'कृषि कर्जाको सावाँ–ब्याज भुक्तानीलाई उत्पादन चक्रसँग जोड्नुपर्छ'
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले कृषि कर्जाको सावाँ तथा ब्याज भुक्तानीको तालिकालाई बालीको उत्पादन चक्र सँग जोड्नुपर्ने बताएका छन् ।
मुक्तिनाथ विकास बैंकले आयोजना गरेको 'मुक्तिनाथ एग्रो फाइनान्सिङ ३६०’ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले बैंकको कर्जा लगानी र किसानको उत्पादनको समयबिच तालमेल नमिल्दा समस्या देखिएको बताए ।
पौडेलले दीर्घकालीन बाली सुन्तला, स्याउमा लगानी गर्दा फल नलागेसम्म किसानसँग ब्याज माग्न नहुने बताए। 'कागजी खेती रोक्न र वास्तविक किसानलाई राहत दिन ’इन्ट्रेस्ट क्यापिटलाइजेसन’ को अभ्यासलाई बढावा दिनुपर्छ,'उनले भने, 'तीन वर्षमा फल दिने बाली हो भने तीन वर्षसम्म ब्याजलाई पुँजीकरण गरी त्यसपछि आउने नगद प्रवाहका आधारमा किस्ता निर्धारण गरिनुपर्छ। बाली नफलेसम्म ब्याज तिर्नुपर्दैन भन्ने कुरा बैंकले किसानलाई बुझाउन सक्नुपर्छ।'
सहुलियतपूर्ण कर्जाको सदुपयोग भए/नभएको अनुगमनमा स्थानीय सरकारको भूमिका कमजोर देखिएको पौडेलको भनाइ छ ।
उनले भने, 'अहिले ५८ हजार ऋणीले सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेका छन्। ती वास्तविक किसान हुन् कि होइनन् ? उनीहरूले के खेती गरिरहेका छन् भन्ने तथ्याङ्क र अनुगमन स्थानीय तहले गर्नुपर्छ।'
उनले वास्तविक किसान पहिचानमा स्थानीय सरकारले बैंकहरूलाई सघाउनुपर्नेमा जोड दिए । पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम नेपाल कृषि अनुसन्धान परिषद्सँगको सहकार्यमा खर्च गर्न सुझाव दिए ।
'बैंकहरूले सीएसआरको पैसा विनियोजन गरेर नार्कलाई कुन जिल्लामा कुन खेतीको सम्भावना छ भनेर अध्ययन गर्न लगाउनुपर्छ,'उनले भने,'नार्कको सिफारिसका आधारमा बैंकले पकेट क्षेत्र तोकेर लगानी गर्ने हो भने जोखिम कम हुन्छ ।'
कृषिमा फाइनान्सिङ मात्र समस्याको समाधान नभएको भन्दै पौडेलले समग्र ’इकोसिस्टम’ विकास गर्नुपर्ने बताए।'इतिहासमै अहिले ब्याजदर सबैभन्दा कम छ, तर ब्याजदर कम हुँदैमा कृषि फस्टाउने होइन,' उनले भने,'बजारको पहुँच, मल, बीउ, प्रविधि र बिमाको सुनिश्चितता नभएसम्म लगानी मात्रले नतिजा दिँदैन।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण