी सहमति पत्रको प्रतीक्षामा छौँ । केन्द्रीय समितिले अनुमोदन गरेपछि अद्यावधिक सहित बन्दसूची आयोगमा बुझाउँछौँ । हाम्रा साथीहरू पहिले नै गृहकार्य गरिरहनुभएको छ’, उनले भने ।
समानुपातिकको बन्दसूची बुझाउन अबेर आयोग पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, ओजस्वी भट्टराई अलमलमा देखिन्थे । उज्यालो नेपालसँग एकता वा चुनावी सहकार्य गर्ने प्रयास असफल भएपछि उनीहरू एकल रूपमै बन्दसूची बुझाउने तयारी गरिरहेका थिए । भर्खर रास्वपा छोडेका सन्तोष परियार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी छोडेकोमा आफूलाई कुनै पछुतो नलागेको बताए । अध्यक्ष परिषद्का अध्यक्ष समेत रहेका उनले रास्वपाले ढोका खुला राखे एकता वा सहकार्य हुनसक्ने बताए ।
‘राजनीतिमा पछुतो भन्ने हुँदैन । रास्वपाले ढोका खुला राखे हामी पनि खुला नै छौँ । अहिले नै एकता गर्ने पक्षमा हामी छैनौँ । अन्य नयाँ दलहरूसँग सहकार्य हुन सक्छ’, उनले भने ।
अर्का अध्यक्ष किरातीले पार्टी आफूले फोडेको नभई प्रचण्डले छाडेको जिकिर गरे । उनले पनि नयाँ र वैकल्पिक शक्तिहरूसँग एकता र सहकार्यको सम्भावना बाँकी नै रहेको जिकिर गरे ।
‘नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र एकताको सम्भावना सकिएको छैन । प्रयास जारी नै रहन्छ’, उनले भने ।
परियार र किराती दुवैले रवि, बालेन र कुलमानबिच एकता र सहकार्यलाई सकारात्मक रूपमा लिए ।
यता आइतबार मात्रै सप्राइज एकता गर्ने सहमति गरेका जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी नेपाल आ–आफ्नै ढंगले निर्वाचन आयोग पुगेर बन्दसूची बुझाएका छन् । दुवै पक्षका नेताहरू अहिले छुट्टा छुट्टै बन्दसूची मिलाएपनि एकता घोषणा गरेपछि दाबी विरोधको बेलासम्म एउटै बन्दसूची हुने जिकिर गरेका छन् । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका अशोक राई नेतृत्वको जनता समाजवादी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको पार्टीले बन्दसूची बुझाएका छन् । एमाले, रास्वपा, राप्रपा लगायत नेताहरू साँझ ६ बजेसम्म पनि आयोग पुगेका थिएनन् ।
यो रिपोर्ट तयार पर्दासम्म जम्मा ३१ वटा दलको मात्र बन्दसूची आयोगमा दर्ता भएको छ । बन्दसूची लिएर आउने दलहरूलाई रातभर बसेर भएपनि सेवा दिने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
‘बन्दसूची लिएर आएका दलहरूलाई भोलि बिहान १० बजेसम्म भएपछि सेवा दिन्छौँ । तर समय थप गर्ने पक्षमा आयोग छैन’, उनले भने ।
अन्तिम समयमा तात्ने राजनीतिक दलहरूको पुरानै बानी भएको आयोगका पदाधिकारीहरूको गुनासो छ । चिसोमा राति अबेरसम्म बस्नुपर्छ भनेर नै आयोगका पदाधिकारी, कर्मचारी सबैले बाक्ला र तातो कपडाको व्यवस्था गरेका छन् । साँझ केही बेल निर्वाचन विरोधी समूहले आयोग परिसरमा होहल्ला र नाराबाजी गरेका थिए । जेनजी समूह भनिएका उनीहरूले नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी लखेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण