बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक सन्देश प्रसारण प्रकरणमा एनसेलको ध्यानाकर्षण

बिहीबार, ०१ माघ २०८२, ०९ : ४४
बिहीबार, ०१ माघ २०८२

सारांश

  • एनसेलले राजनीतिक सन्देश प्रसारणबारे गम्भीर ध्यानाकर्षण जनाएको छ, तर आफ्ना ग्राहकलाई एसएमएस नपठाएको जनाएको छ।
  • एनसेलले एसएमएस प्रसारण गर्ने कम्पनी आकाश टेकलाई सचेत गराउँदै दूरसञ्चार सेवाको दुरुपयोगप्रति शून्य सहनशीलता देखाएको छ।
  • एनसेलले ग्राहकको डाटा सुरक्षा र गोपनीयतामा उच्चतम मापदण्ड कायम राख्दै अनधिकृत प्रयोगलाई कडाइका साथ निषेध गर्ने जनाएको छ।

काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकलाई प्रसारण नभएको स्पष्ट पारेको छ ।

एनसेलका अनुसार घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको छ । दूरसञ्चार सेवाको अनधिकृत प्रयोग वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको कम्पनीले जनाएको छ ।

एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवा प्रयोग गर्न कडाइका साथ निषेध गरिएको स्पष्ट पारेको छ । सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेलले ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम राख्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको छ । ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा नगर्ने र दुरुपयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याइएको छ ।

एनसेलले एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधैं प्रचलित कानूनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप