बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचन

सुदूरपश्चिमबाट एमालेका चार जना एकल सिफारिस

शुक्रबार, २५ पुस २०८२, १९ : ००
शुक्रबार, २५ पुस २०८२

सारांश

  • एमालेले सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम एकल सिफारिस गरेको छ।
  • सिफारिसमा लेखराज भट्ट, डा. दीपक प्रकाश भट्ट, दामोदर भण्डारी र गणेश ठगुन्नाको नाम रहेका छन्।
  • उम्मेदवारहरू लामो समयदेखि पार्टी संगठन र राजकीय पदमा रहेका व्यक्ति हुन्।

धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरू प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्न व्यस्त छन् । सोही क्रममा नेकपा एमालेले सुदूरपश्चिमबाट चार जनाको नाम उम्मेदवारका लागि एकल सिफारिस गरेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार कैलाली–४ बाट लेखराज भट्ट, कञ्चनपुर–३ बाट डा. दीपक प्रकाश भट्ट, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्नाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरी केन्द्रमा पठाइएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारका रूपमा एकल सिफारिस भएका उपमहासचिव लेखराज भट्टले २०२८ सालमा विद्यार्थीकालदेखि नै राजनीतिक जीवन थालेका हुन् । उनी २०३६ सालमा नेकपा (मशाल) र २०५१ मा नेकपा (माओवादी) मा आवद्ध हुँदै जनयुद्धमा होमिएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी सुदूरपश्चिममा माओवादीका एकछत्र नेताजस्तै थिए । २०६४ को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने पराजित भए ।

श्रममन्त्री, विज्ञान तथा प्रविधिमन्त्री र दुई पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका भट्टको राजनीतिक मोड त्यतिबेला बदलियो, जब एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन भयो । माओवादीमा छँदा अध्यक्ष प्रचण्डका दाहिने हात मानिने भट्ट नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बने ।

एमाले प्रवेशसँगै उनले सुदूरपश्चिममा पार्टीको बागडोर हातमा लिए । भीम रावललाई पार्टीभित्र किनारा लगाउन भूमिका खेलेको आरोप पनि उनीमाथि लाग्ने गर्छ । उनी पार्टी सचिव हुँदै अहिले उपमहासचिव बनेका छन् ।

२०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका उनी त्यसबेला कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भए । अहिले फेरि उनी त्यही क्षेत्रमा उम्मेदवारका रूपमा एकल सिफारिस भएका हुन् ।

यस्तै बैतडी जिल्लाको राजनीतिमा एमालेका खम्बा बनेका दामोदर भण्डारी पनि एकल सिफारिस भए । उनको राजनीतिक ग्राफ पनि निरन्तर उकालो लागिरहेको देखिन्छ ।

केन्द्र सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भण्डारी एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन् । २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीको जिम्मेवारी पाएका उनी, २०७९ सालमा छोटो समयका लागि उद्योगमन्त्री बनेका थिए । लगत्तै राजनीतिक समीकरण बदलिएपछि सत्ताबाट बाहिरिएका भण्डारी पुनः २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बने । उनी ०८१ असार ३१ मा चौथो पटक मन्त्री बनेका थिए ।

चुनावी मैदानमा पनि भण्डारीको रेकर्ड लोभलाग्दो छ । उनले बैतडीबाट लगातार तीन पटक जित हात पारिसकेका छन् । २०७० को दोस्रो संविधान सभा, २०७४ को प्रतिनिधि सभा र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी हुँदै उनले संसद् यात्रा तय गरे । एमालेका केन्द्रीय कमिटी सदस्यसमेत रहेका भण्डारीको एकल सिफारिसले बैतडीमा उनको पकड  बलियो छ भन्ने देखाएको धेरैको बुझाई छ । संगठनमा भिजेका र कार्यकर्ता माझ लोकप्रिय भण्डारीलाई यसपटक पनि बैतडीले सर्वसम्मत रूपमा अघि सारेको हो ।

यस्तै दार्चुलाबाट एकल सिफारिसमा परेका गणेश ठगुन्ना एमालेको ग्रासरुट राजनीतिबाट उदाएका नेता हुन् । २०४५ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका ठगुन्ना २०४७ मा मालेको जिल्ला संगठन कमिटी सदस्य हुँदै २०५० देखि लामो समयसम्म एमाले जिल्ला कमिटी सचिवको भूमिकामा रहे ।

स्थानीय तहदेखि केन्द्रसम्मको अनुभव सँगालेका ठगुन्ना २०५४ सालमै दार्चुला जिविस सभापति बनेका थिए । २०७० र २०७४ को निर्वाचनमा लगातार जित हासिल गरेका उनी २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बने ।

एमाले पोलिटब्यूरो सदस्य रहेका ठगुन्नाको विजय यात्रामा २०७९ सालको निर्वाचनले भने ब्रेक लगाइदियो । त्यसबेला उनी कांग्रेसका दिलेन्द्र प्रसाद बडुसँग पराजित हुन पुगे । यद्यपि, हारका बाबजुद जिल्ला पार्टी पंक्तिमा उनको प्रभाव घटेको छैन भन्ने प्रमाण उनको एकल सिफारिस हो । दार्चुलाको भू–राजनीतिक संवेदनशीलता र विकास निर्माणका मुद्दामा खरो उत्रने ठगुन्ना यसपटक पुरानो हारको बदला लिने दाउमा हुनेछन् ।

एकल सिफारिस भएका यी तीन नेता लामो समयदेखि पार्टी संगठन र राजकीय पदमा रहेका ‘क्याडर बेस’ हुन् भने कञ्चनपुर–३ बाट सिफारिस भएका डा. दीपक प्रकाश भट्ट एक फरक र बौद्धिक पृष्ठभूमिका नेता हुन् ।

जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका डा. भट्टको छवि एक प्राज्ञिक तथा कूटनीतिक विज्ञको रूपमा स्थापित छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता रमेश लेखकलाई पराजित गर्दै संसद् प्रवेश गरेका भट्ट आफ्नो ५ वर्षे कार्यकालमा नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहँदा आफूले नेपालको परराष्ट्र नीति, सुरक्षा र विकासका मुद्दामा गहिरो अध्ययन र हस्तक्षेपकारी भूमिका निर्वाह गरेको उनको दाबी छ । विशेषगरी नेपाल वायुसेवा निगमको विमान खरिद अध्ययन, निजगढ विमानस्थल निर्माण अध्ययन र गोर्खा भर्ना सम्बन्धी अध्ययन उपसमितिहरूमा उनको सक्रियता थियो ।

माओवादी सेना समायोजन विशेष समितिको सचिवालयमा प्राविधिक समिति सदस्य रहेर शान्ति प्रक्रियाको जटिल काममा उनले प्रत्यक्ष सहभागिता जनाएका थिए । साथै नेपालको परराष्ट्र नीति पुनरवलोकन उच्चस्तरीय कार्यदलमा पनि उनले सदस्यका रूपमा काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग र द्वन्द्व, शान्ति र विकास अध्ययन विभागमा भिजिटिङ फ्याकल्टीका रूपमा अध्यापन गराउने डा. भट्टले नेपाली सेनाको वार कलेज र स्टाफ कलेज तथा नेपाल प्रहरी प्रतिष्ठानमा समेत सुरक्षा र रणनीतिक विषयमा प्रशिक्षण दिँदै आएका छन् । उनले रिब्यालेन्सिङ एशियाः द बेल्ट एन्ड रोड इनिसिएटिभ एन्ड इन्डो–प्यासिफिक स्ट्राटेजी नामक पुस्तकको सम्पादनसमेत गरेका छन् ।

एमालेको पूर्वकेन्द्रीय सदस्य रहेका भट्टलाई पार्टीले पुनः कञ्चनपुर–३ बाट एकल सिफारिस गरेको छ । कांग्रेसका नेता रमेश लेखकजस्ता प्रतिस्पर्धी रहेको यस क्षेत्रमा डा. भट्टको प्राज्ञिक व्यक्तित्व, विकासप्रेमी छविले कति प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप