बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जसपा नेपालसँग कार्यगत एकता गरेका महतोले किन गरे आजपासँग एकता ?

बिहीबार, ०१ माघ २०८२, १३ : ३३
बिहीबार, ०१ माघ २०८२

सारांश

  • स्वाधीन मधेस जनअभियानका अध्यक्ष कैलाश महतोले जसपासँगको कार्यगत एकता तोडेर आजपासँग एकता गरे।
  • महतोले उपेन्द्र यादव आन्दोलनका लागि तयार नभएपछि आजपासँग एकता गरेको बताए।
  • यादवले चुनावमा सहभागी हुन नमानेपछि र महोत्तरीमा चुनाव लड्न नदिएपछि आफूले पार्टी छाडेको महतोको भनाइ छ।

काठमाडौँ । पुस ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कार्यगत एकता गरेका स्वाधीन मधेस जनअभियानका अध्यक्ष कैलाश महतोले एकाएक प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)सँग एकता गरेका छन् । 

आम जनता पार्टी र स्वाधीन मधेस जनअभियानबिच बुधबार एकता भएको हो । जनअभियानका अध्यक्ष महतोले भने, ‘उपेन्द्रजीसँग आन्दोलनका लागि कार्यगत एकता भएको थियो तर उहाँ आन्दोलनका लागि तयार नभएपछि आम जनता पार्टीसँग एकता गरेका हौँ ।’

फागुन २१ गतेअघि एक चरणको आन्दोलन गर्ने र त्यसपछि मात्र चुनावमा सहभागी हुनेबारे अध्यक्ष यादवले सहमति जनाएका कारण आफू कार्यगत एकताका लागि तयार भएको उनको भनाइ छ । तर उनले आन्दोलनमा नजाने भनेपछि आजपासँग एकता गरेको उनले बताए ।

उपेन्द्र यादवले सो समूहलाई समानुपातिक वा राष्ट्रिय सभामध्ये कुनैमा समेट्ने कुरा समेत गरेपनि कार्यान्वयन भएको थिएनन् । यस्तै आफूले महोत्तरीबाट चुनाव लड्न खोज्दा पनि दिन  मानेपछि आफू बाध्य भएर त्यहाँबाट निस्केको उनले बताए । 

यस्तै यादवले साविकको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य उम्मेदवारका रूपमा अघि सारेका थिए । ‘दुई संगठनबिच एकता भएको छ भने संगठनका कुनै पनि गतिविधि हुँदा सरसल्लाह गर्नुपर्ने हो’, उनले भने, ‘तर लोसपा तथा अन्य दलहरूसँग एकतासँग गर्दा एकपटक सोध्ने काम समेत भएन । यस्तो अवस्था आइसकेपछि बसिरहन सकिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप