गगनको विद्रोह, कार्यकर्तामा ‘आशा’
सारांश
- काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भयो, जसमा नयाँ पुस्ताले नेतृत्व परिवर्तनको माग गरेको छ।
- महाधिवेशनमा युवा पुस्ताको बाक्लो उपस्थिति रह्यो, जसले पार्टी सुधार र गगन थापालाई नेतृत्वमा हेर्न चाहेको बताए।
- संस्थापन पक्षको विरोधका बाबजुद, महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान छ, जसले पार्टीभित्र परिवर्तनको संकेत गर्छ।
काठमाडौँ । आइतबार भृकुटीमण्डपको प्राङ्गणमा एउटा फरक दृश्य थियो । नेपाली कांग्रेसको इतिहासमा यसअघि धेरै अधिवेशन भए, धेरै नारा लागे । तर आइतबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको यो ‘दोस्रो विशेष महाधिवेशन’ केवल एउटा राजनीतिक कार्यक्रम मात्र थिएन, यो त एउटा पुस्ताले अर्को पुस्तासँग मागेको आफ्नो भविष्यको हिसाब–किताब थियो । पार्टीको संस्थापन पक्षले यसलाई ‘अवैधानिक’ भनिरहँदा, विधानको धारा १७ (२) को आधार देखाउँदै आएका कार्यकर्ताको आँखामा भने एउटा छुट्टै चमक थियो ‘रुपान्तरण’को चमक ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरु भएको थियो । आयोजकहरूका अनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ । उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।
'समय फेरियो अब गगन नै हुन नेता’
विशेष महाधिवेशनको मञ्च पछाडिको एक कुनामा काभ्रेकी नानी माया चौलागाईं उभिइरहेकी थिइन् । उनले कांग्रेसका कति वटा उतारचढाव झेले, त्यसको लेखाजोखा उनीसँग मात्र छ । ३० वर्षभन्दा बढी समय कांग्रेसको झण्डा बोकेर हिँडेकी नानी माया आज कसैको करकापमा होइन, आफ्नै गोजीको पैसा खर्चेर काठमाडौँ ओर्लिएकी हुन् ।
'हामीले राष्ट्रियता भन्यौँ, प्रजातन्त्र भन्यौँ र बूढो भइन्जेल शेरबहादुर देउवालाई पनि नेता मानेरै हिँड्यौँ,’ गदगद हुँदै उनले भनिन्, ‘तर अब समय फेरियो, अब हामीलाई गगन थापा चाहिएको छ ।’
उनको पीडा केवल राजनीतिक थिएन, पारिवारिक पनि थियो । उनले सुनाइन् कि कसरी घरभित्रै नयाँ पुस्ताले प्रश्न गरिरहेको छ । ‘छोराछोरीले भन्छन् आमा, अझै कति देउवाकै पछि लाग्नुहुन्छ ? अब गगन थापा जस्तालाई नेता नबनाउने हो भने हामी त घण्टी (रास्वपा) मा भोट हाल्छौँ ।’ नानीमायाका यी शब्दले कांग्रेसको वर्तमान संकटलाई प्रस्ट ऐना देखाउँथ्यो । गाउँ–गाउँमा कांग्रेसका पुराना कार्यकर्ताले आफ्नै सन्तानका अगाडि भोग्नुपरिरहेको ‘अपमान’ र त्यसबाट मुक्ति पाउने अन्तिम आशाको त्यान्द्रो नै यो विशेष महाधिवेशन भएको उनको तर्क छ ।

जेनजीको ‘उकुसमुकुस’
महाधिवेशनको अर्को रोचक र उत्साहजनक पाटो थियो युवाहरूको बाक्लो उपस्थिति । चितवनका सागर शर्मा जेनजी पुस्ताका प्रतिनिधि हुन् । उनीसँग महाधिवेशनमा मत हाल्ने अधिकार छैन, तर उनीसँग आफ्नो पार्टी सुध्रिएको हेर्ने प्रवल इच्छाशक्ति छ ।
‘मेरा हजुरबुबाका पालाका नेताहरू अहिले पनि कुर्सीमा छन् । के हामीले अझै पनि उनीहरूलाई नै ढोगिरहनुपर्ने ?’ सागरको यो प्रश्न केवल उनको होइन, उनीसँगै आएका १५–१६ जना युवा साथीहरूको साझा आक्रोश थियो । पार्टीभित्र विचारको खडेरी र नेतृत्वको जडताले गर्दा यो पुस्ता ‘उकुसमुकुस’ मा थियो । सागर भन्छन्, ‘गगन दाइले हाम्रो त्यो उकुसमुकुसलाई सम्बोधन गर्नुभयो, त्यसैले हामी यहाँ ऐक्यबद्धता जनाउन आएका हौँ ।’
त्यस्तै उत्साह धनकुटाकी सुम्निमा राईमा पनि देखिन्थ्यो । आरआर क्याम्पसमा पढ्दै गरेकी सुम्निमालाई लाग्छ, अब पनि नेतृत्व फेरिएन भने कांग्रेसको नाम सुन्ने मान्छे पनि बाँकी रहने छैनन् । ‘आज यहाँ जुन माहोल देखियो, यसले फेरि एकपटक कांग्रेस ब्युँझिने आशा जगाएको छ,’ उनले भनिन्, ‘हामीलाई अहिले पद र प्रतिष्ठा केही चाहिँदैन, गगन थापा सभापति भइदिए पुग्छ ।’
डर र आशाको दोसाँधमा ‘हस्ताक्षर’
महाधिवेशनको भित्री दृश्य अझै रोचक थियो । बाहिर गगन–विश्वप्रकाशको जयजयकार भइरहँदा भित्र भने ‘रणनीतिक पर्खाइ’ को खेल पनि चल्दै थियो । कतिपय यस्ता महाधिवेशन प्रतिनिधिहरू थिए । जो दिनभरि तमासा हेरेर बसे र साँझ परेपछि मात्र विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न आइपुगे ।
उपत्यकाकै एक मेयर, जो संस्थापन पक्षका मानिन्थे, उनले साँझ अबेर मात्र हस्ताक्षर गरे । उनले भने, ‘सुरुमा म अलमलमा थिएँ । कति जना खुल्छन् भनेर हेरिरहेको थिएँ । तर जब जनलहर देखियो र ६० प्रतिशत प्रतिनिधि पुग्ने निश्चित भयो, तब मैले पनि हस्ताक्षर गरेँ ।’
ती मेयरका अनुसार अझै धेरै प्रतिनिधिहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । उनीहरूलाई डर छ –कतै यो विशेष महाधिवेशन सफल भएन भने भोलि शेरबहादुर देउवा पक्षले चुनावमा टिकट नदेला कि ? तर जब बहुमतको सुनिश्चितता हुँदै गयो, तब ती डरहरू बिस्तारै आशामा परिणत हुन थालेका छन् । महाधिवेशनमा सहभागीहरू भन्छन्, ‘कांग्रेसभित्र परिवर्तनको ज्वाला भित्रभित्रै सल्किइसकेको छ, मात्र त्यसलाई औपचारिक रूप लिन बहुमतको बल चाहिएको छ ।’
फुटको डर कि नयाँ सुरुवात ?
काठमाडौँका सुमनराज कायस्थको मनमा भने एउटा गहिरो चिन्ता पनि छ । उनी गगन थापाको भिजनको प्रशंसक त हुन्, तर उनलाई पार्टी फुट्ने डरले पनि सताएको छ । ‘देउवालाई बोकेर कांग्रेस अब अगाडि बढ्न सक्दैन, यो सत्य हो । तर पार्टी फुट्यो भने प्रजातान्त्रिक आन्दोलनलाई ठुलो घाटा लाग्छ,’ उनले भने ।
तर नेपाल तरुण दलका सन्तोष तामाङ भने अब पछाडि हट्ने ठाउँ नरहेको तर्क गर्छन् । ‘जेनजी आन्दोलनमा उत्रिँदा, युवाहरूको पिटाइ खाँदा पनि नपुग्ने नेतृत्व अब चल्दैन,’ उनले भने, ‘५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्दा पनि नमान्ने हो भने यो महाधिवेशन नै आधिकारिक हुन्छ ।’
चन्द्र भण्डारी र सुनिल शर्माः सेल्फी र सुझावको घेरामा
महाधिवेशनको आकर्षणको केन्द्रमा दुई ‘डाक्टर’ नेताहरू डा. चन्द्रकान्त भण्डारी र डा. सुनिल शर्मा पनि थिए । उनीहरू मञ्चमा प्रवेश गर्दा कार्यकर्ताको भिडले उनीहरूलाई यसरी घेर्यो कि स्वयंसेवकहरूलाई हम्मे–हम्मे पर्यो ।
कार्यकर्ताहरू उनीहरूसँग सेल्फी खिच्न मात्र होइन, नेतृत्व परिवर्तनको एजेन्डाबाट पछि नहटाउन दबाब दिन पनि झुम्मिएका थिए । ‘नेताज्यू, अब चाहिँ खुट्टा नकमाउनुस्, हामी तपाईंहरूको साथमा छौँ,' एक कार्यकर्ताले डा. चन्द्र भण्डारीको हात समातेर भावुक हुँदै भनिरहेका थिए । उनीहरू दुवै नेतालाई कार्यक्रम सकिएपछि सुरक्षाकर्मी र स्वयंसेवकले स्कर्टिङ गरेर बाहिर निकाल्नुपरेको थियो ।
साँझसम्मै चहलपहल
साँझ ढल्दै गर्दा भृकुटीमण्डपको चहलपहल घटेको थिएन । प्रतिनिधि दर्ता शुल्क बुझाउनेहरूको लाइन लामै थियो । ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकको दाबीले संस्थापन पक्षलाई ठुलो दबाब दिएको छ । ‘यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको लडाइँ होइन, यो त पुराना ढर्राका नीति र संरचनालाई भत्काएर नयाँ कांग्रेस निर्माण गर्ने संकल्प पनि हो । सोमबारको बन्द सत्रले लिने निर्णयले नेपाली कांग्रेस मात्र होइन, नेपालको समग्र राजनीति कुन दिशामा जान्छ भन्ने कुरा तय गर्नेछ,’ साँझमा लाइनमा बसेका एक महाधिवेशन प्रतिनिधिले भने ।
आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका तस्बिरहरू




_AqZ4r0YVh2.jpg)
_KKTF9P0J2Z.jpg)
_nec8y8AvkL.jpg)
_2LAoobXJ9E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण