‘रेस ४’मा देखिएलान् अक्षय खन्ना ?
सारांश
- अक्षय खन्नाको अभिनयको प्रशंसा भइरहेको छ र 'रेस ४' मा उनको पुनरागमनको हल्ला चलेको थियो।
- 'रेस ४' का निर्माता रमेश तौरानीले अक्षय खन्नाको पुनरागमनको खबरलाई अफवाह बताएका छन्।
- निर्माताका अनुसार अक्षय खन्नाको पात्रको कथा पहिलो भागमै समाप्त भइसकेको छ र फर्काउने योजना छैन।
नयाँ दिल्ली । फिल्म ‘धुरन्धर’मा बलिउड अभिनेता अक्षय खन्नाको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । यससँगै उनका आगामी प्रोजेक्टहरूलाई लिएर विभिन्न अड्कलबाजी पनि सुरु भएका छन् । पछिल्ला दिनमा अक्षय खन्ना चर्चित फ्रेन्चाइज फिल्म ‘रेस ४’मा देखिने चर्चा चलेको थियो । उनी सैफ अली खानसँगै पुनः पर्दामा फर्किने भनाइले दर्शक उत्साहित बनेका थिए ।
तर, यी अड्कलबाजीलाई फिल्मका निर्माता रमेश तौरानीले स्पष्ट रूपमा खण्डन गरेका छन् । ‘रेस ४’मा अक्षय खन्नाको कमब्याक हुने खबरलाई उनले पूर्ण रूपमा अफवाह बताएका छन् । ‘हामीले अक्षय खन्नालाई ‘रेस ४’का लागि सम्पर्क गरेका छैनौँ । यस्तो कुनै सम्भावना नै छैन ।’ हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा तौरानीले भने ।
अक्षय खन्नाको पात्रको कथा पहिलो भागमै समाप्त भइसकेको निर्माताले स्पष्ट पारेका छन् । उनका अनुसार ‘रेस’को पहिलो भागमै अक्षय खन्नाको पात्रको मृत्यु भइसकेको थियो । सो कथावस्तुमा कुनै परिवर्तन गरिने छैन । ‘उनको ट्र्याक त्यहीँ समाप्त भइसकेको छ, अब प्लट परिवर्तन गरेर उनलाई फर्काउने कुनै योजना छैन,’ तौरानीले भने ।
सन् २००८ मा रिलिज भएको ‘रेस’ फिल्ममा अक्षय खन्नाले नकारात्मक भूमिकामा अभिनय गरेका थिए । यसलाई दर्शकले निकै मन पराएका थिए । ‘रेस ४’मा उनको पुनरागमन नहुने निर्माता पक्षले स्पष्ट गरिसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण