बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेले झापा र कञ्चनपुरसहितका निर्वाचन क्षेत्रमा उम्मेदवार फेर्ने

आइतबार, ०४ माघ २०८२, १७ : २४
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपा एमालेले झापा, कञ्चनपुर र बाजुरा लगायतका निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गर्ने भएको छ।
  • अध्यक्ष केपी शर्मा ओलीले झापा ४ मा मनोज ताम्लीको ठाउँमा एलपी सावाँ लिम्बुलाई टिकट दिने तयारी गरेका छन्।
  • शनिबारको सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोट प्रक्रियाप्रति फरक मत राखेका थिए।

काठमाडौँ । नेकपा एमालेले झापा र कञ्चनपुर सहितका केही निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर (परिवर्तन) गर्ने भएको छ । 

‘झापा ४, कञ्चनपुर १ र बाजुरा लगायतका निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गर्ने अध्यक्ष केपी शर्मा ओलीज्यूले सङ्केत गर्नुभएको छ’, अध्यक्ष निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘त्यो अधिकार अध्यक्षमा भएकाले भोलि बेलुका वा पर्सी बिहानसम्म टुङ्गो लाग्छ ।’

एमालेले झापा क्षेत्र नम्बर ४ मा मनोज ताम्लीको ठाउँमा एलपी सावाँ लिम्बुलाई र कमला बोहोराको ठाउँमा तारा लामा तामाङलाई टिकट दिने ओलीको तयारी छ । 

त्यस्तै बझाङमा अफिलाल ओखेडाको ठाउँमा ऐन महरलाई टिकट दिने तयारी अध्यक्ष ओलीले गरेका छन् । 

१६५ मध्ये १४० निर्वाचन क्षेत्रका लागि शनिबार उम्मेदवार टुङ्गो लगाएको एमालेले लोकप्रिय र विगतमा निर्वाचन जित्दै आएका उम्मेदवारहरू नै उम्मेदवार बन्न नपाएपछि एमालेभित्र तीव्र असन्तुष्टि छ । 

शनिबारको सचिवालय बैठकमै उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोट प्रक्रियाप्रति चार बुँदे फरक मत (नोट अफ डिसेन्ट) राखेका थिए । भट्टराईले ११औँ राष्ट्रिय महाधिवेशनमा फरक समूह बनाएर प्रतिस्पर्धामा उत्रिएकाहरूलाई उम्मेदवार नै नबनाएपछि फरक मत राखेका थिए ।  

यसैबिच एमाले अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका २५ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा नगरी ‘होल्ड’ राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप