बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

सल्यान–सुर्खेतमा बाघ आतङ्क : एक सातामै ३ जनाको मृत्यु

बाघ मार्न वा नियन्त्रणमा लिन पत्राचार
बिहीबार, ०१ माघ २०८२, १४ : ०६
बिहीबार, ०१ माघ २०८२

सारांश

  • सुर्खेत र सल्यानको सिमानामा बाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु भएको छ।
  • पहिलो घटनामा सुर्खेतकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भयो, जसको शव फेला परेको थियो।
  • सल्यानमा पनि एक महिला र एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको थियो, जसका कारण स्थानीय त्रसित छन्।

सुर्खेत । सुर्खेत र सल्यानको सिमाना क्षेत्रमा बाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु भएको छ ।

पुस २३ गते बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका—५ गेरवानी क्षेत्रमा एक ५७ वर्षीय महिलालाई बाघले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, ५७ वर्षीय गंगा सारु अघिल्लै दिन कसैलाई जानकारी नदिई घरबाट निस्केकी थिइन् ।

२३ गते बिहान ९ बजेतिर उनका दुई जना नातिनी बाख्रालाई घाँस काट्न भनेर घरदेखि करिब १०० मिटर उत्तर सालघारीमा गएका थिए । सोही क्रममा उनीहरूले सालघारीमा गंगा सारुले लगाएका कपडा, चप्पलसहित रगतका टाटा भेटे । खोजतलास गर्दै जाँदा सो स्थानबाट करिब ६०० मिटर पूर्वतर्फ गंगाको टाउको मात्रै भेटियो ।

पछि अस्थायी प्रहरी पोस्ट बबईबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली, नेपाली सेनाको टोली, वनका कर्मचारीहरू खोजतलासमा जाँदा टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ गंगाका शरीरका अन्य भाग फेला परे । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको थियो ।

उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त गाउँ शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ ।

पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिका—७, की धनसरी रावतको पनि बाघकै आक्रमणबाट मृत्यु भयो । सल्यानको कालिमाटी, सुर्खेतको भेरीगंगाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । धनसरीलाई बाँके राष्ट्रिय निकुञ्ज सीमा क्षेत्रसँग जोडिएको हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।

सल्यान प्रहरीका अनुसार, धनसरी शुक्रबार दाउरा काट्न भनेर जंगल गएकी थिइन् । दिउँसो तीन बजेतिर बाघको आक्रमणमा परेकी उनलाई बाघले घिसार्दै लगेको स्थानीयले देखे । लगत्तै निकुञ्ज सुरक्षार्थ सेना र स्थानीयले खोजी गर्दा एउटा झाडीमा उनको शव भेटियो ।

बाघले धनसरीको एउटा खुट्टा पूरै खाइसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।

त्यसको तीन दिनपछि पुस २९ गते मंगलबार कालिमाटीकै ८ नम्बर वडामा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई बाघले आक्रमण गर्‍यो । ‘खप्तडी सोमबार दिउँसो १२ बजेतिर आफ्नो घरबाट करिब ३०० मिटरमा पर्ने घट्टमा पिठो पिस्न गएका थिए’, प्रहरी नायब उपरीक्षक केसीले भने, ‘उनी त्यो दिन साँझसम्म पनि घर फर्किएनन् ।’

मंगलबार बिहानै स्थानीयले प्रहरी चौकी घुइयाबारीमा खबर गरे । जानकारी पाउनासाथ प्रहरी नायब निरीक्षक लाल बहादुर थापाको कमान्डमा ३ जनाको प्रहरी टोली, बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट घुइयाबारीबाट जमदार यज्ञ बहादुर कुमालको कमान्डमा ७ जनाको सेनाका टोलीले खोजतलास गर्दा बाघकै आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भयो ।

एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दामा त्रास छ । ‘बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएका जङ्गलहरूमा अचेल दैनिकजसो बाघ देखिने गरेको छ,’ कालिमाटी–७, का वडाध्यक्ष मित्रलाल रिजालले भने, ‘बाघको त्रासबाट स्थानीय त्रसित छन् ।’

डिभिजन वन कार्यालय सल्यानका अनुसार, यो अवधिमा बाघले दुई वटा घर पालुवा गाई—गोरुलाई समेत आक्रमण गरेर मारेको छ ।

बाँके निकुञ्जलाई पत्राचार

बाघले आक्रमण गरी आतङ्क फैलाएको भन्दै डिभिजन वन कार्यालय सल्यानले बाघ मार्ने आदेश कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ ।

‘स्थानीय जनता र जनप्रतिनिधिहरूले उक्त पाटे बाघले मानिसलाई समेत निरन्तर आक्रमण गरिरहेको र गाउँका मानिस घरबाहिर निस्कने अवस्थासमेत छैन,’ डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले भने, ‘तत्काल उक्त पाटे बाघलाई नियन्त्रणमा लिन वा मार्नका लागि आदेश जारी गरिएको छ ।’

बाघको आतङ्क नियन्त्रण गर्न स्थानीयको अनुरोध आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौँ संशोधन समेत थप) को दफा १० ‘क’ र ‘ख’ तथा वन्यजन्तु संरक्षण नियमावली २०३० (पाँचौँ संशोधन समेत थप) को दफा ३६ क अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको रावलले बताए ।

संरक्षित वन्यजन्तु पाटे बाघलाई नियन्त्रण वा मार्ने आदेश जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालनका लागि बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप