दार्चुलामा बाख्रा नै नकिनी २३ लाख स्वाहा, भक्तपुरमा नक्कली बिल बनाएर भ्रष्टाचार
सारांश
- दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालनको नाममा २३ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा नगरपालिका र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।
- बाख्रा खरिद नगरी, खोर निर्माणमा पनि अनियमितता गर्दै उपभोक्ता समितिले सरकारी रकम हिनामिना गरेको पुष्टि भएको छ।
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालनको नाममा आएको सरकारी अनुदानमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । बाख्रा खरिद नै नगरी नक्कली बिल बनाएर २३ लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८–०७९ मा शैल्यशिखर नगरपालिका–९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिले प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत बाख्रा फार्म निर्माण तथा बाख्रा खरिद योजना सञ्चालन गरेको थियो ।
उक्त योजनामा भक्तपुरको चाँगुनारायणस्थित एक फार्मबाट १५ वटा बोका र १५ वटा बोयर बाख्रा खरिद गरेको भन्दै नक्कली बिल पेस गरी रकम भुक्तानी लिइएको अख्तियारको अनुसन्धानमा खुलेको छ । भक्तपुरको उक्त फार्मले आफूहरूले कुनै पनि बोका–बाख्रा बिक्री नगरेको बयान दिएपछि पोल खुलेको हो ।
भक्तपुरदेखि दार्चुलासम्म बाख्रा ढुवानी गरेको कुनै प्रमाण नै नभएको र उपभोक्ता समितिमा समेत एउटै परिवारका सदस्यहरू मात्र राखेर योजनाको सम्झौता गरिएको पाइएको छ ।
बाख्रा वितरण गर्दा पनि वास्तविक किसानलाई नदिई समितिका पदाधिकारीले नै २–२ वटाका दरले बुझेको नक्कली भरपाई बनाएका थिए । १५ वटा बाख्राका लागि प्रजननका लागि १–२ वटा बोका भए पुग्नेमा १५ वटै बोका खरिद गरेको देखाएर सरकारी रकम लुट्ने नियत प्रस्ट देखिएको अख्तियारले जनाएको छ ।
यति मात्र होइन, बाख्राको खोर निर्माणमा समेत फिल्डमा भएको कामभन्दा करिब २५ घनमिटर बढी काम भएको देखाएर नापी किताबमा नक्कली विवरण चढाइएको छ । बनेका खोरहरू पनि अत्यन्त जीर्ण र गुणस्तरहीन पाइएको छ ।
अनुगमन समितिको प्रतिवेदनमा कसले अनुगमन गरेको हो भन्ने नाम र हस्ताक्षरसमेत छैन । यसरी मिलेमतोमा नक्कली कागजात बनाएर २३ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले संलग्नहरूलाई कारबाहीको माग गर्दै आइतबार मुद्दा दर्ता गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण