बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

लोकगायिका बन्दना पाण्डेलाई प्रश्न : मेला–महोत्सवमा कलाकारमाथि शोषण कति हुन्छ ?

मङ्गलबार, २२ पुस २०८२, ०९ : ०७
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • लोकदोहोरी गायिका बन्दना पाण्डेको सांगीतिक यात्रा र अनुभवबारे जानकारी प्रस्तुत गरिएको छ।
  • उनले मेला महोत्सवमा आफ्नो प्रस्तुति दिने र दर्शकको माया पाएको अनुभव सुनाइन्।
  • पाण्डेले नयाँ पुस्तालाई संगीत सिकेर मात्रै यस क्षेत्रमा आउन सुझाव दिइन्।

बन्दना पाण्डे नेपाली लोकदोहोरी क्षेत्रकी एक स्थापित गायिका हुन् । गुल्मीमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्मथलो बनाउँदै आएकी उनी विद्यालयस्तरदेखि नै गायनमा रुचि राख्थिन् । सानैदेखि लोकदोहोरी गाउँदै हुर्किएकी बन्दनाका सान्नानी १ र २, ‘सुसेली मल्लुङ खोलाको’, ‘विष खान देऊ’ र आफ्नै लय सिर्जनामा रहेको ‘पिपलसँगै बर’ जस्ता गीत चर्चित छन् । 

पछिल्लो समय मेला–महोत्सवहरूमा उनको लाइभ दोहोरीले दर्शकको ध्यान निकै खिच्ने गरेको छ । काममा जति नै व्यस्त रहे पनि अनावश्यक चर्चाभन्दा बाहिर रहेर गीतसंगीतलाई निरन्तरता दिन रुचाउने गायिका पाण्डेलाई रातोपाटीले १० प्रश्न राखेको छ ।

अचेल मेला–महोत्सव धेरै आयोजना हुन्छन्, यसले तपाईँलाई कत्तिको प्रभाव पारेको छ ?

मेला–महोत्सव कलाकारका लागि दर्शक तथा श्रोतासामु आफूलाई प्रस्तुत गर्ने र उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो । यसबाट राम्रो आम्दानी पनि हुने गर्छ । यस्तो अवसरबाट म किन पछि हट्थेँ र ? म पनि यस्ता कार्यक्रमहरूमा सहभागी भएर आफ्नो प्रस्तुति दिँदै आएकी छु । म धेरै संख्यामा भन्दा पनि छानिएका महोत्सवहरूमा सहभागी हुन्छु । वर्षमा औसत २५ देखि ३० वटा र महिनामा २/३ वटा कार्यक्रममा भ्याइरहेकी हुन्छु ।

महोत्सवहरूमा के–के गर्नुहुन्छ ?

म मूलतः लोकदोहोरी कलाकार हुँ । त्यसैले कार्यक्रमहरूमा प्रत्यक्ष लोकदोहोरी गाउने गर्छु । विभिन्न चर्चित कलाकारहरूसँग मेरा थुप्रै लोकदोहोरी गीत सार्वजनिक भएका छन् । ती गीत पनि म दर्शकमाझ प्रस्तुत गर्छु । दर्शकको आग्रहमा उहाँहरूले नै रुचाएका गीत पनि गाउने गरेकी छु ।

मेला–महोत्सवमा कलाकारहरूमाथि शोषण हुन्छ भनिन्छ, तपाईंको अनुभव कस्तो छ ?

पहिले–पहिले अलि गाह्रो नै थियो । काम गराएर भनेजस्तो पारिश्रमिक नदिने चलन पनि थियो, तर अहिले मिडिया र सामाजिक सञ्जालको पहुँचले गर्दा त्यस्तो अवस्था छैन । अहिलेको वातावरण एकदमै राम्रो छ । पहिले नै पारिश्रमिक तोकेर र केही रकम पेस्की (एडभान्स) लिएरमात्र जाने चलन छ ।

तपाईँलाई दर्शकले विशेषगरी ‘सान्नानी’ गीतका कारण चिन्छन् । यो गीत महोत्सवमा कत्तिको गाउनुहुन्छ ?

मलाई साङ्गीतिक क्षेत्रमा गायिकाका रूपमा स्थापित गराउने र धेरै दर्शकमाझ परिचित गराउने गीत नै ‘सान्नानी’ हो । यसको भाग १ र २ दुवैलाई श्रोताले निकै रुचाइदिनुभयो । त्यसैले कार्यक्रमहरूमा यो गीत अनिवार्यजस्तै हुन्छ । यसबाहेक खुमन अधिकारी दाइसँग गाएको ‘सुसेली मल्लुङ खोलाको’ पनि निकै चर्चित छ । पछिल्लो समय आफ्नै शब्द र लयमा सार्वजनिक गरेको ‘पिपलसँगै बर’ पनि दर्शकले निकै खोज्नुहुन्छ ।

साङ्गीतिक यात्राको सुरुवात कसरी भयो ?

म सानैदेखि गाउँमा लोकगीत र भजनहरू गाउँथेँ । स्कुलका कार्यक्रम र तीजका गीतहरूमा पनि मेरो सहभागिता हुन्थ्यो । सबैले मलाई गायनमा लाग्न हौसला दिनुहुन्थ्यो । मेरा फुपूहरू पनि गीत गाउने भएकाले घरको वातावरण सधैँ साङ्गीतिक र रमाइलो थियो ।

bandana pandey3

एसएलसी दिनुअघि नै काठमाडौँ आएर मैले पहिलो गीत ‘विष खान देऊ’ रेकर्ड गराएकी थिएँ । त्यो गीतले ठिकठिकै चर्चा पायो । त्यसपछि यसै क्षेत्रमा लाग्दा राम्रो हुन्छ भन्ने विश्वास पलायो र एसएलसीपछि काठमाडौँ आएर पूर्ण रूपमा सङ्गीतमा होमिएँ ।

काठमाडौँ आएपछिको सङ्घर्ष कस्तो रह्यो ?

सुरुका दिनहरू निकै चुनौतीपूर्ण थिए । मैले दोहोरी साँझहरूमा गाउन थालेँ । गायिका दिदी निशा सापकोटाले मलाई धेरै सहयोग गर्नुभयो । काम गर्दै गर्दा ‘श्रुति सङ्गीत विद्यालय’मा राम सिटौला, नरहरि प्रेमी र दीपक शर्मा सरहरूसँग सङ्गीत सिकेँ । आर्थिक अभाव र एक्लोपनले गर्दा बिचमा केही समय बिरामी परेर गाउँ पनि फर्किएँ । तर, पछि फेरि आएर सङ्गीतलाई नै निरन्तरता दिएँ । जब ‘सान्नानी’ गीत सार्वजनिक भयो, त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेको छैन । अहिलेसम्म मैले करिब २०० भन्दा बढी गीत गाइसकेकी छु, जसमध्ये ७–८ वटा त आफ्नै लगानीमा निर्माण गरेकी छु ।

तपाईंले लोक विधा नै रोज्नुको विशेष कारण के हो ?

हाम्रो पारिवारिक र गाउँको माहोल नै लोकदोहोरीमय थियो । सानैदेखि यस्तै गीत–सङ्गीत सुन्दै र गाउँदै हुर्किएकाले यो विधामा मेरो स्वाभाविक रुचि रह्यो । यद्यपि, मैले ‘मेरो नशालु आँखाले’ जस्ता केही लोक–पप गीत पनि गाएकी छु ।

पछिल्लो समय भाइरल हुनका लागि जे पनि गर्ने चलन छ । तपाईँ चर्चाभन्दा बाहिर रहेर पनि व्यस्त हुनुहुन्छ, कहिल्यै ‘भाइरल’ हुन मन लागेन ?

म एक सचेत कलाकार हुँ । मलाई थाहा छ, मैले आज गर्ने क्रियाकलापको असर मेरो भविष्य र प्रतिष्ठामा पर्छ । त्यसैले चर्चाकै पछि लागेर परिवारसँग बसेर सुन्नै नमिल्ने खालका गीत गाउने मेरो स्वभाव छैन । मलाई असहज लाग्ने शब्दहरू छन् भने म त्यस्ता गीतहरू गाउँदिनँ । चर्चा नहोस् तर साङ्गीतिक क्षेत्रमा राम्रा र स्तरीय सिर्जना दिन सकियोस् भन्ने मेरो चाहना रहन्छ ।

अहिलेसम्म गायन क्षेत्रबाट के पाउनुभयो ?

सबैभन्दा ठुलो कुरा त दर्शक र श्रोताको अपार माया पाएकी छु । सबैले लोकगायिका भनेर चिन्छन् र मायाले कार्यक्रमहरूमा बोलाउँछन् । यसबाट आम्दानी पनि राम्रै भएको छ । कार्यक्रमकै सिलसिलामा देशका धेरै ठाउँ घुम्ने अवसर पाएँ । यसका साथै बेलायत (युके), जापान, हङकङ, दुबई र कतारजस्ता देशहरूमा समेत पुगेर आफ्नो प्रस्तुति दिन सफल भएकी छु ।

साङ्गीतिक क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?

नयाँ पुस्ता आउनु जरुरी छ, किनकि हाम्रो लोक सङ्गीतलाई बचाउने जिम्मा उहाँहरूकै काँधमा छ, तर यस क्षेत्रमा आउँदा सङ्गीतलाई राम्ररी सिकेर र बुझेरमात्र आउनुभयो भने दिगो भइन्छ । यो क्षेत्रमा सङ्घर्ष धेरै छ, तर धैर्यताका साथ मेहनत गर्न सकियो भने सफलता पक्कै मिल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप