यी हुन् पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन अदालतले लिएका पाँच आधार
सारांश
- विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ।
- अदालतले अडियो, भिडियो, बैंक स्टेटमेन्ट र फोटोहरूलाई आधार बनाएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले पूर्व मन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस १६ गते) गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो ।
गुप्ताले अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ ।
अदालतले गुप्तालाई थुनामा पठाउने पहिलो आधारको रूपमा अडियो र भिडियोः प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मानेको छ।
त्यस्तै दोस्रो आधारमा अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई आधार मानेको छ ।
त्यस्तै तेस्रो आधारमा गरिमा विकास बैंकको स्टेटमेन्ट, जहाँ यामकुमारी गुरुङको खातामा रकम जम्मा गरिएको र झिकिएको देखिएको छ ।
चौथो आधारमा फोटोलाई प्रमाणको रूपमा लिएको छ । मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेला खिचिएका तस्बिरहरू प्रमाणको रूपमा अदालतले लिएको छ ।
पाँचौँ आधारमा सह–प्रतिवादीको सुजन कुमार तामाङ लगायतले अख्तियारमा दिएको बयानलाई प्रमाणको रूपमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।
त्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।
आयोगका अनुसार कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।
दुई जनाबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडिओ संवादमा बिचौलियाले ’पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला ।’ भनेको सुनिएको थियो ।
दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी/विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,यमकुमारी गुरूङ, तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण