मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पुगे टोपबहादुर रायमाझी

शुक्रबार, २५ पुस २०८२, १० : ५८
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामुक्तिका लागि उच्च अदालत पुगेका छन्।
  • जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझीले उच्च अदालतमा निवेदन दिएका हुन्।
  • रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ (२) बमोजिम निवेदन दिएका थिए।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पाटन पुगेका छन् ।

रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले पुस २४ गते बिहीबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२)बमोजिम निवेदन दिएका हुन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ । रायमाझीले दफा ७१ (२) मा टेकेर जिल्ला अदालतमा निवेदन दिएका हुन् । 

भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध रायमाझीसहित उच्च अदालत पाटन पुगेका थिए । रायमाझी लगायतको हकमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि छाड्न अस्वीकार गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप