शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विचार

चिनियाँ विश्वव्यापी विकासका अवधारणा र अभ्यास

शनिबार, ०३ माघ २०८२, १५ : १५
शनिबार, ०३ माघ २०८२

सारांश

  • लेखमा नेपालका गाउँपालिकाहरूमा चिनियाँ बिजुली बस सञ्चालनको सपना र चीनको विकास मोडेलबारे चर्चा गरिएको छ।
  • चीनको विकास मोडेलले गरिबी निवारण र पूर्वाधार विकासमा जोड दिएको छ, जसबाट नेपालले सिक्न सक्ने कुराहरू छन्।
  • लेखमा चिनियाँ विकास अवधारणालाई नेपालले कसरी अपनाउन सक्छ र देशको विकासका लागि युवा नेतृत्वको आवश्यकता औंल्याइएको छ।

सञ्जु दाहाल

नेपालका सबै गाउँपालिकाको केन्द्रमा चिनियाँ बिजुली बस पुगेका रहेछन् । काठमाडौँदेखि सबै पालिकामा नियमित बस सेवा सुरु भएको रहेछ । यसमा चीन सरकारले २० प्रतिशत आर्थिक सहयोग गरेको तथा बाँकी सबै गाउँपालिकाहरू, स्थानीय व्यवसायी, राष्ट्रिय व्यवसायी र प्रदेश सरकारले २०–२० प्रतिशत लगानी गरेका रहेछन् । नाफाको १०–१० प्रतिशत सबैले बाँड्ने योजना रहेछ । अहा ! क्या मज्जा, अब नेपालका सबै पालिकामा सजिलै जान पाइने भयो !

तर, झल्याँस्स बिउँझिएँ– त्यो त सपना पो रहेछ ! आखिर हामी सबैले खोजेको विकास नै हो । विकासकै सन्दर्भमा यो एउटा वैकल्पिक विकास दृष्टिकोणमाथिको विचार विमर्श हो । यो सपनाको आधारभूत भूमिका हो । 

पश्चिमी विश्वले विकासलाई प्रायः पुँजी, प्रविधि र खुला बजारको प्रतिफलका रूपमा परिभाषित गर्दै आएको छ । तर पछिल्ला चार दशकमा चीनले प्रस्तुत गरेको विकास मोडेलले यो परिभाषामाथि गहिरो प्रश्न उठाएको छ । चिनियाँ विश्वव्यापी विकास भन्नाले केवल चीनको आर्थिक उन्नति मात्र होइन, बरु चीनले विश्व समुदायलाई प्रस्ताव गरेको वैकल्पिक विकासको दर्शन, अभ्यास र साझेदारीको नयाँ ढाँचा हो । 

के हामीले यो प्रणाली सिक्न सक्दैनौँ ? हामीमा विकासको त्यस्तो चेतना कहिले आउला ?

चीनको विकास अवधारणा एकै ढाँचाले सबैलाई मिल्दैन भन्ने मान्यताबाट सुरु हुन्छ । सन् १९७८ पछिको देङस्याओ पीङको सुधार र खुलापन नीतिले चीनलाई समाजवादी राज्य संरचनाभित्र बजार अर्थतन्त्र प्रयोग गर्ने अनौठो तर प्रभावकारी बाटोमा अघि बढायो । 

यसलाई ‘एक राष्ट्र, दुई नीति’ पनि भनिन्छ । यहाँ विकासलाई केवल जीडिपी वृद्धिसँग मात्र होइन, राज्यको दीर्घकालीन योजना, सामाजिक स्थिरता, पूर्वाधार विस्तार र गरिबी न्यूनीकरणसँग जोडियो । गरिबी निवारण यसको प्रमुख लक्ष्य थियो ।

यही अनुभवको आधारमा चीनले आज विश्व विकास बहसमा आफूलाई अनुकरणीय होइन, सन्दर्भयोग्य मोडेलका रूपमा अगाडि सारेको छ । स्थिर नीति तथा स्थायित्व नै विकासको प्रमुख आधार हो भन्ने तथ्य प्रमाणित भएको छ । नेपालमा हाम्रा नेताहरूमा यो चेतना जाग्नु जरुरी छ । नेतृत्वमा देशप्रेमको भावना जागेको दिन अवश्य देशले काँचुली फेर्नेछ ।

चिनियाँ विकास अवधारणाको मूलमा राज्य–नेतृत्व, दीर्घकालीन योजना र व्यावहारिक लचकता छ । पाँच वर्षे योजनाहरूले विकासलाई बजारको उतार–चढावबाट जोगाउँदै स्पष्ट दिशानिर्देश गर्छन् । यसले विकासलाई आकस्मिक होइन, क्रमिक र संरचनागत बनाएको छ । पश्चिमी विकास मोडेलले जोड दिने उदारीकरणको साटो चीनले पहिले स्थिरता, त्यसपछि सुधारको नीति अपनाएको छ ।

परिणामस्वरूप, करिब ८० करोड मानिस गरिबी रेखामाथि उठे, जुन मानव इतिहासकै सबैभन्दा ठुलो सफल गरिबी न्यूनीकरण कार्यक्रम हो । वास्तवमा विश्वको प्रमुख चुनौती भनेकै गरिबी निवारण नै हो । भोको पेट र गरिब मानसिकताले ग्रसित नेपाली नेतृत्वमा विकासको चेतना लगभग शून्यप्रायः छ भन्दा हुन्छ ।

विकास के हो ? कहाँबाट सुरु गर्ने ? सबै अन्योलमा छन्, तर भाषणमा भने नेपाललाई स्विजरल्याण्ड बनाउने भन्छन् । मेलम्चीको पानी काठमाडौँ आइपुग्न झन्डै चार दशक लाग्यो, त्यसमा लज्जित हुनु पर्दैन ? त्यसैले देशमा अब संरचनागत परिवर्तन आवश्यक छ । 

आशा गरौँ अबको भविष्य उज्यालोले भरिपूर्ण हुनेछ । र, नेपालले दिगो विकासको मार्ग पक्रिनेछ । हामीले चीनलाई चिन्नुपर्छ र चीनको विकास मोडेलको अनुसरण गर्नुपर्छ । देशभन्दा ठुलो केही हुँदैन । 

मेरो सपना बीआरआई परियोजनाको अवधारणासँग जोडिएको छ । चिनियाँ विश्वव्यापी विकास अभ्यासको सबैभन्दा चर्चित आयाम भनेको बेल्ट एन्ड रोड इनिसिएटिभ नै हो । एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिका जोड्ने यो पहल पूर्वाधार, ऊर्जा, यातायात र डिजिटल कनेक्टिभिटीमा केन्द्रित छ । चीनले यसलाई ‘साझा विकास, साझा लाभ’ को परियोजना भनेको छ ।

पश्चिमी सहायता मोडेलमा देखिने कडा राजनीतिक सर्तहरूभन्दा फरक, चीनले राष्ट्रिय स्वायत्तता र आन्तरिक प्राथमिकतालाई सम्मान गर्ने गर्छ । यसैकारण धेरै विकासोन्मुख देशहरू चीनतर्फ आकर्षित भएका छन् । यो चीनको अभ्यास हो र चीन सबैतिर सफल छ । तर हामीले यो विकास अवधारणा नै बुझ्न सकेका छैनौँ । 

यो महान् नेटवर्कमा जोडिएर सबै पालिकाले बिजुली बस किने हुँदैन र ? यो चेतनाको विषय हो । दृष्टिकोण र देश बनाउँछु भन्ने हुटहुटीको आवश्यकता हो । यातायातको यस्तो देशव्यापी सञ्जालमार्फत सबैले विकासको फल पाउनेछन् । समान लगानीमा समान फाइदा लिने र सबैलाई समेट्ने परियोजना नै बीआरआई हो । तर हामी कसैले पनि त्यसबाट फाइदा लिन जानेनौँ । कसैले बुझेको जस्तो पनि देखिएन ।

राजनीतिले देश विकासको मूल बाटो पक्रिनुपर्छ । यद्यपि, चिनियाँ विकासका अभ्यासहरू पनि आलोचनाबाट मुक्त छैनन् । ऋणको पासो, पारदर्शिताको कमी, वातावरणीय जोखिम र स्थानीय श्रमको प्रयोगजस्ता प्रश्नहरू बारम्बार उठ्ने गरेका छन् । 

तर विकासका दृष्टिकोणबाट हेर्दा, यी प्रश्नहरू चिनियाँ मोडेल असफल भएर होइनन्, बरु विश्व विकास व्यवस्थामा वैकल्पिक शक्तिको उदय हुँदा देखिने स्वाभाविक द्वन्द्व हुन् ।

वास्तवमा, पश्चिमी विकास परियोजनाहरू पनि ऐतिहासिक रूपमा यस्तै आलोचनाबाट गुज्रिएका छन् । पुँजीवादी विकास मोडेल त अर्थशास्त्री किन्सले खुला बजारमा सरकारको भूमिका आवश्यक छ भनेर प्रमाणित गरेपछि १९३६ तिरै अन्त्य भइसकेको मोडेल हो । 

राजनीतिक अराजकता नियन्त्रण हुनुपर्छ र विकासले निर्बाध रूपले अघि बढ्ने मार्ग पाउनुपर्छ । बिपी वा मदन भण्डारीको मार्गमा मात्रै देश अगाडि बढ्न सकेको भए आज हामी विश्वको एक उत्कृष्ट राष्ट्र भइसक्ने थियौँ । तर नियतिले नेपालमा असल नेतृत्व जन्मन सकेन ।

नेपालले सिक्नुपर्ने चीनको अर्को महत्त्वपूर्ण योगदान ‘विकास पहिले, राजनीति पछि’ भन्ने व्यावहारिक दृष्टिकोण हो । चीनले लोकतन्त्रको परिभाषा स्वीकार गरी परिणाममुखी शासनमा जोड दिन्छ । राजनीति गरेपछि परिणाम देखिनु पर्छ । जनताको जीवनस्तर सुधार, सेवा पहुँच र सामाजिक सुरक्षालाई शासनको वैधताको आधार मानिन्छ । जनताले सुख र शान्तिको सास फेर्न पाउनुपर्छ । यो दृष्टिकोणले विकास र शासनबिचको सम्बन्धलाई पुनः परिभाषित गरेको छ ।

नेपाल जस्ता विकासोन्मुख मुलुकका लागि चिनियाँ विश्वव्यापी विकास अवधारणा न त जस्ताको तस्तै नक्कल गर्ने विषय हो, न पूर्ण अस्वीकार गर्ने नै । बरु, दीर्घकालीन योजना, पूर्वाधार–केन्द्रित विकास, र राष्ट्रिय प्राथमिकतामा आधारित साझेदारीबाट सिक्ने अवसर हो । चीनले देखाएको पाठ स्पष्ट छ– विकास कुनै एक विचारधाराको एकाधिकार होइन । 

देश र समाजले स्वीकार गरेको सबैको भलाइ हाम्रो आवश्यकता हो । के मालिक, के मजदुर, के पुँजीपति सबैले विकासको लाभ पाउनुपर्छ ।

जेनजी आन्दोलनबाट देशमा ठुलो परिवर्तन भएको छ । अब देशले विकासको मार्ग पहिल्याउनुपर्छ । चुनाव आएको छ; देश, राष्ट्रियता, धर्म, संस्कृति, सभ्यता, इतिहास तथा भूगोल सबै बुझेका युवा नेतृत्व आजको आवश्यकता हो । वृद्ध नेताले बुझ्नै सकेनन्, नेपाल चिन्नै सकेनन् । 

अन्ततः, चिनियाँ विश्वव्यापी विकासको सार विकल्पको राजनीति हो । यसले विश्वलाई भन्छ– विकासका धेरै बाटा हुन्छन्, र प्रत्येक देशले आफ्नो इतिहास, संस्कृति र आवश्यकता अनुसार विकासको बाटो रोज्नु पर्छ । 

आजको बहुध्रुवीय विश्वमा यही बहस नै सबैभन्दा ठुलो योगदान हो चीनको । यो परिवर्तनले देशको विकासमा ठुलो टेवा पुग्नेछ । चीनको विकास मोडेलबाट हाम्रा लागि अनुकरणीय ज्ञान हुन सक्छ । एक पटक त्यतातर्फ ध्यान दिएर हेर्ने, सोच्ने र त्यसलाई अपनाई हेर्ने हो कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जु दाहाल
सञ्जु दाहाल
लेखकबाट थप