कांग्रेस विशेष महाधिवेशनले निम्त्याएका चुनौती एवं अवसरहरू
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदैछ, पार्टीभित्रको विवादका बाबजुद यसले पार्टीलाई मजबुत बनाउने आधार देखाएको छ।
- युवा पुस्ताको मागलाई सम्बोधन गर्न र पार्टीलाई नयाँ दिशा दिन आवश्यक रहेको बताइएको छ।
- अधिवेशनमा पार्टी नेतृत्व परिवर्तन र चुनावमा पुरानै शैलीलाई निरन्तरता दिने विषयमा बहस भइरहेको छ।
अहिले देशको सबैभन्दा ठुलो र लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद र अन्तर्द्वन्द्वबिच काठमाडौंमा सम्पन्न हुन गइरहेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा हुँदै गरेको यो विशेष अधिवेशनले पार्टी टुक्रिन्छ वा पार्टी समाप्त हुन्छ भन्ने धेरैलाई लागेको थियो । तर अधिवेशनको उद्घाटनको दिन आउँदासम्म यसले पार्टीलाई अझ मजबुत, सशक्त, समयसापेक्ष, परिमार्जित र ऊर्जाशील बनाउने बलिया आधारहरू देखापरेका छन् ।
वास्तवमा जेनजी युवाहरूको मागलाई सम्बोधन गर्न र उनीहरूका अपेक्षा तथा आकांक्षालाई समेट्न फागुन २१ को आमनिर्वाचनमा जानुअघि नै पार्टीलाई एउटा नयाँ दिशानिर्देश गर्नु र परिमार्जित गर्दै लैजानु जरुरी थियो । संस्थापन पक्षमा रहेका पार्टी सभापति, कार्यवाहक सभापति लगायत कतिपय वरिष्ठ नेताहरूले नचाहँदा, नचाहँदै पनि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको माग र क्रियाशीलताका कारण विशेष अधिवेशन आखिर भएरै छोड्यो ।
वास्तवमा भदौ २३, २४ को जेनजी आन्दोलन विद्रोहपछि सिंगै देश दुई ध्रुवमा विभाजित भएको अवस्था थियो । यसअघि देशको सामाजिक, राजनीतिक क्षेत्रका समस्या तथा मुद्दाहरूमा खासै चासो नदेखाउने गरेका नेपाली नवयुवाहरूले यसपालि भ्रष्टाचार, सामाजिक बेथिति, नातावाद एवं विद्यमान राजनीतिक अन्योलका विरोधमा आवाज बुलन्द मात्र गरेनन्, किन्तु आफ्नो अमूल्य जीवनको समेत आहुति दिए । उनीहरूले देशमा व्याप्त भ्रष्टाचार तथा सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी कदमको विरोधमा उठाएको आवाज क्षणिक आवेश जस्तो देखिए तापनि त्यो सामाजिक बेथिति, अपारदर्शिता तथा राजनीतिक उदासीनताका विरोधमा अनि सुशासन, पारदर्शिता र सामाजिक परिवर्तनका पक्षमा लामो समयदेखि उनीहरूका मन, मस्तिष्कमा भित्रभित्रै बल्दै गरेको विद्रोहको ज्वालाको विस्फोट थियो ।
देशमा प्रजातन्त्र स्थापना भयो, लोकतन्त्र आयो, अनि गणतन्त्र पनि आयो तर सामान्य जनताको जीवनस्तरमा अपेक्षाकृत सुधार आउन सकेको थिएन । युवाहरू दिनहुँ हजारौंको संख्यामा विदेशमा रोजगारीका निम्ति अनेक खतरा मोलेर जान बाध्य थिए । एकातिर गरिबी, बेरोजगारी र बेथितिको भयावह अवस्था थियो भने अर्कोतर्फ केही नेता तथा प्रभावशाली व्यक्तिहरूले भ्रष्टाचार र अनियमितता गरी प्रशस्त रूपमा आर्जन गरेका धनसम्पत्तिमा उनीहरूका सन्तानहरूले ऐय्यासी र विलासिताको जीवन बिताइरहेका थिए । यसप्रकारको विसंगति र विरोधाभासपूर्ण स्थितिका विरुद्ध चेतनशील युवाहरूले सामाजिक सञ्जालमार्फत नेपो किड्स वा नेपो बेबीका आन्दोलन पनि चलाइरहेका थिए केही समयदेखि । तर सरकारले उनीहरूले उजागर गरेका समस्यालाई सम्बोधन गर्नुका साटो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाई आवाज नै दबाउने कुचेष्टा गरेको कारण पनि यसरी अचानक विस्फोटक स्थिति बनेको हो ।
नेपाली कांग्रेसमा हप्तौंदेखि एउटा बहस चलिरहेछ, पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर चुनावमा जाने कि पुरानै पुस्ताको नेतृत्वमा चुनाव लड्ने, जेनजी आन्दोलनका माग तथा आकांक्षालाई सम्बोधन गर्दै पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्ने कि पुरानै शैली र परम्परागत पद्धतिलाई कायमै राखेर चुनाव लड्ने भन्ने । वास्तवमा यो विशेष महाधिवेशन पक्षधरहरूले कांग्रेसले पार्टीमा आमूल परिवर्तनको आवश्यकतालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको मान्नुपर्छ । विगतका भ्रष्ट तथा गन्हाएका अनुहारलाई लिएर चुनावमा जान सकिन्न भन्ने ठुलो जमात जुन कांग्रेसमा छ, जसको दबाबबाट नै विशेष महाधिवेशन सम्पन्न हुने परिस्थितिको निर्माण हुन सकेको हो ।
वर्तमान अवस्थामा नेकपा एमाले लगायतका अन्य वामपन्थी पार्टीभन्दा आफूलाई भिन्न र प्रजातान्त्रिक संस्कारले युक्त पार्टीका रूपमा देखाउने कि तिनीहरूकै पदचाप पछ्याएर अघि बढ्ने भन्ने दुई विकल्प कांग्रेस पार्टीसामु हाल देखापरेको छ । कांग्रेस विगतमा संसदीय अंकगणितको हिसाब गरेर येनकेन प्रकारेण अप्राकृतिक गठबन्धन गरेर सत्ताको नजिक त पुग्न सक्यो तर जनताको हृदयमा बस्न सकेन । एमालेसँग गठबन्धन गरेको फलस्वरुप कांग्रेसले जेनजी विद्रोहको समयमा आफ्नो हात कलिला विद्यार्थीहरूको रगतले लत्पतिएको पाउँदा पनि कतिपय कांग्रेसी नेताहरूमा अझै पनि चेतना पलाएको देखिएन । तर वर्तमान समय र परिस्थितिको उचित मूल्यांकन गर्ने अधिकांश कांग्रेसीजनहरूमा आगामी चुनावमा कुनै अन्य दलसँग गठबन्धन गरेर जानुहुँदैन आफ्नै बलबुतामा चुनाव लड्नुपर्छ भन्ने धारणा प्रबल रूपमा देखा परेको छ, जसको कारण पनि यो विशेष महाधिवेशनको पक्षमा माहोल बनेको हुनुपर्छ ।
अबको समयमा नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टीले आफ्नो छवि सुधार्न कुनै कसर बाँकी राख्नुहुँदैन । आउँदो निर्वाचनमा नयाँ, युवा, योग्य, दक्ष एवं स्वच्छ छवि भएका उम्मेदवारहरू दिन सकेको खण्डमा सो पार्टीले अन्य परम्परागत पार्टीका तुलनामा राम्रो नतिजा ल्याउन कठिन छैन ।
यथास्थितिमा चुनाव जानु कांग्रेसको निम्ति आत्मघाती सिद्ध हुने कुरा घाम जस्तै छर्लङ्ग भइसकेको छ । हतारमा यथास्थितिको अवस्थामा चुनावमा गएको खण्डमा कांग्रेसको निम्ति पछि फुर्सदमा पछुतो गर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।
जेनजी आन्दोलनले कांग्रेसका सामु चुनौती र समस्याहरू मात्र खडा गरेको छ भनी ठान्नु वास्तवमा पराजित मानसिकता, निराशावादी दृष्टिकोण वा नकारात्मक सोचको उपजभन्दा अरू केही हुन सक्दैन । यो नयाँ परिस्थितिले कांग्रेसका निम्ति चुनौतीका साथै नयाँ अवसर र आशाका किरणहरू पनि उजागर गरेको छ । कुनै पनि राजनीतिक पार्टीको सफलता त्यसले समस्या तथा चुनौतीहरूलाई कसरी विश्लेषण गर्छ, त्यसबाट पार पाउन के कस्ता कार्यक्रम तथा रणनीतिहरू अख्तियार गर्छ भन्ने कुरामा निर्भर गर्दछ । यदि समस्याबाट पर भाग्ने हो र यथास्थितिमा नै रमाइरहने हो भने वर्तमान अन्योल र अनिश्चितताको स्थितिबाट पार पाउन असम्भव हुन्छ ।
जनताले वर्तमान परिस्थितिमा पुराना तथा नयाँ उदीयमान शक्तिहरूका क्रियाकलापहरूलाई बडो सूक्ष्म रूपले एवं अत्यन्त चासोका साथ अवलोकन गरिरहेका छन् । यदि हालैका दिनहरूमा नयाँ राजनीतिक शक्तिहरूप्रति जनताको आकर्षण बढेको छ भने त्यो परम्परागत शक्तिहरूको दिवालियापन, यथास्थितिवादी छवि र भ्रष्ट एवं गैरजिम्मेवार आचरण र गतिविधिका कारण नै हो । नयाँ उदाउँदा शक्तिहरू पनि दूधले धोएको वा शतप्रतिशत स्वच्छ र त्यति भरपर्न लायकका भइसकेका छैनन् । उनीहरूमा योग्यता, जोश, जाँगर तथा केही नयाँपन भए तापनि अनुभवको कमी हुनुका साथै उनीहरू दक्षताको हिसाबले त्यति खारिएका छैनन् ।
अबको समयमा नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टीले आफ्नो छवि सुधार्न कुनै कसर बाँकी राख्नुहुँदैन । आउँदो निर्वाचनमा नयाँ, युवा, योग्य, दक्ष एवं स्वच्छ छवि भएका उम्मेदवारहरू दिन सकेको खण्डमा सो पार्टीले अन्य परम्परागत पार्टीका तुलनामा राम्रो नतिजा ल्याउन कठिन छैन । प्रजातान्त्रिक पार्टी केवल नामले मात्र प्रजातान्त्रिक भएर पुग्दैन, चरित्र र व्यवहार पनि प्रजातान्त्रिक हुनु जरुरी छ । यस विशेष अधिवेशनले पार्टीको प्रजातान्त्रिक छविमा सुधार ल्याउन अवश्य पनि मद्दत पुग्ने देखिन्छ ।
यस अधिवेशनलाई पार्टीबाट विगतको संयुक्त सरकारमा रहँदाको अवस्थामा के कस्ता कमी, कमजोरीहरू भए, पार्टीको नेतृत्व तहबाट के कस्ता त्रुटिहरू भए र सरकारमा सहभागी भएका व्यक्तिहरूबाट जनअपेक्षा बमोजिम कामहरू किन हुन सकेन भन्ने कुराको राम्ररी विश्लेषण, समीक्षाका साथै आत्मालोचना गर्ने अवसरका रूपमा उपयोग गर्न सकेको खण्डमा विशेष अधिवेशन उपलब्धिमूलक नै हुने देखिन्छ । लामो प्रजातान्त्रिक छवि भएको र प्रजातन्त्रका निम्ति गरिने विगतका हरेक आन्दोलनमा नेतृत्वकारी भूमिका निभाउँदै आएको कांग्रेस पार्टी सहभागी भएको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने जस्ता अप्रजातान्त्रिक गतिविधि हुँदा त्यसलाई मौन सम्मति दिन के ले बाध्य बनायो भन्ने र गृहमन्त्री जस्तो जिम्मेवार पदमा हुँदा कलिला केटाकेटीहरूमाथि घातक हतियारद्वारा बल प्रयोग गर्ने कार्य कसरी हुन गयो भन्ने जस्ता प्रश्नका बारेमा पनि विशेष महाधिवेशनको मञ्चमा छलफल हुनु जरुरी छ । साथै विशेष अधिवेशनले पार्टीको नेता तथा नीतिका बारेमा पनि समयोचित छलफल गरी स्पष्ट खाका तयार पार्ने अपेक्षा राख्न सकिन्छ ।
अन्त्यमा, यस्तो जटिल र संवेदनशील परिस्थितिमा पनि महाधिवेशन गराउन डटेर लागिपर्ने महामन्त्रीद्वयलाई बधाई र साधुवाद दिनैपर्ने हुन्छ । यस महाधिवेशनमा कस्ता, कस्ता मै हुँ भन्ने नेताहरू पनि किंकर्तव्यविमूढ जस्तो भई टोलाएर न यता न उताको स्थितिमा बस्न बाध्य बनेको पनि देखियो । नेताको मूल्यांकन र पहिचान यस्तै जटिल परिस्थितिको अवसरमा हुने हो । महाधिवेशनको बाढीले कतिलाई बगाउने हुन्, हुरीले कतिलाई बढार्ने हुन् र कतिलाई वैतरिणी तारिदिने हुन् त्यो आगामी दिनहरूमा स्पष्ट हुने नै छ, अस्तु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण