४२ वर्षअघिको पिस्कर हत्याकाण्ड सम्झँदा...
सारांश
- सरेश नेपालको पुस्तक 'जेलभित्रका सङ्घर्ष' ले पिस्कर हत्याकाण्डको ऐतिहासिक पक्षलाई उजागर गरेको छ।
- पुस्तकले २०४० सालको पिस्कर घटना र त्यसपछिको जेलभित्रको संघर्षलाई सरल भाषामा प्रस्तुत गरेको छ।
- लेखकले पुस्तकमा पिस्कर विद्रोह र त्यसपछिका घटनाहरूको विस्तृत विवरण दिएका छन्।
सरेश नेपालले तयार गर्नु भएको 'जेलभित्रका सङ्घर्ष' एउटा खोजपूर्ण, पठनीय एवं संग्रहणीय ऐतिहासिक दस्ताबेज हो । नेपाली राजनीतिक/सामाजिक आन्दोलनका अन्वेषकहरूलाई उपयोगी हुने ढङ्गले अत्यन्त मेहनतपूर्वक तयार गर्नुभएको पुस्तकले मानिसको मानसपटलबाट करिब हराउँदै गएको ४२ वर्ष अघिको 'पिस्कर हत्या काण्ड'लाई अझै ताजा रुममा प्रस्तुत गराएको छ ।
पुस्तकले २०४० मा घटना हुनुको पृष्ठभूमि, पिस्कर जस्तो विकट गाउँमा कसरी नेपाल कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र हुँदै तत्कालीन नेकपा (माले) को प्रवेश भयो त्यसको सेरोफेरो तथा सङ्घर्षको समय रणमैदानमा क्रूर निरङ्कुश पञ्चायती शासकहरूको बर्बर दमनचक्र विरुद्ध क्रान्तिकारी जनसमुदायबाट कसरी अभूतपूर्व जनप्रतिरोध भए र त्यसपछिको दमन धरपकडलाई चिर्दै प्रतिकार र परिवर्तन प्रतिको आफ्नो आस्था एवम् विश्वासलाई निरन्तर बचाईराख्न जेलभित्र र वाहिर गरेको सङ्घर्षको गौरवगाथालाई सूक्ष्म रूपमा प्रकाश पार्ने कोसिस गरिएको छ ।
पुस्तकका भाषा, शब्द र शैलीहरू सरल छन् । लेखनकला जनबोलीमा आधारित, प्रस्तुति संस्मरणात्मक भएकोले पढ्नमा अत्यन्त रोचक छन् । यस अर्थमा प्रस्तुत पुस्तक पठनीय र संग्रहणीय छ ।
इतिहासलाई बिर्सेर भविष्यको मार्गचित्र कोर्न सकिँदैन । तर अहिले हाम्रो नेपाली समाजमा इतिहासलाई उपेक्षा गर्ने प्रवृत्ति बढेका छन् । वास्तवमा भन्ने हो भने आज हामीले जे राजनीतिक सामाजिक परिवर्तन गरेका छौँ, त्यो विगतका ऐतिहासिक सङ्घर्ष र अग्रज पुस्ताले गरेको कठोर मेहनत, त्याग र बलिदानकै फूल हो । यसलाई वर्तमान क्रान्तिकारी पुस्ताले अझै सुक्ष्मरूपमा खोजेर सम्मान र प्रकाशन गर्नु पर्छ ।
हामीले आफ्नो इतिहास कहिल्यै बिर्सनु हुँदैन । जनताका जिउँदा सङ्घर्षका इतिहासहरू लोप हुँदै छन्, यो डरलाग्दो समस्या हो ।
इतिहासलाई हामीले मार्क्सवादी कोणबाट हेर्नु र विश्लेषण गर्नु पर्छ । यो नै एउटा वैज्ञानिक पद्धति हो । इतिहासमा मेरो मात्र योगदान छ । त्यसैले मेरो मात्र इतिहास लेखिनुपर्छ भन्ने प्रवृत्ति सामन्ती चिन्तनमा आधारित एकपाखे अमार्क्सवादी दृष्टिकोण हो । हामीले बुझ्नुपर्छ, इतिहासमा धेरै नेता/कार्यकर्ता र सङ्घर्षशिल जनताको भूमिका एवम् योगदान निहित हुन्छ । यसलाई सम्पन्न गर्नु नै साँचो अर्थमा इतिहासलाई सम्मान गर्नु हो ।
आफ्नो संस्मरणमा लेखकले आन्दोलनमा विभिन्न वर्ग तह र तप्का जनसमुदायले गरेका सङ्घर्षका इतिहासलाई सर्वसाधरण जनसमुदायले बुझ्ने भाषामा प्रस्तुत गर्नु भएको छ, यसैलाई लेखकको लेखकीय क्षमता मान्नु पर्छ ।
नेपाली जनताले निरङ्कुश राणा शासनका विरुद्ध 'ुप्रजातन्त्र प्राप्तिका निम्ति' गरेका बलिदानी पूर्ण संघर्षका आफैँ गौरवशील इतिहास छन् । क्रान्तिकारी भिमदत्त पन्तका सुदुरपश्चिममा किसान सङ्घर्ष, बारा रौतहटका किसान सङ्घर्ष, त्यसैगरी पञ्चायतकालमा झापा, छिन्ताङ, पिस्कर, दाङ, जुगेडी लगायत देशका विभिन्न भागमा धेरै किसान सङ्घर्षहरू भए । ती सङ्घर्षहरू केवल सामन्ती शोषण अत्याचार विरुद्धका मात्र नभै राजनैतिक अधिकार प्राप्तिका पनि सङ्घर्ष थिए ।
सात सालको राजनैतिक क्रान्तिपछि स्थापित संसदीय व्यवस्थालाई निरङ्कुश राजाले हठात् भङ्ग गरी देशमा जबरजस्ती निर्दलीय पञ्चायती शासन लादे । यद्यपि यसको कुनै प्रवाह नगरी राजनैतिक पार्टीहरूको परोक्ष वा प्रत्यक्ष नेतृत्वमा माथि उल्लेखित अनेकौँ सङ्घर्षहरू भएका छन् । त्यसक्रममा आन्दोलनका दौरान कैयनले आफ्नो जीवनको आहुति दिए भने हज्जारौँले जेलनेलको यातना र सयौँले कग्टसाध्य भूमिगत जीवन बिताउन बाध्य भएको हाम्रो विगत छन् । हामीले यी कुराहरूको सबल र दुर्बल पक्षको वस्तुनिष्ठ लेखाजोखा गरी सङ्घर्षमा यातना भोगेको ऐतिहासिक क्रान्तिकारी योद्धाहरूको प्रेरणादायी आदर्शको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु हामी सबैको कर्तव्य हो ।
हामीले विगतलाई राम्ररी सम्झने प्रयत्न गरौँ । हाम्रो विगत कति निर्मम, निर्दयी र निरङ्कुश थियो । आधारभूत रूपमा देशमा अहिले लोकतन्त्र छ । हामी प्रत्येक कुरामा खुल्ला र स्वतन्त्र छौँ । पहिले जनतालाई बोल्ने लेख्ने, सभा, सङ्गठन गर्ने कुनै अधिकार थिएन । समाज एक प्रकारले बन्द र अन्धकारपूर्ण थियो । ग्रामीण क्षेत्रमा सर्वसाधारण जनतामाथि सामन्ती जाली फटाहरूको ठुलो दबदबा रहन्थ्यो ।
आफूमाथि भएका वर्गीय शोषण र अत्याचार विरुद्ध सानो आवाज उठाउन पनि राजा/वस्था विरोधी, अराष्ट्रिय र उग्रवादीको आरोपमा जेलनेल खानु सामान्य कुरा मानिन्थ्यो । तर शासकहरूका यस्ता दमनकारी हथकण्डाहरूको कुनै पर्वाह नगरी भएको पिस्कर आन्दोलन त्यस्तै पुर्ख्यौली सामन्ती शोषण उत्पिडन विरुद्धको एक सशक्त विद्रोह थियो ।
यसका निमित्त हामीले लामो समयदेखि हाम्रो प्रचार, सङ्गठन र सङ्घर्षको क्षेत्रलाई विशेष गरी आधारभूत वर्गका किसानकाबीचमा केन्द्रित गरेका थियौँ । यो हाम्रो वर्ग दृष्टिकोण पनि हो ।
लेखकले आफ्नो संस्मरण पुस्तकमा तत्कालीन निरङ्कुश शासनको समयमा सिन्धुपाल्चोकको एक विकट गाउँ पिस्करमा भएको आन्दोलनको उच्च मूल्याङ्कन सहित निरङ्कुश पञ्चायती व्यवस्थाको शासनकालभरीकै ग्रामीण वर्ग सङ्घर्षहरूको विभिन्न घटनाहरू मध्य पिस्कर विद्रोह सबैभन्दा विपन्न तथा पछाडि पारिएका समुदायको वर्ग सचेत विद्रोहको रूपमा व्यवस्थित ढङ्गले चित्रण गर्नु भएको छ ।
यो विश्लेषण अत्यन्त सही र सटिक छन् । पिस्कर विद्रोहमार्फत अभिव्यक्त भएको जनताको भावनालाई अझ स्पष्ट पार्दै उहाँले सामन्ती राजतन्त्र विरूद्ध एउटा मनोवैज्ञानिक तरङ्ग ल्याइ दिने आन्दोलनको रूपमा व्याख्या अघि सार्नु भएको छ ।
यस सम्बन्धमा मलाई एक जना राजनीतिक सङ्गठकको नाताले राम्ररी सम्झना छ, हामीले त्यसवेला किसानहरूलाई पार्टीको तर्फबाट प्रारम्भिक राजनीतिक शिक्षा प्रदान गर्दा पनि सामन्ती राजनीतिक आर्थिक जगमा खडा भएको राजतन्त्रको अन्त्य र जनताको गणतन्त्र विना हामीले वास्तविक मुक्ति पाउँदैनौँ । यी कुराहरू हामी किसानलाई राम्री नै राख्थ्यौँ ।
पिस्कर विद्रोहपछि कतिपय मान्छेले टिप्पणी गरे, यो केही ‘टाठाबाठालाई विशेष सुविधा दिन र नेता बनाउन मात्र गरिएको आन्दोलन हो ।’ वास्तवमा यो उनीहरूको अति सङ्कीर्ण र आन्दोलनलाई हेर्ने गलत दृष्टिकोणको उपज मात्र थियो । लेखकले आफ्नो लेखको विभिन्न उपशीर्षकमा पिस्कर आन्दोलनमा संलग्न हुने धेरै जनता र कार्यकर्ताको वैचारिक तथा राजनैतिक स्तर भावना र दृढताको सविस्तार उल्लेख गरेर यस आन्दोलनलाई विकृत र अपव्याख्या गर्दै हिड्ने आन्दोलनका विरोधीहरूलाई जोडदार जवाफ दिनुभएको छ । म ती कुराहरूको खुलेर प्रशंसा गर्न चाहन्छु ।
पिस्कर महादेव स्थानमा परापूर्वकालदेखि नै पुस मसान्त अर्थात् माघे सङ्क्रान्तिको अघिल्लो रात भव्य मेला जात्रा लाग्ने गर्छ । माघे सङ्क्रान्तिलाई यहाँको स्थानीय थामी, तामाङ, गुरुङ, शेर्पा, नेवार, बाहुन, क्षेत्री, दलित लगायत सबै जातीहरूले असाध्य महत्वको पर्वका रूपमा मनाउँछन् । महादेवस्थान जात्रामा पिस्करका अतिरिक्त तौथली, टेकनपुर, धुस्कुन, चोकटी, घोर्थली, बाह्रबिसे, राम्चेलगायत धेरै गाउँका श्रद्धालुहरू भेला भएर गाउने नाच्ने र रमाइलो गर्ने गर्छन् । जात्रामा आउनेहरूलाई तरुल, सखरखण्ड, भुटेको मकै आदि खुवाएर स्वागत गर्ने त्यहाँको जनसमुदायको प्रचलन थियो ।
जात्रामा ठुलो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहने भएकाले तत्कालीन नेकपा मालेले अप्रत्यक्ष रूपमा भेलालाई सांस्कृतिक चेतना र हल्का राजनैतिक जागरणको रूप दिने उद्देश्यले जनवादी गीत नृत्य र स्थानीय शोषण विरोधी प्रगतिशील नाटक मञ्चन गर्ने योजना वनाएको थियो । कार्यक्रममा अमृत बोहरा लगायत मालेका उच्च नेताहरू आउँछन् र राजतन्त्र अन्त्य गर्ने आन्दोलनको घोषणा गर्छन् भन्ने कथित सूचनाका आधारमा केन्द्रीय प्रशासन काठमाडौँबाट ठुलो सङ्ख्यामा हतियारधारी प्रहरी उतारी अन्धाधुन्ध गोली बर्साइयो ।
प्रतिरोध सङ्घर्षका क्रममा किसान योद्धाइलि थामी, वीर बहादुर थामीले सहादत प्राप्त गर्नुभयो । गोली हानेर घाइते पारी झन्डै एक दर्जनलाई गिरफ्तार गरी रगत चुहाउँदै अत्यन्त निर्दयी र अमानवीय रूपमा काठमाडौँ ल्याइयो । अझ ठुलो जनप्रतिरोध हुने भयले प्रहरीहरू त्यहाँबाट भागे र सहिदका शवलाई जनताले आफ्नै विधि र परम्पराअनुसार अन्तिम संस्कार गरे ।
यसरी शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा नृशंस दमन गरेर सरकारले आफ्नो खुनी शासनको असली चरित्र प्रदर्शन गर्दै पिस्कर हत्याकाण्डको रचना गर्यो ।
हत्याकाण्डको बिरोधमा देशभरि नै पर्चा पोष्टरिङ तथा भित्ते नारा तथा विरोध प्रदर्शनहरू गरेर आन्दोलनलाई राष्ट्रव्यापी बनाइयो । प्रतिबन्धित नै भए पनि राजनीतिक र मानवअधिकारकर्मीहरूबाट पिस्कर हत्याकाण्डको विरोध र भर्त्सना गर्दै वक्तव्यहरू आए । यी कुराहरूको इति वृत्तान्त ०४१ सालमा अर्धभूमिगत रूपमा हिमाली प्रकाशनको नाममा नेकपा मालेद्वारा प्रकाशित ‘पिस्कर दमन र प्रतिरोध’ मा उल्लेख भएका छन् र प्रतिकूल परिस्थितिमा प्रकाशित उक्त पुस्तक धेरै महत्त्व छ ।
वि।स। २०४० को विद्रोह मूलतः सामन्त विरोधी आन्दोलनको एउटा पराकाष्ठा नै थियो । त्यसभन्दा पहिला पनि पिस्कर वरपर सानाठूला अनेकौँ किसान आन्दोलनहरू भएका थिए । उदाहरण स्वरूप चक्रवृत्ति व्याज, वत्याहा, जाली तमसुक, वेठिगुहार, धुरिकर गुठिजग्गा, भकारी कब्जा, महिलाहरूका अस्मिता इज्जत लुट्ने लठैत गुन्डा प्रशासन विरुद्ध, सामूहिक गिरफ्तारी तथा सामन्ती जाली फटाहालाई जनताको घेरामा उभ्याएर उसको अत्याचारको भण्डाफोर गर्दै सामूहिक रूपमा थुक्ने ‘थुक आन्दोलन’ आदि चर्चित आन्दोलनका रूपहरू हुन् ।
यस्तै आन्दोलनको कारण जनताको राजनीतिक चेतना विकास भएको हो । यस आन्दोलनमा गरिब किसान जनताको विशेष भूमिका थियो । लेखकले आफ्नो संस्मरणमा मसिनो गरी मिति तिथि र व्यक्तिहरूको नाम सहित यस प्रकारको प्रसङ्गलाई खोतल्ने कोसिस गर्नुभएको छ । उहाँले जोड दिएर लेख्नु भएको छ, नेपालको ग्रामिण क्षेत्रको वर्ग संघर्षका इतिहासका पानाहरू मध्य पिस्कर बिद्रोहबाट सिक्ने, ग्रामिण क्षेत्रको वर्गीय विशेषता सहितको विद्रोहलाई सामाजिक आर्थिक रूपान्तरणका प्रकृयामा जोड्ने काममा पिस्कर एक उपयुक्त बहसको केन्द्र बन्न सक्छ ।
यो कुराहरू धेरै महत्त्वपूर्ण छन् र यसलाई राजनैतिक परिवर्तनको आन्दोलनसँग जोडेर हेर्नुपर्छ ।
सरेश नेपाल पिस्कर हत्याकाण्डको बेला भर्खरै यूवा तन्नेरी हुनुहुन्थ्यो । यद्यपि उहाँ त्यसवेलादेखि नै मार्क्सवादी विचारको सम्पर्कमा आइसक्नु भएको थियो । विद्यार्थी जीवनदेखि नै अरुण नेपाल र सरेश नेपाल प्राय साथ साथै रहनुहुन्थ्यो र उहाँहरू दुवै नजिकको दाजुभाइ पनि हो । दुवैजना अनेरास्ववियु एकताको पाँचौँमा आबद्ध पनि ।
उमेर कलिलै भएपनि उहाँहरूले पार्टीलाई गुप्त रूपमा सहयोग गर्नु हुन्थ्यो । अनेरास्ववियसु एकताको पाँचौँलाई नेकपा माले०सम्बद्ध युवा विद्यार्थीको सङ्गठनको रूपमा हेरिन्थ्यो । त्यसले गर्दा विद्यार्थीहरू माथि सरकारको नजर सँधै कडा रहने गर्थ्यो । हामी उहाँहरूलाई पार्टीको चिठ्ठीपत्र, पुस्तक आदि कसरी एकअर्का ठाउँमा होसियारीपूर्वक सुरक्षित ढङ्गले पुर्याउने छलफल र प्रशिक्षण गर्थ्यौँ । खुलेका विद्यार्थीहरूको कोठामा सकेसम्म पार्टीका महत्त्वपूर्ण सामाग्रीहरू राख्दैनथ्यौँ । लेखकले यी विषयहरूबारे आफ्नो संस्मरणमा अनेकौँ प्रसङ्गहरूको चर्चा गर्नु भएको छ ।
पुस्तकमा अधिकांश विषयहरू पिस्कर हत्याकाण्ड र अनेकौँ आरोप प्रत्यारोपमा जेल परेका राजनीतिक र अन्य बन्दीहरूको दर्दनाक एवम् जीवन्त कथा-व्यथाहरू समेटिएका छन् । पढ्दा जेलभित्रका कथाहरू केही लामा र विवरणात्मक जस्तो लागे पनि त्यो जेलभित्र हाम्रा बन्दीहरूले भोगेका वास्तविक जीवन हो । साँच्चै भन्दा पञ्चायती राजमा जेल एउटा ‘यातना गृह र मृत्यु गृह’ जस्ता थिए ।
त्यसैभित्र बसेर हाम्रा बन्दीहरूले आफ्ना आस्था र विश्वासलाई बचाइराख्न सङ्घर्ष गरेका हुन् । यस दृष्टिकोणले पुस्तक अत्यन्त रोचक र महत्त्वपूर्ण छ । लेखनमा कुनै जटिलता वा क्लिष्टता छैन । लेखहरू सरल ढङ्गले सुनकोशी नदी जस्तै बगेको छ । यसको विशेषता भनेको पढ्न थालेपछि नसकी छोड्न मन लाग्दैन । यसैमा लेखकको सफलता मान्नु पर्छ ।
मेरो भन्नु, पिस्कर हत्याकाण्डमा म थिइन, दोषविनाको जेलयात्रा, जागिर र जेलको सम्बन्ध, शब्दबिम्बमा पिस्कर काण्ड, जेलभित्रको शब्दचित्र, सेन्ट्रल जेलभित्रका सङ्घर्ष, दोस्रो अनसन, बमकाण्डको प्रभाव, परीक्षा दिन गरेका सङ्घर्ष, जेलजीवन र चाडपर्व, पञ्चायती व्यवस्थाप्रतिको विकर्षण, राष्ट्रिय पञ्चायतमा जनपक्षीय हस्तक्षेप, जेल एक चरित्र अनेक, जेलभित्रका झगडाहरू, फेरि रिहाइ, फेरि पक्राउ, पढ्न र जाँच दिन पाउने आशा, जेलभित्र पहाड र मधेसको द्वन्द्व, अपराधीहरूको दोस्रो चरित्र, राजबन्दी रिहाइको उपक्रम, आशङ्काहरूका बिचमा मेरो रिहाइ आदि यी उपशीर्षकहरू आफैंमा विषयवस्तुमा पर्याप्त छन् ।
साँच्चै यथार्थपरक र मार्मिक पनि ।
यसैगरी अतिरिक्त सामाग्रीमा पिस्करको वर्ग विश्लेषण, प्रतिरोधी सङ्घर्षमा छत्र बहादुर बोहरा, कस्तो थियो पिस्करको राजनीतिक, सामाजिक तथा आर्थिक परिवेश ?, जगत् बोहरासँग बिताएका क्षणहरू, राजनीतिज्ञ राधाकृष्ण मैनालीकहाँ तिहार मनायौं– वीरगन्ज जेलमा र सुनकोसीका असला माछा खाइयो जस्ता विषयवस्तुले पुस्तकलाई अझ खँदिलो भरिलो र परिपूर्ण बनाएको छ ।
यस कुराहरूको अध्ययन गर्दा जो कोहीलाई पनि आफैँ जेलभित्र बसेर यातनाहरू भोगेको र सङ्घर्ष गरेको अनुभूति हुन्छ । आस्था र निष्ठाको निम्ती सङ्घर्षको पर्याय बनेका कमरेड पाल्कामाया थामी, छत्र बोहरा र जगत् बोहरा अहिले हामीबिच हुनुहुन्न परन्तु उहाँका निष्ठा आदर्श र दृढता हाम्रा लागि सधैँ प्रेरणाको श्रोत बनिरहेको छ ।
पुस्तकमा लेखिएका कुराहरू कुनै मनोगत वा काल्पनिक रचना होइन । यो त्यसवेलाको राजाको कथित पञ्चायती प्रजातन्त्रको एउटा झल्को हो । यसैगरी नेपाली समाजको सही चित्रण पनि । राजको शासनको भजन गाउनेहरूले एकचोटी यो पुस्तक राम्ररी पढे हुन्छ । म त्यही सल्लाह दिन चाहन्छु । आखिर पिस्करका जनताले के बिराएका थिए, के गल्ती गरेका थिए रु के शोषणको विरोध गर्नु र अधिकार खोज्नु अपराध हो ?
किसान योद्धा कमरेड इलि थामी र वीर बहादुर थामीले किन अकालमा ज्यान गुमाउनु पर्यो यसको सही जवाफ तत्कालीन निरङ्कुश शासकहरूसँग छैन र हुन पनि सक्दैन ।
आम लोकतन्त्र, परिवर्तन तथा जनता र राष्ट्रका जीवनमा समृद्धि ल्याउन गरिएको जीवनको बलिदान र सङ्घर्षशील योद्धाहरूको सङ्घर्षको फलस्वरूप मुलुक र हामीले राजनीतिक(आर्थिक उपलब्धिहरू पाएको छौँ । यत्ति नै सबै कुरा होइन । तैपनि यो उपलब्धिहरूलाई पनि खोस्न तथा कमजोर बनाउन अनेकौँ षडयन्त्रहरू भइरहेका छन् ।
हामीले हामीले उच्च राजनीतिक सुझबुझका साथ प्राप्त लोकतन्त्र र उपलब्धिहरूको रक्षा र विकासका निम्ति एकताबद्ध हुनुपर्छ । यस सम्बन्धमा म धेरै भन्न चाहन्न । सबै भन्दा मुलकुरा राजनैतिक दृढता र वैचारिक सुस्पष्टता नै हो । त्यसमा हामी स्पष्ट हुनुपर्छ ।
आफ्नो संस्मरणका उपशीर्षकहरूमा लेखकले सामान्य किसान भइकन पनि पिस्करका क्रान्तिकारी योद्धाहरूको शत्रुसँग लड्ने साहस तथा दृढताको प्रशंसा गर्नु भएको छ । शत्रुका हातमा परेका वेला तत्कालीन प्रतिक्रियावादी सरकारले निर्मम यातना दिएर तथा खनेको लोभ प्रलोभन देखाएर नेताहरूको परिचय र पार्टीका गोपनीयताहरू खुलाउन हदैसम्मको प्रयत्न गरे । त्यतिमात्र होइन उहाँहरूलाई कम्युनिस्ट पार्टीप्रतिको लगाव र आस्थालाई टुटाउन के गरे भन्ने कुराको कुनै लेखाजोखा छैन ।
मलाई अनेकौँ घटनाहरूको सम्झना हुने गर्छ । पिस्करका किसान महिलाहरू सामान्य र निरक्षर हुन्थे । गरिबिका कारण आङमा कहिल्यै नयाँ कपडा देखिँदैन थियो । तर उहाँहरूको राजनीतिक दृढता भने अद्भुत लाग्दथ्यो । प्रहरी अधिकृत र अञ्चलाधीशहरू पिस्करका बन्दीहरूलाई राजा र पञ्चायतको पक्षमा आत्मसमर्पण गराउन यातना र प्रलोभनका अनेकन हतकण्डाहरू अपनाउँदा रहेछन् । तर बन्दीहरूका राजनीतिक दृढता र हिम्मत देखेर आफैँ चकित परेको कुरा मलाई एउटा भेटमा बहुदलीय व्यवस्था पछि बनेका सरकारका प्रमुख निर्वाचन आयुक्त पूर्व बागमती अञ्चलाधिस विष्णु प्रताप शाहले बताएका थिए ।
भद्रगोल र सेन्ट्रल जेलमा रहेका पिस्करका राजबन्दीहरूलाई केरकार गर्न बारम्बार बागमती अञ्चलाधीशको कार्यालय ल्याइँदो रहेछ । विष्णु प्रतापजी आफैँ सामुन्ने बसेर अत्यन्त भयावह वातवरणबीच पञ्चायत र राजालाई मान्छु भन, माफी माग, हामी तिमिहरूलाई छोडिदिन्छौँ भन्दै हप्काउँदा रहेछन् । तर बन्दीहरूले किंचित मानेनन् । उनीहरूले भने, ‘जति सक्नुहुन्छ राख्नुस् हामी माफी माग्दैनौँ’ ।
विष्णु प्रतापजीले मलाई भन्नुभयो, ‘उनीहरूका दृढता देख्दा मलाई आश्चर्य लाग्यो । यस्ता निश्कलङ्क, निरक्षर मान्छेलाई थुनेर कतै हामीले गल्ती गरेका त छैनौँ ?’ मैले आफैँलाई मन मनै प्रश्न गरेँ र मैले तपाईको अनुहार सम्झन पुगेँ । वोहराजीले कसरी त्यस्ता मान्छेलाई चट्टान जस्तो दृढ बनाउनु भयो रु मेरो मन पग्लियो । तर मैले छोड्न सक्दिनथेँ । माथिको आदेश नै पिस्करका बन्दीहरूलाई नछोड्नु भन्ने थियो ।
शाहजी पहिला म खुल्ला भएको वेला सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । गाउँमा ‘पचास रुपैँयाको तमसुकु नाटक प्रदर्शन गरेवापत कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो । तपाईहरू गलत हुनुहुन्छ प्रजातन्त्रको आँधीलाई कसैले रोक्न सक्दैन । यति सामान्य नाटक देखाउँदा पनि सहन नसक्ने भनेर मैले उहाँसँग लामो र खस्रो बहस गरेका थिए ।
उहाँलाई यो कुराले मनमा गहिरो गरी छोएको रहेछ । पछि उहाँले भन्नुभयो, ‘शासक भए पनि म जागिर खान्थेँ । मेरा मनभित्र पनि प्रजातन्त्रको भावना लुकेको थियो ।’ आज पिस्कर आन्दोलनको बन्दीको संस्मरण पढ्दा मलाई अपरझट सम्झना भएको प्रसंग हो यो । यी घटनाहरूको विश्लेषण गर्दा हामीले भूमिगत कालमा कार्यकर्ता र जनतालाई सही शिक्षा दिएका रहेछौँ भन्ने लाग्छ ।
अन्त्यमा, अहिले पठन संस्कृति खस्कँदो अवस्थामा छ । नपढी कुनै पनि कुराको राम्रो र समग्र ज्ञान हुँदैन । टापटिपे सतही अध्ययनको आधारमा आफूलाई सर्वज्ञानको ज्ञाता ठान्नु दम्भपूर्ण प्रवृत्ति हो । पत्रिकाको पनि शीर्षक मात्र पढेर दृष्टिकोण बनाउने रोग अहिले हामीसँग छ । कुनै पनि कुराको साँचो जानकारी हामी खोज्दैछौँ भने त्यसको सम्पूर्ण विषयवस्तुको गहिराइमा पस्नु पर्छ ।
पिस्कर आन्दोलनको समग्र जानकारी हामी राख्न चाहन्छौँ भने त्यस सम्बन्धी प्रकाशित सामाग्रीहरूको अध्ययन तथा आन्दोलनमा संलग्न योद्धाहरूको अध्ययन गर्नु जरुरी हुन्छ । यो पुस्तक पिस्कर आन्दोलनको मर्म र भावनालाई बुझाउने एउटा महत्त्वपूर्ण पाठ्यसामग्री हो । यसलाई सबैले मेहनतपूर्वक अध्ययन गरौँ । कुनै पनि कुरामा कमीकमजोरीहरू स्वाभाविक छन् ।
लेखकलाई सहयोग र हौसला भनेको त्यसमा त्रुटि कमजोरीको तथ्यगत आलोचना पनि हो । आफ्नो रचनात्मक सुझाव र टिप्पणीहरू गरेर आगामी संस्करणको निम्ति सहयोग गरौँ । हतारो र समयको चापबन्दीको अवस्थामा लेखकले आफ्नो संस्मरणको पाण्डुलिपि मलाई थमाउनु भयो । दोहोर्याएर पढ्न समेत भ्याइएन । पुस्तकमा भूमिका लेख्नु भनेको असाध्य जिम्मेवार काम हो । म कुनै लेखक वा समालोचक पनि होइन । यसमा मेरो कुनै अनुभव पनि छैन । तैपनि उहाँले एउटा विश्वासले पाण्डुलिपि दिनुभयो । आफू पनि पिस्कर आन्दोलनसँग सम्बन्धित भएकोले जे जानेँ त्यसैलाई कोर्ने कोसिस गरेको छु । प्रतिक्रिया पाठक महोदयकै हो ।
पार्टीमा महत्त्वपूर्ण भूमिका निभाउँदै आउनु भएका कमरेड सरेश नेपाललाई मेरो सुझाव छ, यति राम्रो लेखनकला भएको खोज, अध्ययन र सम्झना गर्न सक्ने क्षमतालाई तपाईँले कहिल्यै निष्क्रिय नराख्नुहोस् । हाम्रो राजनीतिक तथा सामाजिक आन्दोलनको विविध क्षेत्रमा आफ्नो कलमलाई आउँदा दिनमा अझ सक्रिय राख्दै नेपाली राजनीति र साहित्यको भण्डारमा थप योगदान गर्न उपयोगी राम्रा रचनाहरू गर्न सफल बन्नु होस् ।
कमरेड लेनिनले भने जस्तै साहित्य र संस्कृति भनेका ‘क्रान्तिका दाँती र पेचकिला हुन ।’ यही दृष्टिकोणबाट प्रशिक्षित हुँदै गरिखाने जनताका पक्षमा अघि बढौँ । तपाईको जेलभित्रका सङ्घर्ष संस्मरण नेपाली राजनीतिक तथा साहित्य जगतमा सधैँ अविस्मरणीय रहनेछ ।
(पिस्कर हत्याकाण्डबारे तयार पारिएको पुस्तक ‘जेलभित्रका संघर्ष’मा अमृत बोहराले लेखेको भूमिकाको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण