शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले कर्णालीका यी चर्चित अनुहार, जसले पाएनन् टिकट

कार्यकर्ताबाट सबैभन्दा धेरै भोट पाउँदा पनि टिकटमा उपेक्षा
आइतबार, ०४ माघ २०८२, १७ : १२
आइतबार, ०४ माघ २०८२

सुर्खेत । नेकपा एमालेले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाइसकेको छ । एमालेबाट अधिकांश पुरानै अनुहार उम्मेदवार बन्दा केही चर्चित युवा अनुहारले भने टिकट पाएनन् ।

टिकट नपाउने सूचीमा युवा नेताहरु निरज आचार्य, विष्णु रिजाल, दल रावल लगायत छन् । यी तीनै जना एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओलीकै समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । यद्यपि ओलीले तीनै जनालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न टिकट दिएनन् ।

रावल र आचार्य यसअघि चुनावमा भाग लिइसकेका नेता हुन् भने रिजालले अहिलेसम्म संसदीय चुनावमा उम्मेदवार बन्न पाएका छैनन् । देशभर युवाहरूबिच चिनिएका रिजाल दैलेख–२ बाट यो पटक प्रतिनिधि सभा चुनाव लड्न चाहन्थे । यो क्षेत्रमा उम्मेदवार बन्न आकाङ्क्षीहरू धेरै भएकाले पुस १९ गते जम्बुकाँधमा सिफारिसका लागि आन्तरिक चुनाव नै भयो ।

उम्मेदवारका लागि रिजाल, पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र राजबहादुर शाही आकाङ्क्षी थिए । सिफारिसका लागि भएको निर्वाचनमा विष्णु रिजालले सबैभन्दा धेरै ६७ मत प्राप्त गरे ।

लक्ष्मीप्रसाद पोखरेल ६६, राजबहादुर शाही ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरे, तर सिफारिस गर्दा कार्यकर्ताबाट सबैभन्दा धेरै मत पाएका रिजालसँगै लक्ष्मी पोखरेल र एक महिलाको नाम पनि पठाइयो ।

पोखरेल यस अघि ०७० को संविधान सभा चुनाव लडेर एक कार्यकाल सांसद भइसकेका थिए भने ०७९ मा पनि टिकट पाएका थिए । यद्यपि उनी कांग्रेसका दीक्पाल कुमार शाहीसँग पराजित भएका थिए ।

शाहीले २० हजार १५८ मत ल्याउँदा पोखरेलले २० हजार ५ मत पाए । उनी ०५६ तिर मालेबाट चुनाव लडेका थिए भने त्यसअघि एक पटक प्रधानपञ्ज समेत भइसकेका पुराना नेता हुन् ।

पटक–पटक परीक्षण भइसकेका भएकाले पनि पोखरेलभन्दा रिजालले टिकट पाउने सम्भावना धेरै रहेको आकलन गरिएको थियो ।

पार्टी केन्द्रबाट पनि सकारात्मक धारणा रहेको कुरा उनले नेता, कार्यकर्तालाई भनेका थिए । तर शनिबार बेलुका पार्टी मुख्यालयले उम्मेदवारका रूपमा उनको नाम समेटेन ।

कार्यकर्ताबाट दोस्रो नम्बरमा मत पाएका लक्ष्मी पोखरेललाई टिकट दियो । पोखरेल ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित नेता हुन् ।

रिजालले टिकट नपाएको भन्दै दैलेख–२ का कतिपय नेता, कार्यकर्ताले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । स्वयं रिजालले पनि असन्तुष्टि पोखेका छन् । ‘दैलेख–२ का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ, जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए,’ रिजालले सामाजिक सञ्जालमा लेखे, ‘तर तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’

नेतृत्वले आफू सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका पोखरेललाई फेरि टिकट दिएको उल्लेख गरे । ‘पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन,’ रिजालले भने ।

रिजाल ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएका थिए । आफू आजका दिनसम्म कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको, विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरूले आफूमात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद रहेको पनि रिजालले बताएका छन् ।

जाजरकोटका निरज आचार्य पनि युवाहरूबिच लोकप्रिय युवा नेता हुन् । जाजरकोटमा जनमत भएका नेतामा गनिन्छन् उनी । ०७९ मा माओवादी—कांग्रेसको गठबन्धन हुँदा पनि उनले लोकप्रिय मत पाएका थिए । कांग्रेसको समर्थनसहित चुनाव लडेका माओवादीका शक्ति बस्नेतले ३१ हजार १५१ मत ल्याउँदा आचार्यले २५ हजार १२० मत पाएका थिए । यहाँ कांग्रेसको पनि राम्रै मत छ । जिल्लाबाट सिफारिस गर्दा आचार्यसहित ५ जनाको नाम सिफारिस गरिएको थियो । यद्यपि पार्टी केन्द्रले डम्बरबहादुर सिंहलाई टिकट दियो । सिंह ०७० को संविधान सभा र ०७९ को प्रदेश (१) को प्रदेश सभामा पराजित नेता हुन् ।

टिकट नपाएपछि आचार्यले सामाजिक सञ्जालमा भनेका छन्, ‘करिब ३०० जना साथीहरूसँग फोनमार्फत कुरा गर्न सकेँ, तर धेरैका फोन उठाउन सकिनँ, त्यसका लागि क्षमाप्रार्थी छु ।’

टिकट नपाउने अर्का नेता दल रावल पनि जनतामा चिनिएकै नेता हुन् । उनी ०७४ मा प्रदेश सभा जितेर कर्णालीको सामाजिक विकासमन्त्रीसम्म बनेका थिए ।

एमाले हुम्लाका संयोजक रावल केन्द्रमा केपी ओली र कर्णालीमा यामलाल कँडेल समूहका नेताका रूपमा चिनिन्छन् । सिफारिस गर्दा रावलसहित तीन जनाको नाम सिफारिस गरिएको थियो ।

रावल ०७९ को प्रतिनिधि सभा चुनावमा पराजित भएका थिए । उक्त चुनावमा कांग्रेस—माओवादी गठबन्धन हुँदा पनि उनले लोकप्रिय मत पाएका थिए । गठबन्धनका उम्मेदवार छिरिङ डम्डुल लामाले १४ हजार ३७१ मत पाउँदा रावलले एक्लै ९ हजार ५१६ मत पाएका थिए ।

उनले एकल रूपमा चुनाव लड्दा पार्टीले प्राप्त गरेको समानुपातिक मतभन्दा झण्डै दोब्बर मत ल्याएका थिए, तर यो पटक उनले टिकट पाएनन् । कर्णालीमा यामलाल कँडेलविरुद्ध गुट चलाएका नेता गोरख बोगटी पक्षका दल फडेराले टिकट पाए ।

फडेरा ०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । त्यसलगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि तेस्रो स्थानमा खुम्चिएका थिए । यद्यपि बोगटीकै दबाबमा केपी ओलीले फडेरालाई टिकट दिएको चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप