सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

बिहीबार, ०१ माघ २०८२, १२ : २९
बिहीबार, ०१ माघ २०८२

सारांश

  • नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिन लागेको छ।
  • एमाले नेता महेश बस्नेतले निर्वाचनमा भाग लिने कुरा सुनिश्चित गर्दै, सरकारको आलोचना गरे।
  • बस्नेतले रवि लामिछानेलाई उन्मुक्ति दिने निर्णयलाई लिएर सरकारमाथि प्रश्न उठाए।

काठमाडौँ । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ । नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने बताए । 

‘माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ’, बस्नेतले भने, ‘खुल्ला सभाबाट एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन खोजिरहेका छौँ ।’ उनले कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ र ? भनेर प्रश्न गरिरहेको भन्दै एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै पनि नभनेको बताए । 

‘अहिले चुनावको वातावरण छैन भन्ने मात्र हाम्रो कुरा हो’, बस्नेतले भने, ‘अहिले पनि प्रहरी प्रशासन र न्यायालयको मनोबल कमजोर छ ।’ प्रहरी घाइते रहेको, हतियार फिर्ता नभएको भए पनि राजनीतिक घटनाक्रम थप बढिरहेको बस्नेतको भनाइ छ । 

‘सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई नागरिक सरकार भनिरहेको छ । निकै ठुलो जनदबाब र रवि लामिछानेका कारण कुलमान घिसिङले राजीनामा दिए पनि अरू मन्त्रीहरूको चालामाला सुध्रिएको छैन’, बस्नेतले भने, ‘सरकारका अभिव्यक्तिहरू हेर्दा पुराना दल र नेता काम छैन, ठुला दलका कारण कार्यान्वयन गर्न सकिएन भन्ने भनाई रवि लामिछानेको पार्टीलाई बलियो बनाउने चालबाजी हो ।’

उनले लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे । 

उनले लामिछानेलाई उन्मुक्ति दिने निर्णय आउनुमा एमाले कांग्रेस विभाजन गर्ने षडयन्त्र स्वरुप गरिएको भन्दै कांग्रेस विभाजन राष्ट्रियता लोकतन्त्र समाप्त पारेर अन्तर्राष्ट्रिय चलखेल भित्र्याउने प्रयास भएको दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप