साझा यातायातका मजदुरले किन गरे आन्दोलन ?
सारांश
- साझा यातायातका मजदुर र व्यवस्थापनबीचको छलफलपछि आन्दोलन स्थगित भयो, र बसहरू पुनः सञ्चालनमा आए।
- मजदुरहरूले दशैं र तिहारको भत्ता तथा नियमित दैनिक भत्ता नपाएको गुनासो गरेपछि हड्ताल गरेका थिए।
- व्यवस्थापनले मजदुरका स्थायित्व, तलब वृद्धि र सामाजिक सुरक्षा कोष लगायतका मागहरूलाई सम्बोधन गर्ने सहमति जनायो।
काठमाडौँ । साझा यातायातका मजदुरहरूले राखेका विभिन्न मागहरूप्रति व्यवस्थापन पक्ष सकारात्मक देखिएसँगै आन्दोलन स्थगित भएको छ ।
बुधबार व्यवस्थापन र मजदुर पक्षबिच भएको छलफलमा माग सम्बोधनका लागि केही दिनभित्र निकास निकाल्ने सहमति भएसँगै रोकिएका बसहरू पुनः सञ्चालनमा आएका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (साझा इकाइ) का अध्यक्ष रमेश फुयाँलले मजदुरहरूले दशैं र तिहारको विशेष भत्ता तथा कार्तिक र मंसिर र पुस महिनाको नियमित दैनिक भत्ता नपाएकाले हड्ताल गर्न बाध्य भएको बताए ।
‘व्यवस्थापनले दैनिक भत्ता र विशेष भत्ता गरी दोहोरो प्रणालीबाट भुक्तानी गर्न नमिल्ने भन्दै विगत तीन महिनादेखि रकम रोकिएको थियो,’ उनले भने, 'हामी सडकमा १४ घण्टा खटिन्छौँ । सँधै पाइरहेको सुविधा नपाएपछि आज विहानदेखि हड्ताल गरेका थियौँ । अहिले सीईओ सा'पहरुसँग छलफल भइ सहमति भयो । अहिले गाडी चलाउन थाल्यौँ ।’
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भुपेन्द्र अर्यालका अनुसार मजदुरहरूले स्थायित्व, तलब वृद्धि र सामाजिक सुरक्षा कोष (एसएसएफ) लगायतका विषयमा माग राख्दै आन्दोलन गरेका थिए ।
मजदुरहरूले ज्यालादारी नभई स्थायी रूपमा काम गर्न पाउनुपर्ने, तलब सुविधा बढाउनुपर्ने र सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा हुनुपर्ने माग राखेका थिए । तीन महिनादेखि तलब नपाएको भन्ने मजदुरहरूको गुनासोमा प्रतिक्रिया दिँदै सीइओ अर्यालले तलब नै नपाएको नभई श्रम ऐन अनुसार भत्ता समायोजन गर्न खोज्दा केही ढिलाइ भएको र कन्फ्युजन सिर्जना भएको स्पष्ट पारे ।
‘काम गरेको दिनको मात्र सुविधा दिने वा महिनाकै दिने भन्ने विषयमा श्रम ऐन अनुसार जान खोज्दा केही असन्तुष्टि देखिएको हो,’ अर्यालले भने, ‘काम नगरेको दिनको पनि सुविधा खोज्दा संस्थालाई भार पर्ने भएकाले यसलाई सिस्टममा ल्याउन खोजिएको हो । उहाँहरूको माग भनेको रेगुलर कर्मचारी सरह पाउनु भन्ने चाहना हो । तर ८ दिन काम गरेकोले पनि त्यही भत्ता पाउने, २६ दिन काम गर्नेले पनि त्यही भत्ता पाउने त हुँदैन। तर पनि पाउने सुविधामा हामीले कटौती नगरीकन जेनुइन र नीतिसम्मत, श्रम ऐनले जे बोलेको छ त्यो अनुसार हामी दिन तयार छौँ, भनेर त्यसलाई पनि सिस्टेमेटिक वेमा लान खोजिराखेको अवस्था हो। ’
सीइओ अर्यालले साझा यातायातमा वर्षौंदेखिको बेथिति रोक्न खोज्दा केही पक्षबाट अवरोध भएको दाबी गरे । उनले संस्थालाई ‘सिस्टम’ मा ल्याउने क्रममा म्यानुअल (हाते) रेकर्डबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताए । यसकारण विरोध भएको उनको भनाइ थियो ।
यात्रुहरूलाई टिकट नदिने र पैसा गोजीमा हाल्ने जस्ता गुनासोहरू आइरहेको र त्यसलाई रोक्न डिजिटलाइजेशनमा लैजान थालिएको उनको भनाइ छ ।
साझा यातायात विगतका वर्षहरूदेखि करिब १४–१५ करोड सञ्चित घाटामा रहेको अर्यालले जानकारी दिए । यद्यपि, नयाँ व्यवस्थापनले कडाइ गरेपछि दुई महिनायता आम्दानी बढ्न थालेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण