शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहट प्रहरीको पुस महिनाको 'रिपोर्ट कार्ड' : ८३ मुद्दा दर्ता, ४७ लाखको सामान बरामद र ६२ फरार पक्राउ

सोमबार, ०५ माघ २०८२, ०७ : १९
सोमबार, ०५ माघ २०८२

सारांश

  • रौतहट प्रहरीले पुस महिनामा अपराध नियन्त्रण, भन्सार चोरी पैठारी र फरार प्रतिवादी पक्राउमा सफलता हासिल गर्‍यो।
  • पुस महिनामा ८३ वटा मुद्दा दर्ता भए, जसमा सङ्गठित अपराधका मुद्दाहरू धेरै थिए र ६२ जना फरार प्रतिवादी पक्राउ परे।
  • प्रहरीले ४२ लाखको भन्सार छलीका सामान र लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो, साथै ट्राफिक व्यवस्थापनबाट १२ लाख राजस्व सङ्कलन गर्‍यो।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पुस महिनामा सम्पादन गरेका कार्यहरूको मासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रहरीले एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण र फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता हात पारेको छ। आइतबार सार्वजनिक तथ्याङ्क अनुसार पुसभर जिल्लामा ८३ वटा विभिन्न मुद्दा दर्ता भएका छन्।

दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा धेरै सङ्गठित तथा आर्थिक अपराधका २६ वटा रहेका छन्। यस्तै सामाजिक अपराधका १८, आत्महत्याका ७, ज्यानसम्बन्धी ५, चोरीका ४ र महिला तथा बालबालिकासम्बन्धी ५ वटा मुद्दा रहेका छन्। गम्भीर अपराधतर्फ बैंकिङ कसुरका २२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षौँदेखि अदालतको सजाय छलेर लुकिछिपी बसेका ६२ जना फरार प्रतिवादीलाई समेत यही अवधिमा पक्राउ गर्न सफल भएको छ।

आर्थिक कारोबार र चोरी नियन्त्रणतर्फ प्रहरीले ४२ लाख ६८ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान र झन्डै ५ लाख रुपैयाँ बराबरको राजस्व छलीका सामग्री बरामद गरेको छ। लागुऔषध नियन्त्रण अन्तर्गत १ हजार २ सय ६० क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरिएको छ भने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवाद सुल्झाएर १० लाख ९५ हजार रुपैयाँ असुली तथा तमसुक फिर्ता गराइएको छ।

ट्राफिक व्यवस्थापनतर्फ १ हजार १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरी १२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। पुस महिनामा जिल्लाभर भएका ७६ सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार हराएका १७ मध्ये ८ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ।

यस्तै, प्रहरीले जिल्लामा गुड्ने भारतीय नम्बर प्लेटका सवारी साधनको समेत विस्तृत अभिलेख राख्न सुरु गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप