शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कला, संस्कृतिकाे संरक्षणसँगै आयआर्जनमा लगाउन ‘पञ्चेबाजा’ सिकाइँदै

बिहीबार, १७ पुस २०८२, १४ : ३५
बिहीबार, १७ पुस २०८२

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत कला, संस्कृति र बाजाको संरक्षण गरी आयआर्जनमा जोड्ने उद्देश्यसहित ‘परम्परागत पञ्चेबाजा’ सिकाउन थालिएको छ ।

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरिएको हो ।

बुधबारदेखि सुरु भएको परम्परागत पञ्चे बाजा बजाउने तालिममा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

वडाभित्र पञ्चेबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, ब्रतबन्धलगायत शुभकार्यमा बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउनका लागि पञ्चेबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए ।

“हरेक शुभकार्यमा पञ्चेबाजा बजाउने प्रचलन रहिआएको छ, हाम्रो वडाभित्र समूह नहुँदा बाहिरबाट टोली खोज्नुपर्ने बाध्यता छ, त्यसलाई हटाउन तालिम सञ्चालन गरेका हौँ”, उनले भने । 

सिङ्गाको राक्सेमा पाँच वर्ष पहिलेदेखि स्थानीय महिलाले पञ्चेबाजा बजाउन सुरु गरेका थिए ।

बाजा बजाउन सीप सिकेका केही महिला वैदेशिक रोजगार, विवाहलगायत कारण गाउँबाहिर गएपछि राक्से नौमती बाजा आमा समूहसमेत निष्क्रिय बन्न थालेपछि वडाभित्रका सबै महिला, आमा समूह र इच्छुक युवायुवतीलाई पञ्चेबाजा बजाउने सीप सिकाउन तालिम सञ्चालन गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए।

पुरानो सांस्कृतिक चिनारीको रूपमा रहेको पञ्चेबाजाको संरक्षण तथा पुस्तान्तरण गर्दै आयआर्जनसमेतमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको तालिम प्रभावकारी र उपलब्धिमूलक बन्ने बेनी–४ का वडाध्यक्ष अर्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार ४५ दनसम्म सञ्चालन हुने तालिममा चर्चित पञ्चेबाजा बाधक प्रकाश परियार र सतप्रसाद छिनालले व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिनेछन् ।

तालिमपश्चात् महिला समूहलाई व्यावसायिक रूपमा पञ्चेबाजामा आबद्ध गराउन नौमति पञ्चेबाजाका सामग्री खरिद गरी उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा नौमतीबाजा संरक्षण तथा सीप विकासमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु एक लाख ५० हजार र सीप गण्डकी प्रदेश सरकारले रु एक लाख २० हजार अनुदान उपलब्ध गराएको सिकाइ केन्द्रका सामाजिक परिचालक सीता थापा कुँवरले जानकारी दिइन्।

तालिमको शुभारम्भ गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले महिलाले पञ्चेबाजा बजाउन सिकेर व्यावसायिक रूपमा सक्रिय हुन सकेमा आयआर्जनमा सुधार हुने विश्वास व्यक्त गरिन्।

“पञ्चेबाजा हाम्रो समाज र सांस्कृतिको गहना हो, बाजा बजाउने सीप सिकेपछि महिला आयआर्जनमा आवद्ध हुने अवसर सिर्जना गर्छ”,उनले भनिन् । 

नगरले महिलालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने अभियानमा सहयोग गरिरहेको नगरप्रमुख केसीले बताए । परम्परागत रूपमा पञ्चेबाजा पुरुषले बजाउने प्रचलन रहे पनि पछिल्लो समय महिलाले पनि बजाउन सुरु गरेका छन् ।

नेपाली धार्मिक एवं सांस्कृतिक बाजाका रूपमा मानिएको पञ्चेबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाह, झ्याली, कर्नललगायत बाजा पर्दछन् भने यी बाजाबाट ३२ ताल निकाल्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप