शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सन् २०२५ मा बलिउड : सैफमाथि हमलादेखि २६ वटा चलचित्रद्वारा १०० करोडको आँकडा पार

बिहीबार, १७ पुस २०८२, ११ : ४३
बिहीबार, १७ पुस २०८२

सारांश

  • सन् २०२५ मा अभिनेता सैफ अली खानमाथि घरमै ज्यान लिने हमला भयो, जसले बलिउडलाई स्तब्ध बनायो।
  • शाहरुख खानले मेट गालामा डेब्यु गर्दै भारतको नाम फेसन मञ्चमा चम्काए, र गोविन्दाको वैवाहिक जीवन चर्चामा रह्यो।
  • बलिउडमा कियारा आडवाणी, परिणीति चोपडा र कट्रिना कैफ लगायतका कलाकारले सन्तानको स्वागत गरे, र बक्स अफिसमा राम्रो कमाई भयो।

मुम्बई । सन् २०२५ भारतीय चलचित्र उद्योगका लागि उतारचढाव, स्तब्धकारी खबर र नयाँ रेकर्डहरूको वर्ष सावित भयो। वर्षको सुरुवात नै अभिनेता सैफ अली खानमाथि आफ्नै घरमा भएको ज्यानलिने हमलाको खबरबाट भयो, जसले सम्पूर्ण बलिउडलाई नै झस्कायो।

जनवरी १६ मा मुम्बईको खारस्थित निवासमा एक अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए। यस आक्रमणमा सैफको घाँटी, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो र लामो समय अस्पतालमा उपचारपछि उनी निको भएका थिए।

फेसन र अन्तर्राष्ट्रिय मञ्चमा भने शाहरुख खानले भारतको नाम चम्काए। मे ५ मा न्यूयोर्कमा आयोजित ‘मेट गाला’ मा सहभागी भएर शाहरुख यो प्रतिष्ठित फेसन इभेन्टमा डेब्यु गर्ने पहिलो बलिउड अभिनेता बने। उनले सब्यसाची मुखर्जीले डिजाइन गरेको कालो लुगामा सजिएर इतिहास रचेका थिए।

यस्तै, वैवाहिक जीवनमा आएको उतारचढावले गोविन्दा र उनकी पत्नी सुनीता आहुजा पनि वर्षभरि चर्चामा रहे। सुनीताले सम्बन्धविच्छेदको मुद्दा दायर गरे पनि वर्षको अन्त्यतिर गणेश चतुर्थीको अवसरमा दुवैले सँगै देखिएर सबै हल्लाको अन्त्य गरिदिए।

बलिउडका लागि यो वर्ष ‘प्यारेन्टहुड’ को वर्ष पनि रह्यो। कियारा आडवाणी–सिद्धार्थ मल्होत्रा, परिणीति चोपडा–राघव चड्डा र कट्रिना कैफ–विक्की कौशल जस्ता चर्चित जोडीहरूले सन्तानको स्वागत गरे। कियाराले छोरी सरायाहलाई जन्म दिइन् भने परिणीतिले छोरा नीरलाई स्वागत गरिन्। यस्तै, कट्रिना र विक्की पनि छोराको आमाबुवा बने।

व्यावसायिक रूपमा बक्स अफिसका लागि २०२५ सुखद रह्यो। यो वर्ष २६ वटा भारतीय चलचित्रले १०० करोड भारतीय रुपैयाँको आँकडा पार गरे। रजनीकान्तको ‘कुली’, ऋतिक रोशनको ‘वार-२’ र अक्षय कुमारका विभिन्न चलचित्रले राम्रो आम्दानी गरे।

सबै भाषाका गरी कुल १५७२ चलचित्र रिलिज भएको यस वर्ष भारतीय सिनेमाले १० हजार करोडभन्दा बढीको नेट कलेक्सन गर्न सफल भयो। साना बजेटका चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउँदा ठूला स्टारका कतिपय चलचित्र भने असफल भए।

अक्षय कुमार, अजय देवगन, रश्मिका मन्दाना र कियारा आडवाणीका लागि यो वर्ष धेरै चलचित्र रिलिज भएको वर्षका रूपमा विशेष रह्यो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप