बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
महिला क्रिकेट

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर  : नेपाललाई इतिहास रच्ने मौका

बिहीबार, ०१ माघ २०८२, ०६ : ००
बिहीबार, ०१ माघ २०८२

सारांश

  • नेपालले पहिलो पटक महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको आयोजना गर्दैछ, जसले नेपाली क्रिकेटलाई नयाँ पहिचान दिनेछ।
  • प्रतियोगितामा इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ, जसमा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ।
  • काठमाडौंमा आयोजना हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहनेछ र नेपालले विश्वकपमा स्थान बनाउन घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय थपिँदैछ । नेपालले पहिलो पटक महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको आयोजना गर्दैछ, जुन नेपाली क्रिकेटका लागि एक स्वर्णिम अवसर हो । 

जनवरी १८ बाट सुरु हुन गइरहेको यो प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई विश्वसामु चिनाउने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने जिम्मेवारी पनि थपेको छ ।

पुरुष क्रिकेटमा विश्व मञ्चको अनुभव बटुलिसकेको नेपाल अब महिला क्रिकेटलाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्यमा छ । यसअघि नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको आयोजना गरिसकेको छ । उक्त प्रतियोगिताले नेपाललाई सक्षम आयोजकको रूपमा चिनाएको थियो । तर ग्लोबल क्वालिफायरको आयोजना भने पहिलो पटक गर्दैछ, जसले नेपाली क्रिकेटको साखलाई थप उँचो बनाउने विश्वास गरिएको छ ।

प्रतियोतिगाका लागि नेपालले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली तयार पारेको छ । प्रतियोगिताका लागि आफूहरु तयार भएको टिमकी कप्तान इन्दु बर्माले बताएकी छन् । टोलीले नेपालमा मात्र लामो समय तयारी गरेको छ । यो प्रतियोगिताका लागि नेपालले मलेसियामा पनि अभ्यास गरेको थियो, जसले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग मिल्नेछ । 

‘टिमले राम्रो तयारी गरेको छ । युवा खेलाडीको जोस र अनुभवी खेलाडीको अनुभव मिश्रणले प्रतियोगितामा राम्रो खेल्न सहयोग पुग्नेछ,’ बर्माले रातोपाटीसँग भनिन् । 

Indu Barma

यता नेपाली टोलीलाई १२ वर्षसम्म लिडिङ गरेकी पूर्व कप्तान रुविना क्षत्रीले आफ्नो लागि १८ वर्षको पर्खाइ पूरा गर्ने मौका भएको बताइन् । घरेलु मैदानमा नै हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्दै विश्वकपमा पुग्ने लक्ष्य भएको बताइन् । ‘मैले पनि नेपाललाई विश्वकप पुर्‍याउने लामो समयदेखि देखेको सपना हो । अहिले हामीलाई राम्रो अवसर छ । १८ वर्षपछिको सपना पूरा हुनेछ,’ क्षेत्रीले भनिन् । 

नेपाली टोलीलाई सम्हाल्न हाल भारतीय प्रशिक्षक हर्षल जयन्त पाठक आएका छन् । नेपाली टोलीले पहिलो पटक मुख्य प्रशिक्षकको रुपमा विदेशी प्रशिक्षक पाएको हो ।

नेपाली टोली विश्वकपको मञ्चमा पुग्नेमा प्रशिक्षक पाठक ढुक्क छन् । यसअघि थाइल्याण्डको महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनी अब नयाँ टोली हेर्दैछन् । ‘नेपाली टोली विश्वकपको मञ्चमा पुग्न तयार छ । हाम्रो तयारी पनि राम्रो छ । सबै खेलाडी प्रतियोगिताका लागि उत्साहित छन्,’ पाठकले भने । 

प्रतियोगिताको तालिका र मैदान

ग्लोबल क्वालिफायर १८ जनवरीदेखि १ फेब्रुअरीसम्म काठमाडौंमा आयोजना हुनेछ । खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदानमा हुनेछन् । त्रिभुवन विश्वविद्यालयको मैदानमा १९ खेल र मूलपानीमा १३ खेल खेलाइनेछ । यी दुई मैदान नेपाली क्रिकेटको पहिचान हुन्, जहाँ पुरुष क्रिकेटका धेरै ऐतिहासिक क्षण बनेका छन् । अब महिला क्रिकेटले पनि नयाँ इतिहास कोर्ने अवसर पाएको छ ।

सहभागी टोली र समूह विभाजन

प्रतियोगितामा १० राष्ट्र सहभागी हुनेछन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । समूह ‘बी’ मा आयोजक नेपालसँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाब्वे रहेका छन् । नेपालले समूह ‘बी’ का टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Nepali Woman Cricket Team

नेपाललाई यो समूहमा केही सहज हुने देखिएको छ । थाइल्यान्ड र नेदरल्यान्ड्ससँग नेपालले खेलेको हुँदा सहज हुनेछ । बलियो टोली जिम्बाब्बे र स्कटल्याण्डसँग भने केही असहज हुनसक्छ । थाइल्यान्डको टोलीलाई प्रशिक्षण दिइसकेका पाठक अहिले नेपाली टोली सम्हालिरहेकाले यसलाई सकारात्मक पक्षका रूपमा हेरिएको छ । 

नेपालको चुनौती

नेपालका लागि यो प्रतियोगिता चुनौतीपूर्ण हुने देखिन्छ । समूह ‘बी’ मा रहेका स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वे बलिया टोली हुन् । यी टोली टी–२० अन्तर्राष्ट्रिय र्‍याङ्किङमा नेपालभन्दा माथि छन् र उनीहरूसँग अनुभव पनि धेरै छ । त्यसैले कागजमा नेपाललाई अन्डरडग मान्न सकिन्छ ।

यद्यपि, घरेलु मैदान र समर्थकको साथले नेपाललाई केही राहत दिन सक्छ । प्रतियोगिताअघि नयाँ प्रशिक्षक पाठकको आगमनले टोलीमा नयाँ आशा जगाएको छ । प्रशिक्षक पाठकले टोलीमा आशावादी भावना भरेका छन् र नयाँ रणनीति अपनाउने बताएका छन् ।

नेपालका प्रतिस्पर्धी टोलीहरू

थाइल्यान्ड एसिया छनोटको च्याम्पियनको रूपमा ग्लोबल क्वालिफायरमा आएको थाइल्यान्ड एक अनुभवी र अनुशासित टोली हो । थाइल्यान्डले हालसम्म पाँचवटा ग्लोबल क्वालिफायर खेलेको छ र एकपटक विश्वकपमा स्थान बनाएको छ ।

Pooja Mahato

स्कटल्यान्ड पनि बलियो टोली हो, जुन अघिल्लो विश्वकपमा सहभागी भएको थियो । स्कटल्यान्डले ६ पटक छनोट खेलेको छ र एकपटक विश्वकपमा स्थान बनाइसकेको छ । नेदरल्यान्ड्ससँग नेपालको हेड टु हेड खराब छ । नेपालले अहिलेसम्म खेलेका तीनवटै टी–२० आई खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको छ ।

अफ्रिकी च्याम्पियन जिम्बाब्वे ११ वर्षपछि आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फर्किएको छ ।

नेपालको लागि अवसर

ग्लोबल क्वालिफायर नेपालका लागि ठुलो अवसर हो । यो प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई विश्वसामु चिनाउने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने बाटो खोल्नेछ । घरेलु मैदान र समर्थकको साथ पाएको नेपालले इतिहास रच्ने अवसर गुमाउनु हुँदैन ।

Nepali Woman Cricket1

टी–२० र्‍यांकिङ, तथ्याङ्क र अनुभवमा नेपाल केही कमजोर देखिए पनि घरेलु मैदान, समर्थक र पहिलो पटक विश्वकपको ढोकामा उभिने अवसरले नेपाललाई थप हौसला मिल्नेछ । यो प्रतियोगिता नेपाली क्रिकेटका लागि छनोट मात्र नभई महिला क्रिकेटको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसर पनि हो । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप