बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जसपा–लोसपा एकीकरण : जसलाई गाली गर्छन्, फेरि उसैसँग मिल्छन्

सोमबार, २८ पुस २०८२, १७ : ००
सोमबार, २८ पुस २०८२

सारांश

  • जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकता भएपछि मधेसमा मिश्रित प्रतिक्रिया आएको छ।
  • विभिन्न नेताहरूले यो एकता सत्ता स्वार्थका लागि भएको र दिगो नहुने आशंका व्यक्त गरेका छन्।
  • वरिष्ठ पत्रकार र युवा अभियन्ताहरूले मधेसवादी दलहरूको एकतालाई लिएर आ-आफ्ना विचार राखेका छन्।

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएसँगै मधेसमा मिश्रित प्रतिक्रिया आउन थालेको छ ।

आइतबार दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरण भएको घोषणा गरेसँगै कतिपयले यो एकता दिगो हुनेमा आशङ्का व्यक्त गरेका छन् भने कतिपयले स्वागत गरेका छन् ।

विगतमा पनि यस्ता एकता भएको जिकिर गर्दै एकथरीले सत्ता स्वार्थका कारण दल विभाजन हुँदै आएको स्मरण गराएका छन् । त्यसैले अहिलेको एकता पनि कति दिगो हुन्छ भन्ने ठेगान नभएको उनीहरूको तर्क छ । हुन पनि चुनावको बेला विभिन्न दल मिल्ने, आफ्ना सत्ता स्वार्थका लागि एक भएर चुनाव लड्ने, तर चुनाव सकिएपछि फेरि मत नमिल्दा विभाजन हुने परिपाटी दोहोरिँदै आएको छ ।

वरिष्ठ पत्रकार अजय झाले मधेसवादी शक्ति एकीकृत हुनु राम्रो सङ्केत रहेको बताए ।

जनकपुरधामका युवा अभियन्ता सरोज कुमार मिश्र (मास) मधेसी दल वा कथित मधेसवादी दलहरू सत्ता स्वार्थकै आधारमा मिल्ने र फुट्ने उदाहरण विगतमा कैयौँ पटक झेलिसकेको बताउँछन् । ‘मिल्नु र फुट्नु यिनीहरूको संस्कारजस्तै भइसकेको छ,’ उनले भने, ‘आफ्नो स्वार्थ र सत्ता बचाउन यिनीहरू जे पनि गर्न तयार हुन्छन् ।’

अहिले जसपा नेपाल र लोसपा नेपालबिच भएको एकता कुनै परिवर्तन वा मधेसी मुद्दाका लागि केन्द्रित नरहेको मिश्रको भनाइ छ । उनले कुशासन र भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनले नेतृत्व परिवर्तनको विषयलाई निकै महत्त्वका साथ स्थापित गरेको बताए । तर जसपा–लोसपाको एकीकरणले नेतृत्वमा कुनै परिवर्तन नदेखाएको उनको तर्क छ । ‘जबसम्म युवाहरूलाई समावेश गर्ने बाटो बन्दैन, दुवैको एकीकरणबाट मधेसी जनतालाई फाइदा हुँदैन,’ उनले भने ।

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग उठेसँगै नेपाली कांग्रेस, नेकपा एमाले लगायत सबैजसो पुराना दल डराएको मिश्रले बताए । ‘जनतामा हाम्रो उपस्थिति घट्ला कि भनेर सबैजसो दल त्रसित छन् । त्यसैले जसपा नेपाल र लोसपा नेपाल पनि अहिलेको प्रतिकूल अवस्थामा केही सिट बढ्ला कि भन्ने सोचले एक भएका हुन्,’ उनले भने, ‘तर यो निर्वाचनको परिणाम अपाच्य हुन सक्छ । युवाहरूले पुराना कुनै पनि दललाई मत नदिई परिवर्तन खोज्ने सम्भावना छ ।’

वरिष्ठ पत्रकार अजय झाले मधेसवादी शक्ति एकीकृत हुनु राम्रो सङ्केत रहेको बताए । मधेसका जनतालाई संस्थागत गर्न यी दुई दलको प्रमुख भूमिका रहँदै आएको जिकिर गर्दैै उनले सुरुदेखि विभिन्न आन्दोलन, संघर्ष र संविधान निर्माणको बेलासम्म मधेसका एजेन्डाका लागि यी दलहरूले आवाज उठाएको प्रस्ट पारे ।

निर्वाचन क्षेत्र पुनरवलोकन, पुनर्मुल्याङ्कन जस्ता माग दुवै दलले उठाएको झाको भनाइ छ । ‘कतिपय माग र मुद्दा साझा भएकै कारण यी दल सकारात्मक सोचका साथ एक भएका छन्,’ उनले भने, ‘विगतमा जे भयो, त्यसलाई अहिले नकेलाऔँ, तर अब सतर्कता अपनाउनुपर्छ । एक भएर मधेसी जनताका मुद्दा उठाउनुपर्छ ।’

‘समाजमा यो मिलनले न जनतालाई विशेष खुसी दिएको छ, न दुःखी,’ उनले भने, ‘जनताले बुझिरहेका छन् । जसलाई गाली गर्छन्, फेरि उसैसँग मिल्छन् ।’

जेनजी पुस्ताको आन्दोलनपछि आएको परिवर्तनको चाहनालाई यी दलले कति संरक्षण गर्न सक्छन् भन्ने प्रश्न महत्त्वपूर्ण रहेको झाले बताए । ‘जनमत संरक्षण गर्न सक्छन् कि सक्दैनन्, यही परीक्षण हुनेछ,’ उनले भने, ‘यदि सीके राउतको पार्टी र रेशम चौधरीको पार्टी पनि एक ठाउँमा आए भने मधेसमा राम्रो सन्देश जान सक्छ र सिट सङ्ख्या बढ्न सक्छ ।’

जेनजी आन्दोलनका कारण पुराना पार्टीहरूको अवस्था कमजोर हुन सक्छ भन्ने संकेत प्रस्ट रूपमा देखिएको उनी पनि स्विकार्छन् ।

युवा साहित्यकार नित्यानन्द मण्डल मधेसी दलमात्र नभएर अन्य दल पनि फुट्दै आएको तर्क गर्छन् । ‘नेपालमा सबैभन्दा धेरै फुट्ने कम्युनिस्टहरू हुन् । फुट्ने–जुट्ने, आउने–जाने प्रक्रिया दशकौँदेखि चल्दै आएको छ । दलहरूको गठन प्रक्रिया नै यस्तै छ,’ उनले भने, ‘सत्ता र चुनावका लागिमात्रै एकता हुन्छ । एकै खालको कपडा लगाउँदैमा मन पनि मिलेको छ भनेर बुझ्न हुँदैन ।’

उनले मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी मनोनयनका क्रममा देखिएको फाटोले सबै प्रस्ट गरिसकेको बताउँदै सानोतिनो स्वार्थ नमिल्नासाथ फेरि दुई टुक्रा नहोला भन्न नसकिने बताए । ‘समाजमा यो मिलनले न जनतालाई विशेष खुसी दिएको छ, न दुःखी,’ उनले भने, ‘जनताले बुझिरहेका छन् । जसलाई गाली गर्छन्, फेरि उसैसँग मिल्छन् ।’

विशेषज्ञहरूले जुनसुकै किसिमका प्रतिक्रिया दिए पनि मधेसवादी दलहरूको मिलनलाई जनमानसले सकारात्मक रूपमा लिएको देखिन्छ । विभाजित राजनीतिक शक्तिहरू एकीकृत भएमात्र मधेसको मुद्दा प्रभावकारी रूपमा उठ्न सक्ने विश्वास जनस्तरमा बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप