प्रतिनिधि सभा निर्वाचन : एमाले महासचिव शंकर पोखरेलका सम्भावित प्रतिस्पर्धी को–को ?
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका छन्।
- माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नयाँ पार्टीबाट निर्मल आचार्य उम्मेदवार बन्ने तयारीमा छन्।
- कांग्रेस कमजोर देखिएको र रास्वपा पनि चुनावी प्रतिस्पर्धाका लागि तयारी गरिरहेको छ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेल आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । उनी ०७९ को निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार थिए । उक्त निर्वाचनमा उनी माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित भए ।
कांग्रेस–माओवादी गठबन्धनको साझा उम्मेदवार रहेकी शर्मा झिनो मतान्तरले विजयी भइन् । आसन्न निर्वाचनमा शर्मा सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएकी छन् ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा वैकल्पिक राजनीतिक शक्तिहरूको मनोबल लगातार बढ्दै गएको छ । एमालेले भने जेनजी आन्दोलनको उद्देश्य र नतिजामाथि नै प्रश्न उठाइरहेको छ । योसँगै एमाले महासचिव पोखरेलका सम्भावित प्रतिस्पर्धी को–को होलान् भन्नेबारे पनि चासो बढेको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । सो पार्टीबाट दाङ–२ मा निर्मल आचार्य उम्मेदवार बन्ने तयारीमा छन् । उक्त निर्वाचन क्षेत्रबाट नेकपाले आचार्यसहित गिरबहादुर महरा, हेमराज शर्मा (डाइमण्ड) खिमबहादुर चौधरीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । यद्यपि रेखा शर्मा र माओवादी नेता कृष्णबहादुर महरा लगायतले आचार्यलाई नै उम्मेदवारका रूपमा अघि सार्न सिफारिस गरेको बताइन्छ ।
आचार्यले जनतालाई ठुला नेताभन्दा पनि समस्या पर्दा घरदैलोमै भेट्टाउने नेताको आवश्यकता रहेको बताए । आफू निरन्तर रूपमा यहाँको विकास तथा अन्य काममा लागेको दाबी गर्दै उनले कार्यकर्ताबाट आफू अनुमोदित भएको र अब जनताबाट अनुमोदित हुने चरणमा रहेको बताए ।
साबिक माओवादीको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले उक्त क्षेत्रमा जित दोहोर्याउनका लागि पार्टीले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
यता नेपाली कांग्रेसले सो क्षेत्रबाट १० जनाको नाम सिफारिस गरेको थियो । यद्यपि कांग्रेस यतिबेला खण्डित र कमजोर भएकाले सो क्षेत्रमा प्रभाव बढाउन निकै ठुलो चुनौती देखिन्छ । कांग्रेसका दाङ जिल्ला सभापति शङ्कर डाँगीले पार्टीभित्र देखिएको समस्याका कारण आफू अहिले कुनै प्रतिक्रिया दिन नसक्ने बताए ।
रास्वपा पनि तम्सिँदै
दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि ठुला दललाई चुनौती दिन तम्सिँदैछ । यो क्षेत्रमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य उम्मेदवार बन्ने चर्चा चले पनि टुङ्गो लाग्न बाँकी नै छ । रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले उम्मेदवारीबारे टुङ्गो लगाउने प्रक्रिया जारी छ ।
उक्त क्षेत्रमा सुशील अधिकारी, विशाल अधिकारी लगायत रास्वपाका युवाहरू पनि उम्मेदवार बन्न आकाङ्क्षा राखिरहेका छन् ।
प्रदेश अध्यक्ष पाठकले एमालेका महासचिव शंकर पोखरेलको क्षेत्र भएकाले पनि आफ्नोतर्फबाट बलियो र सक्षम नेतालाई उम्मेदवार बनाउने योजना रहेको प्रस्ट पारे ।
एमालेको तयारी
एमाले महासचिव शंकर पोखरेललाई जिताउन सङ्गठन मजबुत बनाउने र मतदातासम्म पुग्ने तयारी भइरहेको सो पार्टीका जिल्ला अध्यक्ष शिव आचार्यले बताए ।
महासचिव पोखरेलले शुक्रबार दाङमा निर्माणाधीन सडक अनुगमन गरेका थिए । विकास निर्माणका काममा चासो राख्नका साथै मतदाताको मुड बुझेर उनी काठमाडौँ फर्किएका छन् ।
एमालेका जिल्ला अध्यक्ष आचार्यका अनुसार पार्टी अहिले तल्लो तहसम्म बलियो देखिएको छ । पछिल्लो समय एमालेको संगठन मजबुत भएको जिकिर गर्दै उनले महासचिव पोखरेललाई दाङ–२ मा मतदाताले सहजै जिताउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण