शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाका सबैभन्दा खतरनाक ‘डबल एजेन्ट’ एम्सको ८४ वर्षको उमेरमा मृत्यु

बुधबार, २३ पुस २०८२, ०९ : २६
बुधबार, २३ पुस २०८२

सारांश

  • अमेरिकाका 'डबल एजेन्ट' एल्ड्रिच एम्सको ८४ वर्षको उमेरमा जेलमा मृत्यु भयो, जो सोभियत संघका लागि जासुसी गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका थिए।
  • एम्सले गोप्य सूचना बेचेर अमेरिकाका १०० भन्दा बढी गोप्य अभियानहरूमा क्षति पुर्‍याएका थिए, जसमा ३० भन्दा बढी एजेन्टको पहिचान खुलाएका थिए।
  • उनले ऋण तिर्न र विलासी जीवन बिताउन गोप्य सूचना बेचेका थिए, जसबापत उनले २५ लाख डलरभन्दा बढी रकम प्राप्त गरेका थिए।

 मेरिल्याण्ड । अमेरिकाका सबैभन्दा खतरनाक ‘डबल एजेन्ट’ मध्येका एक एल्ड्रिच एम्सको ८४ वर्षको उमेरमा जेलमै मृत्यु भएको छ। सीआईएमा कार्यरत रहेकै अवस्थामा सोभियत संघका लागि जासुसी गरेको अभियोगमा जन्मकैदको सजाय काटिरहेका उनको मेरिल्याण्डस्थित संघीय कारागारमा सोमबार निधन भएको हो।
 
सन् १९९४ देखि जेलमा रहेका उनलाई पेरोलको सुविधा बिना नै आजीवन कारावासको सजाय सुनाइएको थियो। सन् १९८५ देखि सोभियत संघ र पछि रुसलाई गोप्य सूचना बेच्न सुरु गरेका एम्सले अमेरिकाका १०० भन्दा बढी गोप्य अभियानहरूमा ठुलो क्षति पुर्‍याएका थिए।
 
उनले पश्चिमका लागि जासुसी गरिरहेका ३० भन्दा बढी एजेन्टहरूको पहिचान खुला गरिदिएका थिए, जसमध्ये कम्तीमा १० जनाको ज्यान गएको थियो। ऋण तिर्न र विलासी जीवन बिताउनका लागि उनले आफ्नो देशका गोप्य सूचनाहरू शत्रु राष्ट्रलाई बुझाउने बाटो रोजेका थिए।
 
सोभियत गुप्तचर निकाय केजीबीमा ‘कोलोकोल’ कोड नामले चिनिने एम्सले सोभियत संघमा रहेका लगभग सबै अमेरिकी जासुसहरूको विवरण उपलब्ध गराएका थिए। यसबापत उनले सुरुमा ५० हजार डलर प्राप्त गरे पनि पछि केजीबीले उनलाई कुल २५ लाख डलरभन्दा बढी रकम बुझाएको थियो। वार्षिक ७० हजार डलर मात्र तलब भएका एम्सले सोही पैसाबाट महँगो जगुआर कार, विलासी बिदा र साढे पाँच लाख डलर पर्ने घर खरिद गरेपछि उनीमाथि शंका बढ्दै गएको थियो।
 
सन् १९६२ मा बुवाको सहयोगमा सीआईएमा प्रवेश गरेका एम्सको करियरमा रक्सीको लत र सुरक्षा लापरबाहीका थुप्रै घटना भए पनि उनी संगठनको माथिल्लो तहसम्म पुग्न सफल भएका थिए। सन् १९८३ मा सीआईएको सोभियत प्रतिगुप्तचर विभागको प्रमुख बनेका बेला उनले पदको दुरुपयोग गर्दै ठुलो मात्रामा गोप्य दस्तावेजहरू बेचेका थिए। उनले आफ्नी दोस्रो पत्नी मारिया डेल रोजारियोको विलासी जीवनशैली र आफ्नो ऋण व्यवस्थापनका लागि यो गद्दारी गरेको स्वीकार गरेका थिए।
 
लामो समयको ‘मोल हन्ट’ पछि सन् १९९४ फेब्रुअरी २१ मा पक्राउ परेका एम्सले पछि अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरेका थिए। उनले सहयोग गरेकै कारण उनकी पत्नी रोजारियोलाई कम सजाय भएको थियो, जो पाँच वर्ष जेल बसेर रिहा भइन्। तत्कालीन सीआईए निर्देशक आर. जेम्स वुल्सीले एम्सलाई एउटा ‘घातक विश्वासघाती’ को संज्ञा दिँदै एउटा ठुलो घर र कारका लागि उनले आफ्ना सहकर्मीहरूको ज्यान जोखिममा पारेको टिप्पणी गरेका थिए। 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप