बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
जीवन बीमा र बोनस

जीवन बीमा कम्पनीहरूले हरेक वर्ष किन घटाउँदैछन् बीमितको बोनस दर ?

सोमबार, २१ पुस २०८२, ०६ : ००
सोमबार, २१ पुस २०८२

सारांश

  • राष्ट्रिय जीवन बीमा कम्पनीले बोनस दर घटाएको छ, र यो प्रवृत्ति अन्य बीमा कम्पनीहरूमा पनि देखिन्छ।
  • बैंक ब्याज दर घट्नु, नियामकको नियम र जोखिममा आधारित पुँजीकोषका कारण बोनस दर घटेको हो।
  • बोनस दर घट्दा बीमितको प्रतिफल कम हुने र अभिकर्ताहरू यस कुरामा सन्तुष्ट छैनन्।

काठमाडौं । तीन वर्षअघिसम्म राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालीन राष्ट्रिय बीमा संस्थान) ले बीमितलाई प्रतिहजार ६५ रुपैयाँको दरमा बोनस दिन्थ्यो । लामो समयदेखि बीमांकीय मूल्यांकन नभएपनि ‘अन्तरिम बोनस’को रुपमा कम्पनीले उक्त बोनस दर निर्धारण गर्दै आएको थियो । सबै प्रकारका बीमालेखका लागि सोही दर कायम हुने गरेको थियो ।
 
त्यसपछिका वर्षका भने कम्पनीले बोनस दर लगातार घटाउँदै लगेको छ । पछिल्लो दुई वर्षसम्म बोनस दर ६० रुपैयाँमा सीमित गरेको कम्पनीले यो वर्ष यसलाई ५५ रुपैयाँमा झारेको छ । अर्थात्, एक हजार रुपैयाँको प्रिमियममा अबदेखि बीमितले ५५ रुपैयाँ मात्रै बोनस पाउनेछन् । 

तर कम्पनीको यो अवस्था कुनै अपवाद होइन, बरू समग्र बीमा क्षेत्र प्रतिनिधि उदाहरण हो । पूर्ण सरकारी स्वामित्वको यस कम्पनीको बोनस दर घटिरहँदा निजी क्षेत्रबाट सञ्चालितदेखि विदेशी लगानीका बीमा कम्पनीसम्ममा उस्तै अवस्था देखिन्छ, सबै कम्पनीले यो दर क्रमशः घटाउँदै लगेका छन् । 

bima

केही वर्षअघिसम्म न्यूनतम बोनस दर नै प्रतिहजार ६५ रुपैयाँ कायम गरेको नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर पनि अहिले ५६ रुपैयाँमा झरेको छ । खासगरी अग्रिम भुक्तानी हुने किसिमका सावधिक जीवन बीमामा यो दर कायम गरिएको छ । सोही अवधिका अन्य प्रकृतिका बीमालेखमा ६० रुपैयाँ कायम गर्दा ३० वर्षभन्दा लामो अवधिको बीमालेखमा मात्रै ८५ रुपैयाँसम्म बोनस दर तोकेको छ । 

नेपाल लाइफपछि बीमा क्षेत्रमा बढी होल्ड भएको नेसनल लाइफ इन्स्योरेन्सको न्यूनतम बोनस दर अरुभन्दा बढी देखिन्छ । तर यसले पनि बीमितलाई प्रतिहजार ६० रुपैयाँ मात्रै बोनस दिन सकेको छ । जबकि दुई वर्षअघिसम्म यो कम्पनीले पनि ६५ प्रतिहजार रुपैयाँ बोनस दिँदै आएको थियो । उक्त कम्पनीले २५ वर्षभन्दा धेरै अवधिको सावधिक तथा आजीवन बीमालेखमा ८५ रुपैयाँ दिनेगरी दर निर्धारण गरेको छ ।
 
यीबाहेक अरु कम्पनीको अवस्था पनि त्यस्तै छ । पछिल्लो समय लाइसेन्स पाएर सञ्चालनमा आएकादेखि पुराना कम्पनीसम्मकै बोनस दर घटिरहेको छ । बीमा क्षेत्रमा बोनसले बीमितको प्रतिफल काम गर्छ । जीवन बीमाका लागि बीमितले ठुलो प्रिमियम तिर्नुपर्ने भएकोले यो जोखिम बहन मात्रै नभएर अनिवार्य बचत र वैकल्पिक लगानीको माध्यमको रुपमा समेत रहने गरेको छ । यो अवस्थामा घट्दो बोनस दरले बचतका लागि निरुत्साहित हुने अवस्था सिर्जना भएको छ । 

किन घट्यो बीमाको बोनस दर ?

अहिले बीमाको बोनस दर घट्नुको मुख्य कारण बैंकको ब्याजदर रहेको सरोकारवालाहरू बताउँछन् । तीन वर्षअघि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको ब्याजदर ११.०६ प्रतिशतसम्म ब्याजदर पुगेको थियो । कात्तिक मसान्तमा यो दर ५.४१ प्रतिशत कायम भएको छ । 

अहिले बीमा कम्पनीहरूको अधिकांश प्रिमियम रकमको लगानी बैंकको निक्षेपमा रहने गरेको छ । कुल ७ खर्ब ५७ अर्ब ३६ करोडको लगानीमध्ये बैंकहरूले वाणिज्य बैंकहरूका निक्षेपमा मात्रै ५ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । विकास बैंक, वित्त कम्पनी र पूर्वाधार बैंकमा थप ६३ अर्ब रुपैयाँको लगानी छ । यस्तो रकमको ब्याजदर ह्वात्तै घट्दा अहिले बीमा कम्पनीहरूको प्रतिफल घट्दै गएको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं अहिलेको बोनस दर घट्नुको मुख्य कारण यसैलाई मान्छन् । ‘बीमा कम्पनीले बोनस दिने भनेको नाफा कमाएरै हो । लगानी गर्ने ठाउँबाट आम्दानी घटेपछि यसको नाफा पनि घट्छ, त्यसैले घटेको हो । हामीकहाँ राम्रो प्रतिफल प्राप्त हुने वैकल्पिक लगानीको क्षेत्र पनि धेरै छैन । यसैले बोनसमा बैंकको ब्याजकै भर पर्नुपर्ने अवस्था छ । 

ब्याज दर नै बोनस दर घट्नुको मुख्य कारण भए पनि यही मात्रै कारण भने नभएको बीमकहरू बताउँछन् । खासगरी नियामक नेपाल बीमा प्राधिकरणलले व्यवस्था गरेको फ्युचर बोनसको व्यवस्था तत्कालीन बोनस घट्नुको अर्को महत्त्वपूर्ण कारणको रुपमा रहेको उनीहरूको भनाइ छ । 

यसअघि बीमा कम्पनीहरूले वर्षभरमा जति आम्दानी गर्थे, सबै रकम सोही वर्षको आम्दानी बराबर मानेर नाफालाई बोनसमा गणना गर्ने काम गर्थे । तर बीमा प्राधिकरणले यसमा रोक लगाइदियो । अहिलेको आम्दानीको निश्चित भाग भविष्यको बोनसका लागि समेत छुट्याउनुपर्ने भन्दै तत्कालका लागि बाँड्न पाउने बोनसको दरमा लगाम लगाइदियो । सोही कारण बीमा कम्पनीहरूले पर्याप्त बोनस वितरण गर्न नपाएको उनीहरूको भनाइ छ । 

अर्को कारण हो जोखिममा आधारित पुँजीकोषसम्बन्धी व्यवस्था । बीमा कम्पनीहरूले बोनस बाँड्दा बीमाकोषको रकमबाट घटाइन्छ । यसले जीवन बीमाको पुँजीकोष अनुपात घट्छ । यस्तो अवस्थामा पुँजीकोष कायम गर्न बोनस दर नै घटाउने अवस्था देखिएको बीमकहरू बताउँछन् । नियामकीय व्यवस्था नै यसको सबैभन्दा प्रमुख कारण रहेको उनीहरूको भनाइ छ । 

आगामी वर्ष अझै घट्ने अवस्था

आगामी दिनमा पनि ब्याजदर घट्दै जाने हो भने यो दर अझै घट्नसक्ने सीईओ प्रसाईंको अनुमान छ । अहिले बैंकिङ क्षेत्रमा ब्याजदर घटेको मात्रै छैन, अझै तल झर्ने क्रममा समेत रहेको छ । बैंक तथा वित्तीय संस्थाले अहिले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशत भन्दा तल झारिसकेका छन् । विगतका वर्षका धेरै ब्याजदरका मुद्दति निक्षेप परिपक्व नभएका कारणले मात्रै औसत ब्याजदर अझै ५ प्रतिशत भन्दा माथि रहन सफल भएको हो । आगामी दिनमा ती ऋण परिपक्व हुँदै जाँदा र नवीकरण हुने ऋणमा निकै कम मात्रै ब्याजदर पाउँदा यसले अझै आम्दानी घट्नसक्ने अवस्था रहेको सीईओ प्रसाईं बताउँछन् ।
 
अर्को वर्ष बोनस दर घट्नसक्ने अर्को कारण एनएफआरएस प्रणाली पनि हो । बीमा प्राधिकरणले आगामी आर्थिक वर्षदेखि बीमा कम्पनीहरूको लेखा रिपोर्टिङ प्रणालीलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार बनाउन निर्देशन दिइसकेको छ । यो प्रणालीले एकुरल बेसिसलाई प्राथमिकता दिने भएकोले तत्काल प्राप्त हुने बोनसमा अझै प्रभाव पर्नसक्ने सरोकारवालाहरू बताउँछन् ।

बोनस घट्दा बीमितले कसरी गुमाउँछन् ?
 
कुनै पनि बीमा कम्पनीले बीमा गर्दा बचत फिर्ता र जोखिमको ग्यारेन्टी दिन्छ, तर प्रतिफलको दिँदैन । उदाहरणका लागि कुनै व्यक्तिले १५ वर्षका लागि एक करोड रुपैयाँ बराबरको बीमा गर्‍यो । उसले वार्षिक प्रिमियम ६ लाख रुपैयाँ तिर्छ भने बीमा कम्पनीले १५ वर्षको अवधिमा उक्त व्यक्तिलाई केही भएमा प्रिमियम रकम बराबरको भुक्तानी दिने ग्यारेन्टी गर्छ । 

Insurance Policy1
एआई सिर्जित तस्बिर

त्यस्तै, १५ वर्षसम्म उसले जम्मा गरेको रकम फिर्ता गर्ने ग्यारेन्टी समेत बीमा कम्पनीले लिन्छ । त्यसबापत यति प्रतिफल दिन्छु भनेर ग्यारेन्टी भने वैधानिक रुपमा बीमा कम्पनीले गरेको हुँदैन । बीमा कम्पनीले कमाएको नाफाको ९० प्रतिशत बीमितलाई बोनसको रुपमा वितरण गर्नुपर्ने नियामकीय व्यवस्था छ । यो रकम भने ढिलोचाँडो बीमकले बीमितलाई दिनुपर्छ । तर यो रकम बीमा कम्पनीले आर्जन गर्ने नाफामा आधारित हुने भएकाले यति नै रकम प्राप्त हुन्छ भन्न भने सकिँदैन । 

अहिले बीमा क्षेत्रमा भने ‘दोब्बर पैसा पाइन्छ’ भन्दै प्रचार गरेको पाइन्छ । विगतमा राम्रो बोनस दर हुँदा बीमाको अवधि सकिँदा पाइने रकम दोब्बर हुने अवस्था थियो । तर बोनस दर घट्दै जाँदा यस्तो प्रतिफल समेत घट्दै जाने देखिन्छ । 

माथिकै उदाहरणमा १ करोडको बीमा गर्नेले प्रतिहजार ६५ रुपैयाँ पाउँदा वार्षिक ६ लाख ५० हजारको रुपैयाँ पाउँथ्यो । यसो गर्दा १५ वर्षमा उसले ९७ लाख ५० हजार पाउने अवस्था हुन्थ्यो । तर यही बोनस दर ५५ रुपैयाँमा झर्दा वार्षिक ५ लाख ५० हजार रुपैयाँ मात्रै ८२ लाख ५० हजार मात्रै पाउँछ । यद्यपि, बीमितले पाउने प्रतिफल प्रत्येक वर्ष घोषित बोनस दरको योग भएको कारणले एक/दुई वर्षका लागि मात्रै बोनस दर घट्दा भने धेरै ठुलो असर नपर्न पनि सक्ने देखिन्छ । 

बोनस घटाएकोमा सन्तुष्ट छैनन् अभिकर्ता
 
बीमा अभिकर्ताहरू भने प्रत्येक वर्ष बीमा कम्पनीले घटाउँदै गएको बोनस दरप्रति सन्तुष्ट छैनन् । ब्याजदरका कारण दबाब पर्नु स्वाभाविक भए पनि अहिले बोनस दर घट्नुमा यसको मात्रै कारण नरहेको बीमा अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द तिवारी बताउँछन् ।
 
अहिले बीमा कम्पनीहरूले मिलेमतो गरेर क्षमताभन्दा कम बोनस दर घोषणा गर्ने गरेको उनको आरोप छ । यस्तो निर्णयको प्रत्यक्ष असर बीमित हुने भएकाले बीमा अभिकर्ताले यसमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ । आफू संघको नेतृत्वमा हुँदा बीमितको हितका लागि आफूले यस्तो आवाज उठाएको स्मरण गर्दै उनले अहिले पनि अभिकर्ताहरूले बीमितको हितको पक्षमा बोल्नुपर्ने उनी बताउँछन् ।

‘बीमा कम्पनीले कमाएको रकमबाट बोनस दिने हो । कमाएको पैसा लुकाएर राख्नु भने बीमितमाथिको अन्याय हो, तर अहिले बीमा कम्पनीहरूले क्षमता भएको बोनस पनि नदिएको अवस्था छ,’ तिवारी भन्छन्, ‘यो बीमितसँग भएको करार विपरीतको काम हो ।‘
 
उनले आफू अध्यक्ष हुँदा बोनसमा फोकस नगर्ने मेटलाइफ, एलआईसी लगायत कम्पनीलाई पनि एउटा तहमाको बोनस घोषणा गर्न बाध्य बनाएको स्मरण गरे । अहिलेको नेतृत्व समेत यो विषयमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

बीमा कम्पनीलाई जोखिम बहनको माध्यमको रुपमा मात्रै हेर्न नहुने तिवारी बताउँछन् । ‘अहिले बीमितले जुन लेभलको प्रिमियम तिर्छन्, त्यो जोखिम बहनका लागि मात्रै होइन, त्यति मात्रै हुन्थ्यो भने त म्यादी बीमा मोडलमा गए भइहाल्थ्यो,’ उनी भन्छन्, ‘बीमितको बचतलाई ध्यान दिने हो भने उनीहरूलाई उचित प्रतिफल पनि दिन सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप