बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्या भट्टराईले छोडिन् संसदीय राजनीति, अब चुनाव नलड्ने घोषणा

शनिबार, १९ पुस २०८२, १९ : ००
शनिबार, १९ पुस २०८२

सारांश

  • नेकपा एमालेकी नेतृ विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छिन्।
  • भट्टराईले आफू दुई पटक मात्र चुनाव लड्ने प्रतिबद्धता जनाएकी थिइन्, र तेस्रो पटक चुनाव नलड्ने निर्णय गरेकी हुन्।
  • २०७९ को निर्वाचनपछि उनले नेताहरूलाई तेस्रो पटक चुनाव नलड्ने जानकारी गराएकी थिइन्।

पोखरा । नेकपा एमालेकी नेतृ तथा कास्की क्षेत्र नम्बर २ की निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् ।

पार्टीको निर्वाचन क्षेत्रस्तरीय कमिटीले उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरिरहँदा हेभिवेट मानिएकी भट्टराईको नाम समावेश भएको छैन । भट्टराई स्वयंले आफू उम्मेदवार नबन्ने निर्णय स्वेच्छाले लिएको बताएकी छन् । 

‘मैले नै छोडेको हो, मैले पहिले नै भनेको थिएँ, म दुई पटकभन्दा उठ्दिनँ भनेर,’ उनले भनिन्, ‘तेस्रो पटक चुनाव नलड्ने घोषणा पहिले नै गरेको थिएँ । त्यसैले नाम सिफारिस नभएको हो ।’

२०७९ को निर्वाचनलगत्तै उपरान्त चुनाव नलड्ने जानकारी नेताहरूलाई आफूले गराइसकेको उनले बताइन् । 

‘उठेर जितेपछि नै मैले नेताहरूलाई म तेस्रो पटकचाहिँ उठ्दिनँ है भनेर स्पष्ट भनेको थिएँ,’ उनले भनिन्, ‘पहिले नै यसले लड्दिनँ भन्या छे, दबाब दिएर मान्दिनँ भन्ने बुझ्नुभयो होला । मलाई अहिले कसैले पनि उम्मेदवार बन्नेबारे प्रश्न गरेका छैनन् ।’ 

तत्कालीन पर्यटन मन्त्री तथा आफ्ना श्रीमान् रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमार्फत विद्या भट्टराईले सक्रिय राजनीतिमा पुनरागमन गरेकी थिइन् । पहिलो उपनिर्वाचन र त्यसपछिको २०७९ को आम निर्वाचन गरी उनी दुई पटक सोही क्षेत्रबाट सांसद भइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी भट्टराईले काम गर्ने उचित वातावरण नपाएको गुनासो गर्दै बिचमै राजीनामा दिएकी थिइन् । 

पार्टीभित्रैबाट अपेक्षाकृत सहयोग नपाएको र घेराबन्दीमा परेको महसुस गरेकी भट्टराईले सधैँ निष्ठाको राजनीतिमा जोड दिँदै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप