पुस्तक समीक्षा : फिर्दोसको साँचो
सारांश
- राजबाबु श्रेष्ठ 'सागर' द्वारा लिखित कथा संग्रह 'फिर्दोसको साँचो' विमोचन भएको छ, जसमा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ।
- कथा संग्रहमा १० वटा कथाहरू छन्, जसमा बोल्न नसक्ने युवतीको कथा, जातीय विभेद, यौन मनोविज्ञान, धार्मिक सद्भाव लगायतका विषयवस्तु समेटिएका छन्।
- पुस्तकले नारीमाथिको दमन, जातीय विभेद, र सामाजिक विसंगति विरुद्ध आवाज उठाउँदै पाठकलाई सामाजिक रूपान्तरणका लागि प्रेरित गर्दछ।
‘फिर्दोसको साँचो’ कथा सङ्ग्रह सपना, आत्मदर्शन र नेपाली समाजको यथार्थ चित्रण गर्ने सशक्त एवं पारदर्शी ऐना हो ।
विसं २०८२ को सुरुवातमै, नयाँ वर्षको चहलपहलबिच वैशाखको पहिलो साता नेपाली आख्यानको दुनियाँमा एउटा महत्त्वपूर्ण कृति प्रकाशित भयो । इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ द्वारा लिखित कथा सङ्ग्रह ‘फिर्दोसको साँचो’ ।
यो पुस्तक बजारमा आउनुपूर्व नै म यसको रसास्वादन गर्न लालायित थिएँ । केही कथाहरू त प्रकाशित हुनुअघि नै पढ्ने अवसर पाएको थिएँ, किनकि कथाकार श्रेष्ठ ‘सागर’ ज्यूसँग मेरो गहिरो आत्मीयता बनिसकेको थियो । तथापि, यो कृतिलाई पुस्तककै रूपमा सुम्सुम्याउँदै पढ्ने मेरो तीव्र इच्छा थियो ।
पुस्तक प्रकाशित भयो, तर म तृप्त हुन सकिनँ । भारतमा रहेकाले पुस्तक हातैमा लिएर पढ्न पाइनँ । जेठ महिनाको अन्त्यतिर म नेपाल जाँदा पनि परिस्थिति यस्तो आइपर्यो कि म काठमाडौँ पुग्न सकिनँ । कृतिकारसँग दाजुभाइका रूपमा भेट्ने र किताब एवं साहित्यका विविध पाटोमा छलफल गर्ने मेरो धोको अधुरै रह्यो । त्यतिबेला स्रष्टा आफैँ पनि कार्यविशेषले उपत्यकाबाहिर हुनुहुन्थ्यो ।
म भारत फर्किँदै गर्दा ‘फिर्दोसको साँचो’ नेपालगन्ज पुगेको खबर राजबाबु दाजुबाटै पाएँ र हर्षित भएँ । तर, नेपालगन्जका पुस्तक पसलहरू चाहर्दा पनि रित्तो हात फर्किनुपर्दा निकै निराश भएँ । अन्ततः विकल्प नभएपछि स्रष्टा दाजुसँग गुनासो पोखेँ । उहाँले भन्नुभयो– ‘चिन्ता नलिनुस्, म पीडीएफ फाइल नै पठाउँछु, त्यही पढ्नुहोस् ।’
यसरी ‘फिर्दोसको साँचो’ खोज्ने मेरो उपक्रम सकियो र ‘साँचो’ प्राप्त गरेपछि कथाभित्र गोता लगाउने काम सुरु भयो । जागिर र मेरो वेब पत्रिका ‘हाम्रो कथाघर’ को व्यस्तताबिच समय निकाल्न केही कठिन भए पनि बिस्तारै पढेर सिध्याएँ ।
कथा सङ्ग्रहमा १० वटा कथा समेटिएका छन्, जसलाई कथाकारले निकै मेहनतका साथ बुनेका छन् ।
- अलिखित कथाः सङ्ग्रहको पहिलो कथाले एउटी बोल्न नसक्ने युवतीको वियोगान्त र बीभत्स यथार्थ उजागर गर्छ । आफ्नै बाबु र समाजका ’प्रतिष्ठित’ भनिनेहरूबाट बलात्कृत ती युवतीको मृत्युपश्चात् उनको आत्माले लेखकसँग संवाद गर्छ । यो कथाले समाजमा व्याप्त क्रूरता र नारीको निरीहतालाई अतियथार्थवादी शैलीमा प्रस्तुत गरेको छ ।
- निर्जलाः यो कथा जातीय विभेद र सामाजिक सङ्कीर्णतामाथि प्रहार गर्छ । ब्राह्मण युवक र दलित युवतीबीचको प्रेम, सामाजिक बहिष्कार र निर्जलाको सङ्घर्ष यसको केन्द्रमा छ । वर्षौंपछि निर्जलाकी छोरी डाक्टर बनेर समाजमा फर्किँदा त्यसले जातीय अहङ्कारलाई जसरी परास्त गर्छ, त्यसले पाठकलाई सकारात्मक क्रान्तिको आभास दिलाउँछ ।
- तिर्खाः यौन मनोविज्ञान र मानवीय तृप्तिमा आधारित यो कथा अलि भिन्न प्रकृतिको छ । पात्र ‘अशोक’ को मानसिक अवस्था र ‘तृप्ति’ नामकी युवतीप्रतिको उसको आसक्तिलाई लेखकले गहिराइमा पुगेर चित्रण गरेका छन् । यसले मानिसको अतृप्त चाहना र त्यसले उत्पन्न गर्ने विचलनलाई देखाएको छ ।
- हिजकिलः धार्मिक र दार्शनिक चेतना बोकेको यो कथाले कोरोना महामारीको समयलाई पृष्ठभूमि बनाएको छ । पौराणिक सन्दर्भ र वर्तमानको सङ्कटलाई मिसाएर लेखकले जीवन र मृत्युको नयाँ भाष्य खडा गरेका छन् ।
- हिदायतः हिन्दु–मुस्लिम सद्भाव र अन्धविश्वास विरुद्धको कथा हो यो । हिन्दु युवक राकेश र मुस्लिम युवती सायराको प्रेममा ‘जादु–टुना’ जस्ता अन्धविश्वासले ल्याउने सङ्कट र अन्ततः सत्यको विजय यसमा देखाइएको छ । ‘हिदायत’ अर्थात् मार्गदर्शन, जुन धर्मभन्दा माथि मानवतामा हुन्छ भन्ने यसको सार हो ।
- खामभित्रको चिठीः यसले वैवाहिक जीवनको अत्यन्तै गोप्य र संवेदनशील पाटो ‘पुरुष नपुंसकता’ लाई उधिनेको छ । एउटा श्रीमान्ले आफ्नी पत्नीको मातृत्वको चाहना पूरा गर्न गरेको जटिल सम्झौता र आत्मत्यागको कथा हो यो ।
- किसोनियाः यो सङ्ग्रहकै सबैभन्दा शक्तिशाली र मधेसी परिवेशको जीवन्त कथा हो । दाइजो प्रथा र ‘छोरा मोह’ का कारण नारीले भोग्नुपर्ने चरम यातना र भ्रूण हत्याको पीडा यसमा छ । रामदयाल जस्तो क्रूर पात्रमार्फत पितृसत्ताको कुरूप अनुहार देखाइएको छ ।
- दागबत्तीः मिर्गौला फेल भएकी पत्नीलाई बचाउन विक्रमले गरेको आर्थिक र मानसिक सङ्घर्षको कथा हो यो । अस्पतालको खर्च र मध्यमवर्गीय परिवारको बाध्यतालाई लेखकले अत्यन्तै भावुक ढङ्गले प्रस्तुत गरेका छन् ।
- हर्षवर्धन र महर्षिः यो कथा पौराणिक र काल्पनिक छ । देवदूतहरू समेत कसरी पृथ्वीको कामवासना र मोहमा फस्छन् भन्ने यसको विषयवस्तु हो । मानिसको उत्पत्ति र स्वर्ग–पृथ्वीको सम्बन्धलाई दार्शनिक दृष्टिकोणबाट व्याख्या गरिएको छ ।
- ओभर स्पिडः सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माले सडक अनुशासन पालना नगर्नेहरूलाई सिकाउने पाठ यसमा कल्पना गरिएको छ । तीव्र गतिको सवारीले निम्त्याउने विनाशप्रति समाजको गैरजिम्मेवारीपनलाई यसले व्यङ्ग्य गरेको छ ।
शिल्पगत विशेषता
- सामाजिक यथार्थवादः सागरले सामाजिक समस्यालाई कतै कठोर यथार्थवादी शैलीमा त कतै आत्मा र अलौकिक शक्तिहरूको सहारा लिएर (अलिखित कथा, ओभर स्पिड) प्रस्तुत गरेका छन् ।
- नारीवादी चेतनाः सङ्ग्रहका धेरै कथाहरूले नारीमाथि हुने दमन, बलात्कार र लैङ्गिक असमानता विरुद्ध आवाज उठाएका छन् । लेखक नारी पात्रको अस्तित्वको खोजीमा संवेदनशील देखिएका छन् ।
- परिवेश र भाषाः मधेसको देहातदेखि काठमाडौँको व्यस्त सडकसम्मको परिवेशलाई लेखकले न्याय गरेका छन् । विशेष गरी ‘किसोनिया’ मा प्रयोग गरिएको स्थानीय लवजले कथालाई मौलिक बनाएको छ ।
- दार्शनिक पक्षः कुरान, हदीस र पौराणिक सन्दर्भहरूलाई आधुनिक कथाको ढाँचामा ढालेर नयाँ प्रयोग गरिएको छ, जसले कृतिको गरिमा बढाएको छ ।
दुर्बल पक्षहरू
सपना, आत्मा र यथार्थको मिश्रणले कथाहरूलाई अन्त्यसम्म रोचक बनाएका छन् । झन् स्थानीय लवजले त पुस्तकलाई विशिष्ट स्वादसहित पाठकमाझ पस्केको छ । तर, अति–हिंसाको चित्रणले पाठकलाई असहज बनाइदिन्छ ।
समाजमा पर्ने प्रभाव
यो पुस्तकले समाजमा छोरीप्रतिको सम्मान बढाउन, जातीय विभेद हटाउन र धार्मिक सद्भाव फैलाउन प्रेरणा दिन्छ । यसले पाठकलाई सामाजिक विसङ्गति विरुद्ध सोच्न बाध्य पार्छ । यद्यपि, समाजको अँध्यारो पाटोलाई उदाङ्गो पार्दा कमजोर मानसिकता भएका पाठकमा केही निराशा उत्पन्न हुन सक्छ, तर साहित्यले ऐना देखाउने काम गर्ने हुँदा यसलाई सत्यको स्वीकारोक्तिका रूपमा लिनुपर्छ ।
अन्ततः, भारतदेखि नेपालगन्जसम्मको मेरो ‘फिर्दोसको साँचो’ खोज्ने यात्रा सार्थक भएको छ । यो साँचोले मेरा धेरै वैचारिक ढोकाहरू उघारिदिएको छ । यति सशक्त र मर्मस्पर्शी कथाहरूका लागि कथाकार राजबाबु श्रेष्ठ ‘सागर’ दाजुलाई हार्दिक बधाई तथा शुभकामना !
(हालः जालन्धर, भारत)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण