शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना

शनिबार, १९ पुस २०८२, ०४ : ३२
शनिबार, १९ पुस २०८२

सारांश

  • चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प पुन:स्थापना गरियो, स्थानीयको पहलमा यो सम्भव भयो।
  • सशस्त्र प्रहरीका अनुसार क्याम्प सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुन:स्थापना गरिएको हो।
  • स्थानीयका अनुसार क्याम्पले चोरी नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटक सुरक्षामा सहयोग गर्नेछ।

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनः अस्थायी वेश क्याम्प स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म (भोजपुर) अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो । जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको वेश क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए । सशस्त्र प्रहरी बल–५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि सङ्गठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनः स्थापना गरिएको जानकारी दिए ।

उनले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए । पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।

मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनः स्थापना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनः स्थापना गर्न सफल भएको उनको भनाइ छ । विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिए ।

“चखेवामा पुनः सशस्त्र प्रहरीको वेश क्याम्प स्थापना भएको छ,” अध्यक्ष बस्नेतले भने, “विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुपर्‍यो । जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनः स्थापित गर्न सफल भएका छौँ ।”

क्याम्प पुनः सञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । अस्थायी वेश क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनः स्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताइन् । चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थित अपरिहार्य रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप