बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

चिसो बढ्दा मधेसका मूर्तिकार चिन्तित, सरस्वती पूजाका लागि मूर्ति बनाउन सकस

बुधबार, २३ पुस २०८२, १४ : ००
बुधबार, २३ पुस २०८२

सारांश

  • मधेसमा चिसोका कारण दैनिक पेसा-व्यवसाय ठप्प भएको छ, जसले गर्दा स्थानीयहरू आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेका छन्।
  • सरस्वती पूजाका लागि मूर्ति बनाउँदै गरेका कुम्हार समुदाय चिसोका कारण काम गर्न नसक्दा चिन्तित छन्, जसले गर्दा उनीहरूको आम्दानी घट्ने सम्भावना बढेको छ।
  • महोत्तरीका रामनाथ खतबेले मूर्ति बनाउने पेसा अँगालेका छन्, तर चिसोका कारण काम गर्न समस्या भएको र आम्दानी घट्ने चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधाम । मधेसमा पछिल्लो समय अत्यधिक चिसोका कारण विभिन्न वर्ग र समुदायका दैनिक पेसा–व्यवसाय ठप्पजस्तै बनेको छ । जाडोका कारण काम गर्न नसक्दा आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको स्थानीयहरू बताउँछन् ।

murtikar (2)

यसरी प्रभावित हुनेमा मूर्तिकारसमेत छन् । हिन्दु धर्मावलम्बीहरू आगामी माघ ९ गते सरस्वती पूजा मनाउने तयारीमा छन् । विद्याकी देवी भनिने सरस्वतीको पूजा विशेषगरी सबै शैक्षिक संस्थामा आयोजना गरिन्छ ।

murtikar (4)

सरस्वती पूजाका लागि मूर्ति बनाउन मूर्तिकारहरूलाई चटारो छ । माटोको मूर्ति बनाएर शृङ्गार गरी बिक्री गर्ने उनीहरूले विभिन्न धार्मिक अवसरमा देवी–देवताको मूर्ति बनाएरै गुजारा चलाउने गरेका छन् ।

murtikar (5)

मधेसमा मूर्ति बनाउने कुम्हार समुदायको पुर्ख्यौली पेसा हो । यद्यपि पछिल्लो समय विभिन्न जाति तथा समुदायका मानिसहरू यस पेसामा संलग्न हुँदै आएका छन् । सरस्वतीको मूर्ति बनाउन चटारो बढ्दै गएको समयमा चिसोका कारण काम गर्न नसक्दा कुम्हार समुदाय चिन्तित हुन थालेको छ ।

murtikar (7)

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ निवासी रामनाथ खतबे अहिले सरस्वतीको मूर्ति बनाउन व्यस्त छन् । उनले भने, ‘हाम्रो पुर्ख्यौली पेसा भनेकै बिहेको समयमा बेहुला–बेहुलीलाई माफा, खरखरिया र पाल्कीमा बोकेर लैजाने तथा भार–पाहुर बोक्ने थियो, तर समयसँगै समाज परिवर्तन भयो । यो पेसालाई हेयका दृष्टिले हेर्न थालिएका कारण मूर्ति बनाउने पेसा रोज्नु पर्‍यो ।’

रामनाथ आफूले कसैको पुर्ख्यौली पेसा खोसेको नभई आफ्नै रुचिले मूर्तिकला रोजेको बताउँछन् । ‘म १७ वर्षको हुँदा नै मूर्ति बनाउन रहर थियो । निरन्तर अभ्यास गर्दै यस पेसामा लागेको करिब ३० वर्ष भइसक्यो,’ उनले भने ।

murtikar (8)

यही पेसाबाट उनले परिवारको जीविकोपार्जन गर्दै आएका छन् । उनका अनुसार वर्षमा चार महिनामात्रै माटोको मूर्ति बनाउने सिजन हुन्छ । भदौमा कृष्ण जन्माष्टमी, असोजमा विश्वकर्मा पूजा र दुर्गा पूजा, कात्तिकमा काली, लक्ष्मी र माघमा सरस्वतीको मूर्ति बनाइन्छ । बाँकी आठ महिना खेतपातीको काम तथा समय मिल्दा सिमेन्टका मूर्ति बनाएर जीवन चलाउनुपर्ने बाध्यता छ ।

यसपालि अत्यधिक जाडोले मूर्ति बनाउन निकै समस्या भएको रामनाथ बताउँछन् । ‘चिसोले हात चल्दैन, घाम नलाग्दा मूर्ति सुक्नै गाह्रो हुन्छ । माटोले बनाएको मूर्ति राम्ररी नसुकेसम्म मूर्तिमा रङ बस्दैन, चिरा पर्ने डर हुन्छ,’ उनले भने ।

murtikar (9)

रामनाथका अनुसार मूर्तिको मूल्य त्यसको आकार हेरी ४ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । अहिले उनी महँगो र अर्डर आएको मूर्तिमात्र बनाइरहेका छन् । ‘कामदारहरू जाडोका कारण आउन मान्दैनन्, आए पनि काम हुँदैन,’ उनले भने ।

विगतका सिजनमा सबै खर्च कटाएर तीन–चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको भए पनि यस वर्ष आम्दानी अनिश्चित बनेको उनको भनाइ छ ।

murtikar (1)

चार सन्तानसहित सात जनाको परिवार पाल्नुपर्ने रामनाथले भने, ‘दिन छोटो भएकाले बिहान १० बजेतिर मात्रै काम थाल्छु, तीन–चार बजे छोड्नुपर्छ । चिसो सहन नसक्दा कामको गति घटेको छ ।’

मूर्ति बिक्री नहुँदा ठुलो घाटा हुने डर पनि उत्तिकै छ । ‘ऋण काढेर माटो किनेको छु, मूर्ति बनाउने घर भाडामा लिएको छु, अन्य मूर्तिकारलाई ज्याला दिनुपर्छ । बाँस, काठ, काँटी, रङ सबै नगद किनेर ल्याउनुपर्छ, उधारो कसैले दिँदैन,’ रामनाथले भने ।

murtikar (3)

समाजमा मूर्तिकलालाई राम्रो दृष्टिले नहेरिने भएकाले नयाँ पुस्ता यस पेसामा आउन नचाहेको उनी बताउँछन् । ‘अब मूर्ति बनाउन कोही चाहँदैन । पैसा कसरी कमाउने, परिवार कसरी पाल्ने भन्ने चिन्ताले युवाहरू यो पेसाबाट टाढा छन्,’ उनले भने । तर आफ्नो एक छोरालाई भने यो कलामा लगाउने उनले दृढता व्यक्त गरे ।

murtikar (6)

रामनाथका अनुसार पहिले थोरै संख्यामा मूर्ति बिक्री हुने गरे पनि अहिले सङ्ख्यात्मक रूपमा माग बढेको छ, तर मूर्तिकारको सङ्ख्या नबढ्दा परम्परागत मूर्तिकला सङ्कटमा पर्ने खतरा देखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप