बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

विशेष महाधिवेशनबाट चयन हुने नेतृत्वको आधिकारिकता हुँदैन : प्रवक्ता महत

सोमबार, २८ पुस २०८२, १८ : १७
सोमबार, २८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ, जसमा सभापति शेरबहादुर देउवा पक्षको असहमति छ।
  • देउवा पक्षले महाधिवेशन अवैधानिक भएको दाबी गर्दै कार्यविधि र नयाँ नेतृत्व चयनको प्रक्रियालाई अस्वीकार गरेको छ।
  • पार्टी प्रवक्ताका अनुसार, विशेष महाधिवेशन विधानसम्मत नभएको र निर्वाचनको मुखमा यो उपयुक्त नभएको तर्क छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनबाट नयाँ नेतृत्व नै चयन गर्ने तयारी भइरहँदा सभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशन नै अवैधानिक भएको जिकिर गर्दै आएको छ । विशेष महाधिवेशनमा सहभागिता नजनाएको देउवा पक्षका नेता तथा  कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश-

तपाईंहरुको सहभागिता बिनै भएको विशेष महाधिवेशनले आफ्नो कार्यविधि बनायो, केन्द्रीय कार्यसमिति पनि भंग गरेको छ। १५औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बेलासम्म अर्को कार्यसमिति चयन गर्ने समेत भनिएको अवस्थामा यो सबै कार्य विधानसम्मत हुन्छ कि हुँदैन ?

 विशेष अधिवेशनको बोलावट नै विधान सम्मत छैन भनेर हामीले केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेका छौँ। यो बिना आधार गरेको होइन। किनभने जब पहिला महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे, माग के थियो भने नियमित अधिवेशन हुनुपर्छ । त्यो नभएमा विशेष भन्ने आशयमा उहाँहरूको हस्ताक्षर थियो। त्यो हुनाले हामीले सहमतिबाटै नियमित अधिवेशन गर्ने निर्णय गर्यौँ।

तर नियमित अधिवेशन समयमा गर्न सम्भव भएन, किनभने तयारीका लागि अत्यन्त छोटो समय थियो। त्यो हुनाले नियमित अधिवेशनकै रुपमा १५औँ अधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेर केन्द्रीय सम्पादन समितिले पारित गर्‍यो। त्यसपछि उहाँहरूले होइन, मान्दैनौँ भनेर विशेष अधिवेशन गर्नु भन्नुभाछ। अब जहाँसम्म विशेष अधिवेशन सन्दर्भ छ, विधानमा नै केन्द्रीय समितिले हस्ताक्षर गरेर माग गरे पनि त्यसको प्रायोजन केन्द्रीय समितिले गर्ने भन्ने छ। केन्द्रीय समिति बिना त्यो मैले व्यक्तिगत रूपमा एकजना पदाधिकारी या सदस्यले गर्न सक्दैन। त्यो हुनाले त्यही ठाउँबाटै वैधानिक प्रक्रियालाई मिचेको अवस्था छ।

अब उहाँहरूले बोलाउनु भो, प्रतिनिधिहरू कति आए त्यो अर्को कुरा भयो। तर यो विशेष महाधिवेशनको कानुनी र वैधानिक कुनैपनि पाटोमा सही छैन ।

अर्को कुरा, अब आम निर्वाचनको मुखमा छौँ। त्यसैले पनि राजनीतिक र पार्टीको हिसाबले पनि यो उपयुक्त छैन भनेर हामीले भनेका हौँ। तैपनि संस्थापन पक्षबाट हामीले अत्यधिक लचकता पटक-पटक लचकता देखाएको अवस्था छ। अहिले पनि कार्यवाहक सभापति मार्फत पटक-पटक उहाँहरूसँग कुरा भएको छ। सभापतिज्यू (शेरबहादुर देउवा)ले पनि केही कुरा छ भने आउन भन्नु भएको छ। तर उहाँहरू आउनु भएन। अब उहाँहरूले के चाहिँ चाहनु भएको हो त ? उहाँहरूले विशेष महाधिवेशनबाट अघि सार्नु भएको जुन कार्यविधि छ, त्यो कार्यविधिले प्रस्ट पारेको छ कि विधानलाई बाइपास गरेर एउटा लक्ष्यका साथ उहाँहरू अघि बढ्नु भएको छ ।  त्यसको आशय के हो भन्ने कुराहरू चाहिँ तपाईंहरूले नै उहाँहरूलाई सोध्नुपर्छ। किन यो उहाँहरूले गर्दै हुनुहुन्छ ? यो विधानको कोणबाट पनि उपयुक्त छैन। अहिलेको समयको अवस्थाको कारणले पनि उपयुक्त छैन। कुनै कोणबाट पनि उपयुक्त छैन।

आज सभापतिले नेताहरूलाई बोलाउनुभएको थियो, डाक्टर शेखर कोइराला लगायतका नेताहरू समेत सहभागी बैठकमा के छलफल गर्नुभयो ?

उहाँहरू (शेखर कोइराला) सहित अरू केन्द्रीय सदस्य साथीहरू आउनु भयो, छलफल भयो। किनभने सबैको चासो र चिन्ता पार्टी एकजुट हुनुपर्छ भन्ने नै हो । अहिले यो जे कुरा उहाँहरूले (विशेष महाधिवेशन पक्षधर) अगाडि बढाउने कुरा गर्नु भो, यो चाहिँ ठिक भएन भन्ने सबैकाे निष्कर्ष रह्यो । कोइरालाको सन्देश पनि पार्टी एकताको बाटोमा नै उहाँहरूले जानुपर्छ। अरू कुनै बाटो छैन, हामीसँगै छौँ भन्ने नै उहाँको सन्देश थियो।

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढिसकेको छ । अब तपाईंहरु कसरी अघि बढ्नुहुन्छ ?

हामी पार्टीको संस्थागत निर्णयअनुसार नै अगाडि बढ्छौँ । संस्थागत निर्णय भनेको वैशाखमा नियमित अधिवेशन गर्ने हो । त्यसभन्दा अगाडि आम निर्वाचनमा केन्द्रित हुने निर्णय छ । अब ६ गते उम्मेदवारी दर्ता हुँदैछ, त्यसको तयारीमा हामी लागिरहेका छौँ ।

यो अभियान लिएर अगाडि बढिरहेका साथीहरूलाई पनि हामीले अपिल गरिरहेका छौँ । आज कार्यवाहक सभापतिले पनि अपिल गर्नुभएको छ, यो बाटो उपयुक्त छैन । अझै पनि मूलधारमै फर्किनुहोस् भन्ने हाम्रो सबै पङ्क्तिको चाहना हो ।

यदि उहाँहरूले आफ्ना गतिविधिहरू सच्याएर पार्टीको निर्णयअनुसार अघि बढ्दै मूलधारमा फर्किनु भयो भने निर्वाचनमा जाने नै सबैभन्दा उपयुक्त विकल्प हुन्छ । तर उहाँहरूले के गर्नुहुन्छ भन्ने कुरा अझै स्पष्ट छैन । कार्यविधि पारित भएको भन्ने सुन्दा भने त्यो उपयुक्त दिशातर्फ गएको सङ्केत देखिँदैन ।

तर उहाँहरूले नयाँ नेतृत्व चयन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौँ भनिरहनुभएको छ नि ?

नयाँ नेतृत्व त नियमित अधिवेशनबाटै चयन हुने हो । त्यही नै पार्टीको माग र निर्णय हो । नियमित अधिवेशनले नै नयाँ नेतृत्व ल्याउँछ । पार्टी सभापति दोहोरिने व्यवस्था विधानमा पनि छैन र उहाँको त्यस्तो इच्छा पनि छैन । त्यसैले नयाँ नेतृत्व आउँदै छँदै छ, त्यसमा हतार गर्नुपर्ने कुनै कारण छैन ।

यदि उहाँहरूले छुट्टै रूपमा नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्नुभयो भने त्यसको वैधानिक अवस्था के हुन्छ ?

त्यस्तो अवस्था आधिकारिक हुँदैन । कुनै कानुनी वा वैधानिक रूपमा, कुनै पनि अदालतबाट मान्यता पाउने अवस्था हुँदैन । तर अझै पनि हाम्रो आशा र विश्वास छ—उहाँहरू त्यस्तो बाटोमा जानुहुन्न होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप