बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रूपन्देही र उदयपुरमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

सोमबार, २१ पुस २०८२, १३ : ०२
सोमबार, २१ पुस २०८२

सारांश

  • रूपन्देही र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
  • रूपन्देहीको बेलहियामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
  • उदयपुरको होक्सेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ । रूपन्देही र उदयपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ। 

भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको लु ६५ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३५ वर्षीय राजन चौरसियाको मृत्यु भएको हो। भारतको उत्तर प्रदेश महाराजगञ्जका बासिन्दा चौरसियाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

यसैगरी रूपन्देहीकै सिद्धार्थनगर नगरपालिका-८ बर्मेली चोकमा आइतबार दिउँसो अज्ञात सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सुनौलीबाट बुद्धचोकतर्फ आउँदै गरेको लु ७ प ८५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तिलोत्तमा नगरपालिका-९ मंगलापुरका ६० वर्षीय लाल बिहारी बानियाको ज्यान गएको हो। भीम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालकको खोजी कार्य जारी छ।

उता उदयपुरको त्रियुगा नगरपालिका-७ होक्सेमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही ठाउँकी २६ वर्षीया आशा सदाको ज्यान गएको हो। जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। फरार ट्याक्टर चालकको खोजी हुनुका साथै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप