मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशमा  ‘द चेन्ज’ र ‘तान्त्रिक डान्स’लाई अवार्ड

मङ्गलबार, २९ पुस २०८२, १२ : ३०
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • बङ्गलादेशको बोगरामा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली लघु चलचित्र 'द चेन्ज' र वृत्तचित्र 'तान्त्रिक डान्स' पुरस्कृत भए।
  • 'द चेन्ज' ले 'इन्टरनेशलन सर्ट इन्डोर' विधामा 'अनरेबल मेनस अवार्ड' जित्यो, जसमा डब्बु क्षत्रीको निर्देशन थियो।
  • केपी पाठकको वृत्तचित्र 'तान्त्रिक डान्स' पनि 'अनरेबल मेनस अवार्ड' बाट सम्मानित भयो, जुन कात्तिक नाचमा आधारित थियो।

काठमाडौँ । बङ्गलादेशको बोगरा सहरमा सम्पन्न ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र द चेन्ज (परिवर्तन) र नेपाली वृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएको छ । ३२ देशका ७४ चलचित्रहरू सहभागी महोत्सवमा नेपालबाट तीन वटा लघु चलचित्र र एक वृत्तचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी थिए । 

जसमध्ये गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ विधा अन्तर्गत चयन भएको थियो । यो विधामा चलचित्र ‘द चेन्ज’लाई ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । चलचित्रबाट निर्देशक डब्बु क्षेत्री सहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवम् गायिका सरिता भारती  महोत्सवमा नेपालबाट सहभागी भएका थिए । 

निर्देशक क्षत्री, अभिनेता प्रवण र अभिनेत्री सरिताले महोत्सवको समापन समारोहमा सो अवार्ड एवम् पुरस्कार ग्रहण गरे । यो लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ ।

यस्तै महोत्सवमा नेपालबाटै चलचित्र निर्देशक केपी पाठकद्वारा निर्देशित वृत्तचित्र ‘तान्त्रिक डान्स’लाई अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । यो वृत्तचित्र कात्तिक नाचमा आधारित थियो । नेपालको लघु चलचित्र ‘द चेन्ज’ र वृत्तचित्र ‘तान्त्रिक डान्स’ लाई उद्घाटन समारोहमा बङ्गलादेश प्रिमियर गरिएको थियो ।

पुण्ड्रनगर फिल्म सोसाइटी बोगराले आयोजना गरेको यो महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्समा तीन दिनसम्म चलेको थियो ।

यो महोत्सवमा निर्णायकहरूमा नेपालबाट नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदी सहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायाकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत थिए । महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेनसहित बङ्गलादेशका देशका चलचित्रकर्मीहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप