अन्नपूर्णमा लेक लागेका बिरामीको उपचार गर्ने जनशक्ति तयार
सारांश
- अन्नपूर्ण गाउँपालिकामा लेक लाग्ने समस्याको उपचारका लागि जनशक्ति तयार पारियो।
- स्वास्थ्यकर्मी र व्यवसायीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइयो।
- पर्यटकको स्वास्थ्यलाई ध्यानमा राख्दै बजेट विनियोजन गरियो।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलमा लेक लाग्ने (अक्सिजनको कमी) ले बिरामी परेका पर्यटकको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ । भौगोलिक रूपमा विकट र दुर्गम हिमाली क्षेत्रको पदयात्रा, भ्रमणमा आउने पर्यटक र स्थानीयलाई अक्सिजनको कमीका कारण स्वास्थ्यमा समस्या आउँदा प्राथमिक र घरेलु विधिबाट उपचार गर्ने तरिकासम्बन्धी तालिम दिएर जनशक्ति तयार पारिएको हो ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने ४, ५, ६, ७ र ८ नम्बर वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र पर्यटकीयस्थलका होटल व्यवसायीलाई आधारभूत तालिम प्रदान गरिएको जानकारी दिए ।
गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराको प्राविधिक सहयोगमा यसअघि मनाङको चामेमा रहेको हिमालयन रेक्यु एसोसिएसनमा स्वास्थ्यकर्मीलाई तालिम दिएको गाउँपालिकाले सोमबार पोखरेबगरमा अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग, खोपारा, बयली, घोडेपानी, पुनहिल, फूलबारी र मोहरेडाँडाका २५ जना व्यवसायीलाई तालिम दिइएको केन्द्रले जनाएको छ ।
लेक लाग्ने समस्याको लक्षण, प्राथमिक उपचार गर्ने र घरेलु औषधि तयार पार्ने विषयमा बरुवालले जानकारी गराएका थिए । पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकलाई लेक लाग्ने समस्याको औषधि तथा प्राथमिक उपचारका लागि गाउँपालिकाले चालु आवमा रु तीन लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट लेक लाग्ने समस्या आउँदा आवश्यक पर्ने औषधि खरिद गरेर पर्यटकीयस्थलका होटल व्यवसायीलाई उपलब्ध गराउने, पदयात्रामा जानेका लागि जानकारीमूलक सूचनाहरू वितरण गर्ने र विभिन्न ठाउँमा सन्देशमूलक सूचना राख्ने तयारी गरिएको बरुवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण