शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आधा टिकट देउवाले बाँडे, बाँकी अब गगनले गरून् : मीन विश्वकर्मा

आइतबार, ०४ माघ २०८२, २२ : ००
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आसन्न निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच टिकट वितरणमा सहमति खोज्न प्रस्ताव गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको लफडा अदालतमा विचाराधीन रहेका बेला विश्वकर्माले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।

विश्वकर्माले पार्टीको विवाद अदालतमा छोडेर फागुन २१ को निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । उनले चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा वा विशेष महाधिवेशनबाट घोषित सभापति गगन थापाको एकल निर्णयले मात्र चुनाव जित्न नसकिने निष्कर्ष निकाल्दै सहमतिको बाटो औँल्याएका हुन् । 

उम्मेदवार चयन र टिकट वितरणको विवाद हल गर्न उनले व्यावहारिक सूत्र अघि सारेका छन् । हिजो टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवादका बिच आधा टिकट देउवाले बाँडेको र अब बाँकी टिकटमा गगनले हस्ताक्षर गरेर सहमति गर्नुपर्ने उनको तर्क छ ।

मुलुकका अन्य दलहरू निर्वाचनमा होमिएको अवस्थामा कांग्रेस भने नदुखेको टाउको आफैँ ठोक्दै रोइरहेको टिप्पणी विश्वकर्माले गरेका छन् । पार्टीको नियमित महाधिवेशन हुँदै गर्दा विशेष महाधिवेशनको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । नीति महाधिवेशन भनिए पनि नेतृत्व भङ्ग र चयनमा प्रवेश गरेको, जबरजस्ती आयोजना भएको र पार्टीले अपनत्व नलिएको जस्ता विषयले कांग्रेस विवादै विवादले थलिएको उनले बताए । अहिले कांग्रेस उड्नुपर्नेमा दौडन नसकेको र हिँड्नुपर्नेमा घस्रन पनि नसकेको उनको विश्लेषण छ ।

विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियताप्रति आफ्नो विमति रहेको भए पनि चुनावको मुखमा घमन्ड त्याग्न उनले नेताहरूलाई सचेत गराएका छन् । हिजो भदौ २४ मा ज्यान जोगाउन घर छोड्न तयार भएजस्तै आज पार्टी जोगाउन घमन्ड त्याग्नुपर्ने उनको भनाइ छ । 

उनले देउवा, गगन, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई घेराबन्दीबाट बाहिर निस्केर एक ठाउँमा बस्न र साझा उम्मेदवार तय गर्न आग्रह गरेका छन् । झगडाको मिलन बिन्दु नै चुनाव भएको भन्दै उनले सबै कांग्रेसीलाई रुख चिन्हमा भोट माग्ने वातावरण बनाउन अपिल गरेका छन् ।

आदरणीय नेताज्यू तथा साथीहरू 

जय नेपाल !

हाल हाम्रो पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजनैतिक दलहरू सँगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गम्भीर मोडमा छ !

यो अवस्थाबाट मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सबैलाई आव्हान गर्‍यौ ! जसका कारण सबै दल निर्वाचनमा होमिएका छन् !

तर मुलुकको पहिलो र ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रुँदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होइन मुलुक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो !

पार्टीको नियमित महाधिवेशन हुँदै थियो ! विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जबर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भङ्ग र चयनमा किन प्रवेश गरेको ? आदी इत्यादि यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिँड्न सकेको छैन ! हिँड्न पर्ने घस्रन सकेको छैन ! 

विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासँग मेरो पनि विमति छ ! यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन् !

तर प्रक्रियामा काफी विमतिका बावजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ ! 

यसका लागि न विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौँ महाधिवेशन 

वाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ !

तसर्थ विवाद अव आयोग मात्रै होइन अदालत पुगिसक्यो ! अव झगडा अदालतमा छाडौँ ! परिणाम जे आउँछ मान्न तयार बनौँ ! 

हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि 

आज घमन्ड त्याग्न तयार बनौँ पार्टीका लागि ! 

झगडिया अरू कोही होइन हामी एकाघरका हौ ! 

हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ ! 

हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! बाँकीमा अव गगनले गर्नु हुन्छ ! सबैको सहमतिमा उम्मेदवार चयन गरौँ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ ! यसका लागि देउवा , गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिल्यै बस्नुस् ! घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ! 

त्यसैले बीपी, सुवर्ण, गणेशमान, किसूनजीले बनाएको, गिरिजा प्रसाद, सुशील र शेरबहादुरले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमङ्ग र एकताका साथ भन्नेछन्;

“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख” 

भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दाबाद !!

जय नेपाल !!!!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप