डोल्पामा प्रहरी–स्थानीय विवाद कसरी चर्कियो ?
सारांश
- डोल्पामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा एक व्यक्ति भेरी नदीमा हाम्फालेर बेपत्ता भए।
- घटनापछि स्थानीय र प्रहरीबीचको विवादले उग्ररुप लिँदा प्रहरी चौकीमा आक्रमण भयो, र प्रहरीमाथि किटानी जाहेरी दर्ता भयो।
- घटनाको छानबिन गर्न समिति गठन गरिएको छ, र बेपत्ता व्यक्तिको खोजी कार्य जारी छ।
सुर्खेत । डोल्पामा लागुऔषधका शंकास्पद व्यक्ति भागेर बेपत्ता भनिएको घटनाले अर्कै मोड लिएको छ । लागुऔषध कारोबारमा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन गएका प्रहरी कर्मचारीहरूमाथि नै किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु भएको हो ।
शुक्रबार दिउँसो ३—४ बजेको समयमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को ल्हाँ गाउँका करिब ३५ वर्षीय जुन रोकायाले एक ट्रकका चालकलाई लागुऔषध बुझाउँदैछन् भन्ने सूचना प्रहरीकहाँ पुगेको थियो ।
लगत्तै सोही वडामा रहेको इलाका प्रहरी चौकी खदाङ करोपगार्डमा कार्यरत प्रहरीले करिब तीन किलोमिटरको दुरीमा रहेको छेप्के पुलमा चेकिङ राखे । त्यही क्रममा रोकाया आत्तिएर भेरी नदीमा हामफालेको बताइएको छ ।
त्यसपछि उनी बेपत्ता भएको स्थानीयको भनाइ छ । सोही वडाका वडाध्यक्ष नरबहादुर झाँक्रीका अनुसार चेकिङका क्रममा प्रहरीले लखेटेपछि नै रोकाया भेरी नदीमा हामफाल्न बाध्य भएको स्थानीयको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गुप्तचर प्रहरी र खदाङ प्रहरी चौकीबाट खटिएका प्रहरीको बिचमा पर्दा उनी बाध्य भएर नदीमा हामफालेको स्थानीयको भनाइ छ ।
शुक्रबार अबेरसम्म रोकाया सम्पर्कमा नआएपछि उनका आफन्त र प्रहरीबिच विवाद सुरु भयो । विवाद उग्र बन्दै गएपछि शनिबार स्थानीयले प्रहरी चौकीमै आक्रमण गरे । त्यस क्रममा केही प्रहरी घाइतेसमेत भए । आक्रमणपश्चात आफ्ना केही कर्मचारी पनि बेपत्ता भएको प्रहरीले बताएको थियो ।
घाइते एक प्रहरीको अहिले उपचार भइरहेको छ । विवाद झन् बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख शनिबार नै खदाङ पुगेका थिए । रोकाया बेपत्ता भएपछि त्यहाँको अवस्था निकै तनावग्रस्त बन्यो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले शनिबार प्रहरीको नजिक नआउँदै रोकाया भागेको रातोपाटीसँग प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘रोकाया लागुऔषधसहित यात्रा गरिरहेको सूचना आयो । एक ट्रकका चालकलाई लागुऔषध बुझाउँदैछन् भन्ने सूचना आएपछि हाम्रो प्रहरी चेकजाँचका लागि खटियो । चेकजाँच आउनुभन्दा थोरै अगाडि नै उनी भागे ।’
त्यसपछि प्रहरीले खोजी गरे पनि उनलाई भेटाउन नसकेको खड्काको भनाइ छ । खड्काका अनुसार अहिले प्रहरी हेडक्वार्टरबाटै कोही मान्छे भागिरहेको खण्डमा धेरै बल प्रयोग वा कष्ट नदिने भन्ने निर्देशन भएकाले प्रहरीले उनलाई पछ्याएन । ‘पछि अनुसन्धान गरी कानुनको दायरामा ल्याउने योजना हाम्रो थियो,’ उनको भनाइ थियो ।
तर प्रहरीको भनाइमा सत्यता नभएको र भेरीमा हामफाल्न बाध्य बनाएको भन्दै शनिबार बेलुकादेखि स्थानीयले डोल्पाको यातायात सेवा नै ठप्प पारे । त्यसपछि आइतबार वडा नम्बर १ मा रहेको प्रहरी चौकी त्रिपुराकोटमा दुई पक्षबिच वार्ता भयो । यद्यपि कुरा मिलेन । स्थानीयले चेकजाँचमा बसेका प्रहरीमाथि अनुसन्धान हुनुपर्ने माग राखे ।
सोही अनुसार छानबिन समिति बन्यो भने सोमबारदेखि यातायात सेवा सुचारु भएको छ ।
- प्रहरीविरुद्ध किटानी जाहेरी
‘मानिस बेपत्ता बनाए’को कसुरमा ड्युटीमा खटिएका असईसहित पाँच जनाविरुद्ध स्थानीयले उजुरी दिएका छन् । खदाङ प्रहरी चौकीका प्रमुख असई हेमराज कार्की, ड्युटीमा रहेका प्रहरी जवान लालबहादुर घर्ती, भगीरथ जैशी, जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिप्रकाकै कार्यरत घुमुवा प्रहरी नगेन्द्र खड्काविरुद्ध उजुरी परेको हो ।
उनीहरूविरुद्ध बेपत्ता युवा जुन रोकायाकी श्रीमती धनमतीले किटानी जाहेरी दिएकी हुन् । घटनापछि उक्त प्रहरी चौकीमा रहेका १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।
डोल्पाको अवस्था अहिले सामान्य भएको छ । तोडफोड भएको चौकीमा ४५ जनाको फौज परिचालन गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको सो क्षेत्रमा लागु औषध कारोबारीहरू धेरै भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
घटनाबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसपी रामप्रसाद घर्तीको नेतृत्वमा आइतबार छानबिन समिति बनेको छ । समितिमा प्रहरी निरीक्षक खिम खड्का, सहायक निरीक्षक प्रेम शर्मा सदस्य छन् । उनीहरू आइतबार बेलुका नै डोल्पा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका एक प्रहरी अधिकृतका अनुसार जाहेरी दर्ता भएपछि प्रहरी कर्मचारी आफैँ अनुसन्धानलाई सघाउन तयार छन् ।
- ‘बेपत्ता पारिएको भन्छन्, तर देख्ने मान्छे कोही छैन’
अनुसन्धान संयोजक कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीले आफ्नो टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । ‘हामी घटनास्थल भनिएको ठाउँमा हिजो पुग्यौँ,’ उनले रातोपाटीसँग भने, ‘मान्छे जहाँबाट हराएको भनिएको छ, त्यहाँ गएर पनि सबै हेरेका छौँ । स्थानीयहरूसँग पनि बुझ्ने काम भइरहेको छ ।’
घर्तीले युवक बेपत्ता भएको भनिए पनि देख्ने मान्छे कोही नभएको बताए । ‘घटनास्थल भनिएको ठाउँमा हामी गएको हो, तर त्यहाँ घटना भएको हो भनेर देख्ने मान्छे कोही पनि छैन,’ उनले थपे, ‘त्यहाँ खटिएको प्रहरी कर्मचारीलाई केही थाहा होला, उहाँहरूमाथि हामीले सोधपुछ गर्न बाँकी छ ।’
सुरुमा स्थानीयहरूसँग मात्रै सोधपुछ भइरहेको उनले बताए ।
स्थानीयद्वारा प्रहरी चौकी तोडफोडको विषयमा पनि छानबिन टोलीले अध्ययन गरेको छ, जसमा सामान्य तोडफोड भएको एसपी घर्तीले बताए । ‘सबै ध्वस्तचाहिँ छैन, ढुङ्गामुढा भएको रहेछ, अगाडिको साइनबोर्ड फालिएको अवस्था छ,’ उनले भने ।
कार्यालयका कुर्सी, टेबलहरू पनि बाहिर फाल्ने काम भएको उनको भनाइ छ । बेपत्ता युवकको अवस्था अझै अज्ञात छ । युवकको खोजीबारे सम्भावित ठाउँहरूमा प्रहरी खोजतलासमा सक्रिय भएको उनले बताए ।
छानबिन समितिले घटना कसरी हुन गयो भन्नेबारे खुलाएर आफ्नो प्रतिवेदन प्रदेश प्रहरी कार्यालयमा पेस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण