बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रजत महोत्सवको उमङ्ग : मेची-महाकाली झण्डा मार्चदेखि समाजसेवासम्म सशस्त्र प्रहरीको सक्रियता

शनिबार, २६ पुस २०८२, १५ : ५२
शनिबार, २६ पुस २०८२

सारांश

  • सशस्त्र प्रहरी बलले आफ्नो २५औँ स्थापना दिवस मनाइरहेको छ, जसअन्तर्गत देशभर विविध कार्यक्रमहरू भइरहेका छन्।
  • मेची र महाकालीबाट सुरु भएको झण्डा मार्च माघ ७ गते पर्साको ठोरीमा समापन हुनेछ, जहाँ विशेष समारोह आयोजना गरिनेछ।
  • सशस्त्र प्रहरीले विपन्न परिवारलाई खाद्यान्न, न्यानो कपडा वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरेको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाको २५औँ वर्ष अर्थात् 'रजत महोत्सव' देशभर भव्यताका साथ मनाइरहेको छ। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसर पारेर बलले सीमा सुरक्षा, सामाजिक सेवा, जनचेतना र खेलकुदका विविध कार्यक्रमहरू सञ्चालन गरेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा पौष २० गतेदेखि झापाको मेची पुल र कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको 'पूर्व–पश्चिम झण्डा मार्च' यतिबेला देशको मध्यभागतिर अघि बढिरहेको छ।

5

मेची र महाकालीबाट निकालिएका झण्डा मार्च टोलीहरू विभिन्न बाहिनीहरू पार गर्दै आगामी माघ ७ गते पर्साको ठोरीस्थित बोर्डर आउट पोष्टमा भेट हुनेछन्। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा ठोरीमा विशेष समारोहका बीच यो मार्चको समापन गरिनेछ। यसै क्रममा शनिबार हल्चोकस्थित एपीएफ रङ्गशालामा सशस्त्र प्रहरी अधिकृत र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत सम्पन्न भएको छ। महानिरीक्षक अर्याल र सञ्चारकर्मी दीपक रिजालको कप्तानीमा भएका टोलीहरूबीचको यो खेलले नागरिक र सुरक्षा निकायबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

6

उत्सवलाई समाजसेवासँग जोड्दै सशस्त्र प्रहरीले देशका विभिन्न भागमा विपन्न र अशक्त परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ। झापाको कमल गाउँपालिका र तनहुँको भानु नगरपालिकामा एकल तथा असहाय महिलाहरूलाई राहत प्रदान गरिएको छ भने पाँचथरमा विपन्न परिवारका लागि घर निर्माण कार्य समेत सुरु गरिएको छ। सुर्खेतको प्रशान्ति वृद्धाश्रममा खाद्यान्न वितरणसँगै वृद्धवृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। यस्तै, ताप्लेजुङमा कारागारका बन्दीहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

8 (3)

जनचेतना अभिवृद्धिका लागि सशस्त्र प्रहरीले विद्यालय र सार्वजनिक स्थलहरूलाई केन्द्रित गरेको छ। इलाम, मोरङ, तनहुँ, कास्की, पर्वत र दाङ लगायतका जिल्लामा लागूऔषध दुर्व्यसन, सीमा सुरक्षा, आगलागी नियन्त्रण र शीतलहरबाट बच्ने उपायबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको छ। काठमाडौँको पशुपति क्षेत्र, भक्तपुर र गुल्मीमा सडक नाटकमार्फत सामाजिक विकृति विरुद्ध सन्देश प्रवाह गरिएको छ। स्याङ्जा र कैलालीका विकट क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा समेत सशस्त्र प्रहरीको योगदान देखिएको छ। पर्साको दुर्गामाई मन्दिर, हेटौँडाको सन्तानेश्वर महादेव धाम, पशुपतिनाथ मन्दिर परिसर र बाराको सहजनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरीले सरसफाइ अभियान चलाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप