बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

पराजयबाट विजयको यात्रामा सुनिलबहादुर थापा

उम्मेदवारीलगत्तै उनले भनेका थिए, ‘जहाँ लडे पनि १०० प्रतिशत जितिन्छ’
बुधबार, २३ पुस २०८२, १८ : ४१
बुधबार, २३ पुस २०८२

सारांश

  • राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका सुनिलबहादुर थापाले 'अन्य' कोटाबाट उम्मेदवारी दिएका छन्।
  • विगतमा प्रत्यक्ष निर्वाचनमा पराजित भए पनि थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
  • थापा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएर राष्ट्रियसभाको बाटो रोजेका हुन्।

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका सुनिलबहादुर थापाले 'अन्य' कोटाबाट उम्मेदवारी दिए ।

उम्मेदवारीपछि सञ्चारकर्मीले थापालाई सोधे, ‘पटक–पटक प्रत्यक्षमा हार व्यहोरेपछि सुरक्षित हुन राष्ट्रियसभा रोज्नुभएको हो ?’ उनले जवाफ दिए, ‘सजिलो र अप्ठ्यारो भन्ने सबै ठाउँमा हुन्छ । धनकुटा लड्न जाँदा पनि १ सय प्रतिशत जितिन्छ भनेरै गएको हो, यहाँ पनि १ सय प्रतिशत नै हो ।’ 

उनको यो भनाइ यतिबेला सार्थक भएको छ । विगतमा जनमतबाट पराजित भए पनि यसपटक उनी विनाप्रतिस्पर्धा माथिल्लो सदनको सांसद बन्ने यात्रामा सफल भए । कांग्रेस नेता थापाका लागि विगतका दुई वटा संसदीय निर्वाचन सुखद थिएनन् । उनले त्यो पराजयलाई चिर्दै राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट उम्मेदवारी दिएका थापाको यात्रा मुख्य प्रतिस्पर्धी मानिएका नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि सहज भएको हो । 
थापाका लागि विगतका दुई निर्वाचन भने निकै भारी परेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धनकुटामा चुनावी मैदानमा थिए, तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका राजेन्द्रकुमार राईसँग उनी पराजित भए । 

२०७७ सालमा बुबा सूर्यबहादुर थापाको विरासत बोकेको राप्रपा त्यागेर उनी नेपाली कांग्रेसमा प्रवेश गरे । २०७९ को आम निर्वाचनमा कांग्रेसको रूख चिह्न लिएर उनी पुनः धनकुटाकै मैदानमा ओर्लिए, तर नियति उस्तै रह्यो । उनलाई पुनः राजेन्द्रकुमार राईले नै पराजित गरे । प्रत्यक्ष निर्वाचनमा दुईपटकको हारले उनलाई केही समय राजनीतिक ओझेलमा पारेको थियो । 

प्रत्यक्ष निर्वाचनमा सफलता हात नलागे पनि थापाको राजनीतिक उचाइ भने कम भएन । उनी केही दिन अगाडिसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारका रूपमा शीतल निवासमा कार्यरत थिए, तर सक्रिय संसदीय राजनीतिमै फर्किने हुटहुटीले उनले सल्लाहकार पदबाट राजीनामा दिएर राष्ट्रियसभाको बाटो रोजे । 

मनोनयन दर्ताका क्रममा उनले भनेका थिए, ‘राजनीति गर्ने मान्छे फेरि राजनीतिकै मूलधारमा फर्किनुपर्छ भनेर म मेनस्ट्रिममा फर्किएको हुँ ।’ संयुक्त राष्ट्रसंघमा लामो समय कुटनीतिक अनुभव सँगालेका र पूर्वमन्त्री समेत भइसकेका थापाका लागि राष्ट्रियसभाको यो कार्यकाल विजयको सुरुवात हुनेछ । दुई पटकको चुनावी हारपछि निर्विरोध रूपमा संसद् प्रवेश गर्नु उनका लागि एउटा ठुलो राजनीतिक पुनरागमन हो । 

विगतमा धनकुटाको चुनावी अंकगणितले साथ नदिए पनि जहाँ भए पनि शतप्रतिशत नतिजा निकाल्ने उनको दाबी यसपटक राष्ट्रियसभामा प्राविधिक रूपमै सही सावित भएको छ । उनले राष्ट्रियसभालाई एक प्रतिष्ठित सभा भएको बताए । उनले भने, ‘राष्ट्रियसभा एउटा गरिमामय ठाउँ हो, जहाँ मुलुकका समस्याहरू राखेर समाधानका लागि सबै पक्षसँग सहकार्य गरिन्छ, म त्यही कामका लागि जान लागेको हुँ ।’ 

थापाको सामान्य परिचय

सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । यिनी नेपाली कांग्रेस को १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सिटबाट विजय हासिल गरेका थिए । 

२०७४ साल जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा सेवा गरेका छन् । उनी सन् २०११ मा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए ।

त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कात्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सहमहामन्त्री बनेका थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप