नरेश भण्डारीलाई जुम्लामा ‘माओवादी’को गुमेको साख फर्काउने चुनौती
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाको कार्यदलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नरेश भण्डारीको नाम उम्मेदवारका लागि एकल सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी विशेष सर्कुलर–२ को दफा २(२) अनुसार गठित कार्यदलको बैठकले सर्वसम्मतिले भण्डारीको नाम अनुमोदन गरी केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको साविक माओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपानेले जानकारी दिए ।
यसअघि पुस १० गते बसेको पार्टीको बैठकले भण्डारीसहित पाँच जनाको नाम सिफारिस गरेको थियो । तर पार्टी केन्द्रको सर्कुलरपछि पुनः छलफलबाट भण्डारीलाई उम्मेदवार बनाइएको न्यौपानेले बताए । भण्डारी साविक माओवादीका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व कानुनमन्त्री समेत हुन् । उनलाई यसअघि गुमेको माओवादीको साख जोगाउनकै लागि भए पनि एकल सिफारिस गरिएको एक नेताले बताए ।
भण्डारीलाई माओवादी कर्णालीभित्र बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्चरका रुपमा चिनिन्छ । उनकै नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ठुला विकासे आयोजना अघि बढेका छन् । तर २०७९ को निर्वाचनमा आउँदा माओवादीले पराजय भोग्यो । जुम्लालाई माओवादीले आफ्नो वर्चस्व रहेको जिल्लाका रुपमा लिन्छ । तर पछिल्लो समय पार्टीभित्रकै आन्तरिक द्वन्द्वका कारण जुम्लामा माओवादी कमजोर बन्दै गएको चुनावी मत परिणामले देखाउँछ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भण्डारीले नै २१ हजार १२७ मतसहित चुनाव जितेका थिए । त्यो बेला कांग्रेसले १२ हजार मत पाएको थियो । २०७० मा आउँदा माओवादीका गजेन्द्र महतले कांग्रेसका ललितजंग शाहीसँग हारे । २०७४ मा आएर माओवादीले पुनः उनै गजेन्द्रलाई टिकट दियो । भण्डारी प्रदेशतर्फ झरे ।
एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका महतले २२ हजार १७३ मत पाएर चुनाव जिते । कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए । २०७९ मा आएर माओवादीले आफ्नो विरासत गुमायो । सुरुमा नरेश भण्डारीले नै टिकट पाउने भनेर उनी चुनावी अभियानमै सरिक भइसकेका थिए । तर पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी केन्द्रले गोमा गौतम कुँवरले टिकट पाइन् । तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले झण्डै दोब्बर मतान्तरले पराजित गरे । जबकि गोमालाई कांग्रेसको समेत साथ थियो ।
शाहीले २२ हजार ८१९ मत पाउँदा गोमाले ११ हजार ९५९ मत पाइन् । यो जिल्लामा ६० को दशकपछि एमालेले चुनाव जित्न सकेको छैन । कांग्रेस-एमालेबिच प्रतिस्पर्धा हुने जुम्लामा २०७९ मा राप्रपाका शाहीको आवागमनले माओवादी झस्किएको छ । जसकारण अहिले अहिले धेरैजसो नेता, कार्यकर्ताहरुले विरासत फर्काउन भए पनि भण्डारीलाई नै उम्मेदवार बनाएका छन् ।
यद्यपि गुमेको साख फकाउन भने अहिले चुनौती छ । यहाँ एमालेबाट शान्तिलाल महत उम्मेदवार बनेका छन् भने कांग्रेसबाट निवर्तमान सांसद (समानुपातिक) कान्तिका सेजुवाल, जिल्ला सभापति कर्णबहादुर शाही, खड्गबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम सिफारिस गरिएको छ ।
यस्तै राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही नै एकल सिफारिस भएका छन् । उनी कुनै अन्य निर्वाचन क्षेत्रमा चुनाव लड्न जाने चर्चा छ । अर्कोतर्फ माओवादीबाट नै विभाजन भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धितालले चुनाव लड्ने तयारी गरेका छन् । उनी बौद्धिक वर्गभित्र परिचित नाम हो । माओवादी सशस्त्र युद्धताका जनादेश पत्रिका चलाएका धिताल पत्रकार हुन् । उनका थुप्रै किताब प्रकाशित छन् । यसरी हेर्दा भण्डारीलाई यसअघि गुमेको साख फर्काउन चुनौती उत्तिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण