धरान बनाउन हिँडेका हर्कको ध्यान प्रतिनिधि सभातिर
सारांश
- धरानका मेयर हर्कराज राई (साम्पाङ) को कार्यकालमा कार्यशैली र प्रतिबद्धता पूरा नभएको भन्दै आलोचना भएको छ।
- मेयर साम्पाङले खानेपानीको समस्या समाधान गर्न नसकेको र कर वृद्धि गरेको आरोप लागेको छ, भने उनले निर्वाचनतर्फ ध्यान दिएको कुरा उठेको छ।
- नगरपालिकाको बजेट समयमा पेश नभएको, खर्चको प्रगति औसत मात्रै रहेको र विकास निर्माणका कामहरूमा पनि ढिलासुस्ती भएको पाइएको छ।
विराटनगर । स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर धरानको नगर प्रमुखमा निर्वाचित भएका हर्कराज राई (साम्पाङ) ले चुनावका बेला विकास र सुशासनका २७ बुँदे आकर्षक प्रतिबद्धता सार्वजनिक गरेका थिए । ‘भ्रष्टाचार मुक्त धरान’ र ‘खानेपानीको स्थायी समाधान’लाई उनले मुख्य एजेन्डा बनाएका थिए ।
यतिबेला भने कार्यकाल आधाभन्दा बढी व्यतीत भइसक्दा उनको कार्यशैली र उपलब्धिलाई लिएर धरानभित्रै गम्भीर समीक्षा र आलोचना सुरु भएको छ । साम्पाङ भने धरान बनाउने प्रतिबद्धता पूरा गर्न छोडेर प्रतिनिधि सभाको निर्वाचनतर्फ लागेका छन् । उनी हाल श्रम संस्कृति पार्टी गठन गरेर संसद् जान कम्मर कसेका छन् ।
_i6F2HonKL9.jpg)
सापाङको मुख्य चुनावी एजेन्डा खानेपानी थियो । उनले सप्तकोशीबाट पानी ल्याउने र वैज्ञानिक बिलिङ प्रणाली लागु गर्ने बाचा गरेका थिए, तर सामाजिक अभियन्ता महेश श्रेष्ठका अनुसार साम्पाङको ‘श्रमदान’ अभियान उपलब्धिभन्दा बढी प्रचारमुखी देखिएको छ । श्रेष्ठले भने, ‘३० करोडभन्दा बढी खर्च गरेर मुस्किलले १० लाख लिटर पानी ल्याइएको छ, जबकि प्रदेश सरकारले ४ करोडकै लागतमा ५० लाख लिटर पानी उत्पादन गरिसकेको छ ।’ उनी हर्क साम्पाङले भन्दै आएको ‘श्रमदान’लाई ‘भ्रमदान’ भन्छन् ।
_KNOLTuwWCs.jpg)
साम्पाङले खानेपानी बोर्डको अध्यक्ष भएर बोर्ड बैठक नडाकेको र पारदर्शिता कायम नगरेको आरोप छ । घोषणापत्रमा साम्पाङले ‘सूचनाको हक’ र ‘पारदर्शी प्रशासन’ को बाचा गरेका थिए, तर व्यवहारमा उनी पत्रकार र सञ्चारमाध्यमप्रति असहिष्णु देखिएको आरोप छ ।
अभियन्ता श्रेष्ठका अनुसार साम्पाङले आफू अनुकूलका केही युट्युबरलाई मात्र सूचना दिने र प्रश्न गर्ने पत्रकारलाई नगरपालिकामा निषेध गर्ने वा धम्क्याउने शैली अपनाएका छन् । यसले विगतका साम्पाङकै प्रतिबद्धता कागजीमात्रै भएको प्रमाणित गर्ने उनले बताए ।
साम्पाङको अर्को प्रतिबद्धता थियो ‘वैज्ञानिक कर प्रणाली’, तर कार्यान्वयनमा करको दर २०० देखि ४०० प्रतिशतसम्म वृद्धि गरिएको छ । अनावश्यक रूपमा पूर्वाधार कर र सडक उपभोग कर थपेर जनतालाई सास्ती दिएको अभियन्ताहरूको तर्क छ । खानेपानीको महसुल गुणात्मक वृद्धि गरेको भन्दै यसअघि धरानमा आन्दोलन नै भएको थियो । ‘जनताको समस्या समाधान गर्ने एजेन्डा बोकेर आएका मेयरले उल्टै जनताको ढाड सेक्ने गरी कर बढाएका छन्,’ श्रेष्ठले भने ।
_jumTfoKT38.jpg)
घोषणापत्रमा उद्योग खोल्ने र रोजगार सिर्जना गर्ने उल्लेख थियो । त्यो प्रतिबद्धता पूरा गर्न उनले साबुन उद्योग र बेसार उद्योग खोलेका छन् । तर, त्यसको अवस्था पनि दयनीय छ । साबुन उद्योग राम्ररी चलिरहेको छैन । बेसार उद्योगमा सामान्य प्याकिङ मेसिनमात्र ल्याएर प्रचार गरिएको तर किसानहरूलाई कुनै वास्तविक राहत नपुगेको श्रेष्ठ बताउँछन् ।
सहरलाई लागुऔषध मुक्त बनाउने घोषणा गरे पनि धरानमा पछिल्लो समय लागुऔषध प्रयोग र कारोबारको ग्राफ झन् बढेको प्रहरी तथ्याङ्कले देखाउँछ । त्यस्तै, सुकुमबासी समस्याको स्थायी समाधान, सडक मानवको व्यवस्थापन र बाँदर नियन्त्रण जस्ता स्थानीय समस्याहरू जस्ताको तस्तै छन् । मेयर साम्पाङ प्रशासनिक काम र जनताका समस्या सुन्नुभन्दा पनि पार्टी विस्तार र चुनाव प्रचारमा बढी केन्द्रित भएको आरोप श्रेष्ठले लगाए ।
_c9E1w5CMJJ.jpg)
कार्यपालिका संचालनमा पनि समस्या र विवादै विवाद भएका भिडियो र समाचार आइरहेकै छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी कार्यपालिकाबाट स्वीकृत गराई आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगरसभामा पेस गर्ने र यसरी पेस भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ । साम्पाङ निर्वाचित भएर पहिलो पटक धरान नगरपालिकाको आर्थिक २०८०/०८१ का लागि ल्याएको बजेट असार १० गते सभासमक्ष पेस भएर सभाबाट असारको २८ गते पारित भयो । तर, त्यसयताका दुई आर्थिक वर्षमा समयमै बजेट आउन सकेन । आर्थिक वर्ष २०८१/०८२ मा साउन महिनामा बजेट पारित भयो भने चालु आर्थिक वर्षको बजेट त असोज ४ गतेमात्रै पारित भयो ।
_ZIJ9Ba2R0K.jpg)
खर्चको हिसाबले पनि नगरपालिकाले औसतमात्रै प्रगति गरेको छ । सुरुको आर्थिक वर्ष २०८०/०८१ मा धरानले ६५.३ प्रतिशत पुँजीगत खर्च गरेको छ । १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको धरानले १ अर्ब ३३ करोड ६७ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । त्यसमा पुँजीगत (पूर्वाधार विकास)मा ३७ करोड ३५ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । पालिकालाई प्राप्त भएको अनुदान र राजस्व बाँडफाँटको रकमबाट ६६.३१ प्रतिशत चालु र ३३.६८ प्रतिशतमात्र पुँजीगत निर्माणमा खर्च भएको देखिन्छ ।
_56zQ8UJD51.jpg)
खर्चको टे«न्ड हेर्दा समयमै काम नभएर असारे विकास मनग्य भएको देखिन्छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ को असारमा मात्रै ३५.६२ प्रतिशत अर्थात् १५ करोड ७५ लाख १२ हजार रुपैयाँ खर्च भएको देखिन्छ । पालिकाले सेवा प्रवाहलाई प्रभावकारी, दिगो र भरपर्दो बनाउन कार्यक्रमको सामाजिक परीक्षण अन्तर्गत सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था भने नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
धरानमा वार्षिक खरिद योजना, गुरुयोजना निर्माण, सवारी साधन मर्मत, भ्रमण खर्च लगायतको शीर्षकमा पनि मनग्य खर्च देखिएको छ । धरानको गत वर्ष २०८१/०८२ को वास्तविक आय १ अर्ब ६१ करोड ४१ लाख ९९ हजार थियो भने खर्च १ अर्ब ५२ करोड ३२ लाख ३ हजार भयो । जसमा पुँजीगततर्फ ७५ करोड १८ लाख ६१ हजार रुपैयाँ विनियोजन भएकोमा ५१ करोड ७९ लाख २४ हजार ९५५ अर्थात् ६८.८९ प्रतिशत खर्च भएको छ । सोही वर्ष चालु खर्च भने १ अर्ब १२ करोड ८ लाख विनियोजनमध्ये ९६ करोड ५२ लाख ७९ हजार अर्थात् ८६.१२ प्रतिशत खर्च भएको छ ।
_dzFIFcMU78.jpg)
चालु आर्थिक वर्षको मंसिरसम्ममा धरानले ७४ करोड ९८ लाख ६८ लाख रुपैयाँ अर्थात् ३३.९६ प्रतिशत आम्दानी गरेको छ । यो वर्ष धरानको बजेट २ अर्ब २० करोड ७४ करोड ५९ हजार बराबरको छ । खर्च भने धरानले मंसिरसम्ममा पुँजीगततर्फ ६.७२ प्रतिशतमात्रै गरेको छ । ९८ करोड ५१ लाख ९० हजार रुपैयाँ पुँजीगत खर्च हुने वार्षिक अनुमान छ । त्यस्तै चालुतर्फ १ अर्ब १३ करोड ९१ लाख ७ हजारको खर्च गर्ने वार्षिक लक्ष्य राखेको धरानले हालसम्म २३.४ प्रतिशत अर्थात् २६ करोड ६५ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।
_zHf27M4KMp.jpg)
_aDx0mJoPoE.jpg)
_R3jYf8H3JE.jpg)
_LgkNtbLTNx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण