‘नोट सक्कली हो कि होइन भनेर तीन तरिकाले चिन्न सकिन्छ’
बिहीबार नेपाल प्रहरीले गोकर्णेश्वरबाट एक हजार दरका ९३ थान नक्कली नोट बरामद गर्यो । यससँगै आम सर्वसाधारणमा त्रास फैलिएको छ । यसै सम्बन्धमा रातोपाटीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :
प्रहरीले विभिन्न समयमा शंकास्पद नोटहरू बरामद गरेको भनेर हामीले समाचार पाइरहेका हुन्छौं । एउटा सर्वसाधारणले सक्कली र नक्कली नोट कसरी चिन्न सक्छ ?
सक्कली र नक्कली नोटको बारेमा सबैले आधारभूत जानकारी राख्न एकदमै आवश्यक छ । वास्तवमा बजारमा साना दरका नोटहरू भन्दा ठुला दरका नोटहरूमा नक्कली निकाल्ने गिरोह बढी सक्रिय हुन्छन्, किनभने उनीहरूले ठुला दरलाई लक्षित गर्दा बढी फाइदा देख्छन् । त्यसैले ५०० र १००० दरका नोटहरूको कारोबार गर्दा वा लेनदेन गर्दा हामी अलि बढी सजग हुन आवश्यक छ । सामान्यतया नोटहरूलाई तीन प्रकारले चिन्न सकिन्छ ।
पहिलो विधि भनेको हेरेर पहिचान गर्ने हो । एक हजार रुपैयाँको सक्कली नोट रङ, साइज र डिजाइनका आधारमा एकदमै स्पष्ट रुपमा चिन्न सकिन्छ । नोटहरूमा रङको संयोजन र प्रिन्टिङको गुणस्तर यस्तो हुन्छ कि हेर्ने बित्तिकै एउटा छुट्टै अनुभूति हुन्छ, जुन नक्कली नोटमा पाउन गाह्रो हुन्छ ।
दोस्रो विधि नोटलाई छामेर पत्ता लगाउने हो । सक्कली नोटलाई हातले छाम्दा केही भाग अलि खस्रो महसुस हुन्छ । नोटको केही विशिष्ट ठाउँमा 'इम्बोस्ड' अर्थात् अलि माथि उठेको प्रिन्टिङ हुन्छ । उदाहरणका लागि एक हजार नोटमा एउटा सानो देवीको आकृति हुन्छ, जसलाई छाम्दा स्पष्ट रूपमा उठेको भाग महसुस गर्न सकिन्छ ।

त्यसैगरी नयाँ नोटहरूमा दृष्टिविहीनहरूका लागि अङ्क चिन्न सजिलो होस् भनेर ब्रेललिपिमा केही भाग उठाइएको हुन्छ । अर्को महत्त्वपूर्ण कुरा के छ भने सक्कली नोटहरू सामान्य कागजबाट बनेका हुँदैनन् । यी 'कटन पेपर' बाट बनेका हुन्छन् । त्यसैले यो नोट पानीमा भिज्दा पनि सजिलै गल्दैन वा बिग्रँदैन । तर नक्कली नोटमा यो सम्भव हुँदैन ।
तेस्रो विधि भनेको नोटलाई टिल्ट गरेर अर्थात् यसो ढल्काएर हेर्ने हो । नोटलाई ढल्काउँदा कतिपय आकृतिहरू नाङ्गो आँखाले सिधा हेर्दा नदेखिने वा आधा देखिने भए पनि ढल्काएपछि सग्लो वा पूरा देखिन्छन् । नोटको खाली भागमा हुने पानीछाप वा सुरक्षा धागो जस्ता फिचरहरू ढल्काउँदा स्पष्ट देखिन्छन् ।
यदि यी तीनवटै विधिबाट पनि चित्त बुझेन वा शंका लाग्यो भने बैंक तथा वित्तीय संस्थाहरूमा हुने युभी लाइट वा म्याग्निफायर ग्लासको प्रयोग गर्न सकिन्छ। युभी लाइटमा राखेर हेर्दा सक्कली नोटमा गभर्नरको हस्ताक्षर लगायतका केही फिचरहरू झल्झली बल्छन् र विशेष रिफ्लेक्सन दिन्छन्, जबकि नक्कली नोटमा यस्तो केही पनि देखिँदैन ।
यदि कसैलाई आफूसँग भएको कुनै नोट नक्कली हो भन्ने शंका लाग्यो भने उसले कहाँ र कसरी रिपोर्टिङ गर्न सक्छ ?
पहिलो कुरा त आम सर्वसाधारणले कुनै पनि नोटलाई सिधै ‘यो नक्कली नै हो’ भनेर घोषणा गर्न मिल्दैन, किनकि त्यो अधिकार राष्ट्र बैंकसँग मात्र हुन्छ । त्यसैले कसैलाई शंका लागेमा त्यसलाई ‘शंकास्पद नोट’ भन्नुपर्छ । यदि आफूलाई कुनै नोट सक्कली होइन भन्ने लाग्यो भने तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा खबर गर्ने, बैंक वा वित्तीय संस्थामा पुर्याइदिने वा नेपाल राष्ट्र बैंकलाई सूचित गर्नुपर्छ । यो एउटा जिम्मेवार नागरिकको कर्तव्य पनि हो । तर यसो भन्दैमा बजारका सबै नोटलाई शंकाको घेरामा राखेर लिनै मान्दिन भन्न पनि पाइँदैन । जबसम्म राष्ट्र बैंकले त्यसलाई आधिकारिक रूपमा नक्कली घोषणा गर्दैन, तबसम्म त्यो केवल शंकास्पद मात्र रहन्छ ।
हामीले कसैबाट नोट लिँदै गर्दा शंका लागेमा त्यसलाई आधिकारिक रूपमा इन्कार गर्न वा नलिन सक्छौँ ?
यदि लेनदेनको क्रममा तपाईँलाई कुनै नोट हेर्दा, छाम्दा वा ढल्काउँदा नक्कली जस्तो देखियो वा त्यसको साइज र बनोटमा शंका लाग्यो भने तपाईँसँग त्यो नोट नलिन पाउने अधिकार रहन्छ । तपाईँले स्पष्ट रूपमा यो नोट शंकास्पद देखियो, म अर्कै नोट लिन्छु भन्न सक्नुहुन्छ ।
यस्तो अवस्थामा नोट दिने व्यक्तिलाई पनि सचेत गराउनु राम्रो हुन्छ र सम्भव भएमा प्रहरीलाई जानकारी दिनुपर्छ । किनभने बजारमा एउटा मात्र नक्कली नोट भेटिनुको अर्थ त्यहाँ अरु धेरै नोट पनि सर्कुलेसनमा हुन सक्छन् भन्ने हो । तपाईँको एउटा सानो सूचनाले प्रहरीलाई जाली नोटको कारोबार गर्ने गिरोहसम्म पुग्न र ठुलो अपराध रोक्न मद्दत पुर्याउँछ ।
प्रायः मानिसहरू नयाँ भन्दा पुराना र झुत्रा नोटहरूमा बढी झुक्किन्छन्, यस्तो अवस्थामा कसरी जोगिने ?
तपाईंले एकदमै सही भन्नुभयो । मान्छेहरू प्रायः झुक्किने भनेकै पुराना र सफ्ट भएका नोटहरूमा हो । नयाँ नोट त खस्रो र खट्याक-खट्याक बज्ने हुन्छ, तर पुरानो नोट चलाउँदा मानिसहरूले उति ध्यान दिँदैनन् । जाली नोट बनाउनेहरूले पनि यस्तै अवस्थाको फाइदा उठाउँछन् ।
तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने सक्कली नोट पुरानो वा झुत्रो भए पनि त्यसको 'कटन पेपर' को बनोट र सुरक्षा विशेषताहरू हराउँदैनन् । जाली नोट बनाउनेले सक्कली नोटमा हुने सबै जटिल फिचरहरू कपी गर्नै सक्दैन ।
त्यसैले पुराना नोटको कारोबार गर्दा अलि बढी सजग भएर ती तीनवटै विधिहरू प्रयोग गर्नुपर्छ । साना दरका नोटमा जाली नोट बनाउँदा फाइदा नहुने भएकाले गिरोहले ५०० र १००० मा बढी फोकस गर्छन्, त्यसैले ठुला दरका पुराना नोट लिँदा विशेष ख्याल गर्नुपर्छ ।
जाली नोटको जोखिमबाट पूर्ण रूपमा बच्न सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
जाली नोटको जोखिमबाट बच्ने सबैभन्दा उत्तम र आधुनिक उपाय भनेको नगद कारोबारलाई कम गर्दै लैजानु हो । ठुला दरका नोटहरूको लेनदेन गर्दा सकभर बैंकिङ प्रणाली, चेक, अनलाइन बैंकिङ वा डिजिटल पेमेन्ट माध्यमहरूको प्रयोग गर्न म अनुरोध गर्दछु ।
डिजिटल माध्यमबाट कारोबार गर्दा नक्कली नोट पर्ने डर हुँदैन र आर्थिक पारदर्शिता पनि कायम हुन्छ । तैपनि नोट नै प्रयोग गर्नुपर्ने अवस्थामा एकपटक नोटलाई राम्ररी हेर्ने, छाम्ने र ढल्काएर हेर्ने बानी बसाल्नुपर्छ । शंका लागेमा तुरुन्तै बैंक वा प्रहरीको सहयोग लिन हिच्किचाउनु हुँदैन । हामी सबै सचेत भयौँ भने मात्र नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण