मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

के हो म्याक्सवेल र स्टिभ वा फ्रेन्चाइज मालिक रहेको युरोपियन टी–२० लिग ?

बुधबार, ०७ माघ २०८२, ११ : ५६
बुधबार, ०७ माघ २०८२

काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर स्टिभ स्मिथ र मिचेल मार्श युरोप आधारित टी–२० लिगमा खेल्ने भएका छन् । बलिउड अभिनेता अभिषेक बच्चनको सह–स्वामित्वमा सुरु हुन लागेको युरोपियन टी–२०  प्रिमियर लिग (इटीपीएल) मा अस्ट्रेलियाली क्रिकेटका लिजेन्ड स्टिभ वा र ग्लेन म्याक्सवेल पनि फ्रेन्चाइज मालिकका रूपमा जोडिएका छन् ।

बुधबार स्टिभ वा र म्याक्सवेललाई औपचारिक रूपमा लिगका फ्रेन्चाइज मालिकका रूपमा सार्वजनिक गरिएको हो । इटीपीएल आयरल्याण्ड, स्कटल्यान्ड र नेदरल्यान्डसमा सञ्चालन हुनेछ ।

पूर्वन्युजिल्यान्ड क्रिकेटर काइल मिल्स र नेथन म्याकुलम पनि एक फ्रेन्चाइजका मालिक बनेका छन् । हालसम्म एम्स्टर्डम, बेलफास्ट र एडिनबर्गमा आधारित तीन फ्रेन्चाइज बिक्री भइसकेका छन् । बाँकी तीन फ्रेन्चाइज बिक्री हुन बाँकी छन्, जो डब्लिन, रोटरड्याम र ग्लास्गोमा आधारित हुनेछन् ।

करिब २० वर्षअघि क्रिकेटबाट सन्यास लिएका स्टिभ वाका लागि यो क्रिकेट क्षेत्रमा पहिलो ठुलो व्यावसायिक संलग्नता हो । उनी पूर्वअस्ट्रेलियाली हक्की खेलाडी जेमी ड्वायरसहितको लगानीकर्ता समूहसँग मिलेर एम्स्टर्डम फ्लेम्सका सह–मालिक बनेका छन् । ग्लेन म्याक्सवेल भने रोहन लन्डसँग मिलेर आइरिस वुल्भ्स फ्रेन्चाइजका सह–मालिक बनेका छन् । म्याकुलम र मिल्सले एडिनबर्ग फ्रेन्चाइज खरिद गरेका छन् ।

युरोपमा टी–२० लिग सुरु गर्ने प्रयास यसअघि पनि भएको थियो । २०१९ मा युरो स्लाम टी–२० सुरु हुने तयारी भए पनि त्यो लिग अघि बढ्न सकेको थिएन । इटीपीएल भने क्रिकेट आयरल्याण्ड र भारत–आधारित रुल्स ग्लोबल (रुल एक्स) को संयुक्त पहलमा सुरु हुन लागेको हो । यसमा क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्स क्रिकेट बोर्डको पनि रणनीतिक साझेदारी छ । अभिषेक बच्चन यस लिगका सह–संस्थापक हुन् । उनीसँगै आईपीएल टोली दिल्ली क्यापिटल्सका पूर्वप्रमुख कार्यकारी अधिकृत धिरज मल्होत्रासहित अन्य भारतीय लगानीकर्ता पनि छन् ।

इटीपीएलको पहिलो सिजन आगामी अगस्ट २६ देखि सेप्टेम्बर २० सम्म सञ्चालन हुने तालिका छ । यो समय ‘द हन्ड्रेड’ प्रतियोगिताको फाइनलपछि सुरु हुनेछ भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सँग मिति जुध्न सक्ने सम्भावना पनि छ ।

स्टिभ वाका अनुसार स्टिभ स्मिथ, अस्ट्रेलियाका टी–२० कप्तान मिचेल मार्श र नेदरल्यान्ड्सका कप्तान स्कट एडवड्र्स फ्रेन्चाइज टिम एम्स्टर्डम फ्लेम्सका लागि अनुबन्धित भइसकेका छन् । टिम डेभिडसँग पनि सकारात्मक छलफल भइरहेको वाले बताएका छन् ।

वाले इएसपीएनसँग भने, ‘हामीले धेरै खेलाडीसँग कुरा गरिसकेका छौँ । सबैले यो प्रतियोगिताप्रति उत्साह देखाएका छन् । युरोपमा क्रिकेट विस्तार गर्ने सम्भावनाले उनीहरूलाई आकर्षित गरेको छ ।’

उनका अनुसार अनुभवी खेलाडीहरू अहिले आफ्नो करियरको यस्तो चरणमा छन्, जहाँ उनीहरू अरू खेलाडीको विकासमा योगदान दिन चाहन्छन् ।

दुई पटक विश्वकप विजेता वाले युरोपेली क्रिकेटका लागि यो ठुलो अवसर भएको बताए । ‘विश्वका उत्कृष्ट खेलाडीहरूसँग खेल्ने मौका पाउँदा यहाँका खेलाडीको स्तर छिटो उकासिनेछ,’ उनले भने ।

इटीपीएलका सह–संस्थापक अभिषेक बच्चनले पनि लिगलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाइने बताए । यो बच्चनको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट लिगमा संलग्नता हो । यसअघि उनी फुटबल, कबड्डी र अन्य घरेलु खेल लिगहरूमा सह–मालिक भइसकेका छन् ।

उनका अनुसार लिगले चाँडै नै भारतीय प्रसारण साझेदार (ब्रडकास्टर) पाउने तयारीमा छ । पहिलो सिजन आयरल्याण्ड र नेदरल्यान्ड्समा आयोजना हुनेछ भने अन्तिम खेल स्थल चाँडै टुङ्गो लाग्नेछन् ।

‘ठुलो लक्ष्य छ, तर हामी चरणबद्ध रूपमा अघि बढिरहेका छौँ,’ बच्चनले भने, ‘अन्ततः मैदानमा आएर खेल हेर्ने दर्शक नै क्रिकेटको भविष्य हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप