‘मलाई फिल्मको व्यापारले फरक पार्दैन’
सारांश
- सौगात मल्लको नयाँ फिल्म 'भाइरल गोर्खे' मा सामाजिक सञ्जालमा भाइरल हुने व्यक्तिको कथा प्रस्तुत गरिएको छ।
- फिल्ममा सौगात र सृष्टिको जोडी रहेको छ, जसमा शिव श्रेष्ठको शैलीलाई मिमिक्री गरिएको छैन।
- सौगात मल्लले फिल्मको व्यापारभन्दा अभिनयको सफलतालाई महत्व दिन्छन्, र ब्रेकअपपछि पनि सृष्टिसँगको सहकार्यलाई सहज मानेका छन्।
काठमाडौं । ‘कागबेनी’बाट नेपाली फिल्ममा डेब्यु गरेका सौगात मल्ल ‘लुट’मा हाकु कालेको भूमिकाबाट सर्वत्र चिनिए । त्यसपछि उनले करिअरमा पछाडि फर्केर हेर्नु परेन । बक्स अफिसमा लगातार हिट फिल्म छैनन्, तर पनि उम्दा अभिनयले एकपछि अर्को फिल्ममा अवसर पाइरहेका छन् ।
सौगात अभिनेत्री तथा मिस नेपाल सृष्टि श्रेष्ठसँग लामो समयको प्रेम सम्बन्धले पनि चर्चामा रहे । हाल उनीहरूको ‘ब्रेकअप’ भइसकेको छ, तर पनि व्यावसायिक सहकार्यमा यसले प्रभाव पारेको छैन ।
प्रदर्शनरत फिल्म ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिले जोडी बाँधेका छन् । हालसम्म सृष्टिसँग ६ वटा फिल्ममा सहकार्य गरिसकेका सौगात उनलाई एक असल साथी र बुझ्ने कलाकार मान्छन् । यिनै विषयमा केन्द्रित रहेर अभिनेता सौगात मल्लसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
फिल्मको प्रतिक्रिया बुझ्न उपत्यका बाहिर जानुभयो, कस्तो पाउनुभयो ?
सबैतिर त होइन, पोखरा र चितवन पुगेको हो । अब नेपालगन्ज र पूर्वका केही सहरमा जाने तयारीमा छु । पोखरा र चितवनमा फिल्मको व्यवसाय राम्रो छ । फिल्म हेरेका दर्शकले मेरो ‘भाइरल गोर्खे’ अवतार र अभिनयलाई एकदमै मन पराउनुभयो । उहाँहरूको प्रतिक्रियाले उत्साहित छु । हामी प्रचारका लागि पुग्दा दर्शक पनि बढेका छन् ।
सामाजिक सञ्जालमा भाइरल हुने व्यक्तिको कथामा छ फिल्म । तपाईँ सामाजिक सञ्जाल नचलाउने व्यक्ति किन रोजाइमा पर्यो यो फिल्म ?
म खासै टिकटक लगायत सामाजिक सञ्जाल चलाउँदिनँ । यदि यो फिल्म ‘टिकटक’को मात्र विषयमा हुन्थ्यो भने सायद म गर्दिनथेँ होला । तर यसको स्क्रिप्ट र स्क्रिन प्ले मलाई निकै मनपर्यो । यो कथा एउटा यस्तो पात्रको हो, जसलाई ‘भाइरल’ शब्द उच्चारण गर्न पनि आउँदैन, उसले ‘भाइरस’ भनिरहेको हुन्छ ।
एउटा गाउँको गोठालो, जो शिव श्रेष्ठको फ्यान छ, ऊ कसरी अञ्जानमै भाइरल हुन्छ र त्यसपछि उसको जीवनमा कस्ता उतारचढाव आउँछन् भन्ने यसमा छ । यसमा संघर्ष छ, पीडा छ र अहिलेको समयको यथार्थ छ । त्यसैले स्क्रिप्ट पढिसकेपछि मैले ‘नाइँ’ भन्नै सकिनँ ।
‘भाइरल’ हुनुका सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छन्, फिल्मले कुन पक्षलाई बढी देखाउँछ ?
फिल्मले भाइरल भएपछिको चुनौतीलाई बढी देखाउँछ । आज मान्छे एक्कासि कहाँ पुग्छ, भोलि फेरि किन खस्छ भन्ने कुरा यसमा छ । भाइरल भइसकेपछि ढुक्क भएर बस्न पाइँदैन, त्यहाँबाट अर्को संघर्ष सुरु हुन्छ । यो फिल्मले दर्शकलाई एउटा राम्रो सन्देश पनि दिन्छ- सोसल मिडिया प्लेटफर्मलाई सही सदुपयोग गर्नका लागि । सोसल मिडियाले व्यक्तिगत जीवनमा पार्ने प्रभावलाई यसमा देखाइएको छ ।
फिल्ममा अभिनेता शिव श्रेष्ठको शैलीलाई ‘कपी’ गर्नुभएको छ, तयारी कति र कसरी गर्नुभयो ?
मैले अभिनयमा सुरुवाती दिनमा धेरै मिमिक्री (क्यारिकेचर) गर्थेँ । तर यो फिल्ममा मैले शिव दाइको जस्तै अभिनय गर्न खोजेको होइन । यो पात्र शिव दाइको फ्यान हो, उसलाई शिव दाइजस्तै देखिने सौख छ, तर ऊसँग त्यस्तो ट्यालेन्ट छैन । उसको डान्समा पनि एक प्रकारको ‘लुजनेस’ छ ।
फिल्मको छायांकनअघि म १२ दिन गाउँमा गएर बसेँ । त्यहाँ कसैको अवरोध थिएन, म आनन्दले गाउँले परिवेशमा भिजेँ । त्यो समयमा मैले डाइलग र पात्रको मनोविज्ञानमा धेरै काम गर्न पाएँ । पात्रलाई स्वाभाविक देखाउन मैले धेरै मेहेनत गरेको छु ।
फिल्मको प्रचार सामग्रीमा पृथ्वीनारायण शाहको अवतारमा पनि देखिनुभएको थियो नि ?
फिल्मको सेटिङ गोर्खामा छ । त्यो पात्रले टिकटक बनाउने क्रममा पृथ्वीनारायण शाहको गेटअप पनि लिन्छ । गोर्खाको इतिहास र त्यहाँको गौरवलाई फिल्ममा कुनै न कुनै रूपमा जोड्नु आवश्यक थियो, त्यसैले त्यो रेफरेन्स आएको हो । यसले ठाउँको प्रवर्द्धनमा पनि सहयोग पुग्छ भन्ने हिसाबले समेटिएको हो ।
धेरै फिल्म व्यापारिक रूपमा सफल नहुँदा पनि तपाईँ सधैँ व्यस्त हुनुहुन्छ, निर्माताहरूले तपाईँलाई नै किन रोज्छन् ?
यो त मैले पनि निर्माताहरूलाई नै सोध्नुपर्ने कुरा हो (हाँस्दै) । तर मलाई लाग्छ, उहाँहरूले मेरो मेहनतमा विश्वास गर्नुहुन्छ । सायद उहाँहरूलाई लाग्छ कि यसले पैसा कमाओस् वा नकमाओस्, आफ्नो काम चाहिँ इमानदारीपूर्वक र मेहनतका साथ गर्छ । म आफ्नो तर्फबाट पाएको भूमिका शतप्रतिशत दिन्छु । सायद त्यही मेहनत देखेर ममाथि भरोसा गरिएको होला । त्यही भरोसाका कारण अहिलेसम्म खाली बस्नु परेको छैन ।
त्यसो भए तपाईंलाई बक्स अफिस अर्थात् फिल्मको व्यापारले फरक पार्दैन ?
फिल्मको व्यवसायले कुनै अर्थ राख्दैन भनेको होइन, त्यसको पनि अर्थ छ । तर मलाई वास्तविक मज्जा व्यवसायले भन्दा पनि अभिनयको सफलताले दिन्छ । मलाई के हुन्छ भने फिल्मको जुन वास्तविक मज्जा र आनन्द हुन्छ, त्यो मैले काम गर्ने क्रममै पाइसकेको हुन्छु । फिल्मको नतिजा कस्तो आउला भन्ने कुरा मेरो हातमा हुँदैन ।
मलाई सुटिङभन्दा अगाडिको समय, जब म एक्लै बसेर क्यारेक्टरको प्राक्टिस गर्छु, घण्टौँसम्म त्यो क्यारेक्टरमा डुब्छु, त्यही बेला नै मैले आनन्द उठाइसकेको हुन्छु ।
फिल्म हेर्दा म प्रायः निराश हुन्छु । किनभने एक्टरहरूको दिमागमा एउटा छुट्टै कल्पना हुन्छ । यस्तो लाइट होला, यस्तो ब्याकग्राउण्ड म्युजिक होला भन्ने । तर पर्दामा हेर्दा कहिलेकाहीँ त्यो ८० प्रतिशत प्रभाव पार्ला भनेको ठाउँमा ३० प्रतिशत मात्रै भइदिन्छ । त्यसैले फिल्म हेर्दा ‘ओ सिट’ भन्ने फिल धेरै हुन्छ ।
एउटा कलाकारका लागि फिल्मले रेकर्ड राखोस्, हिट होस् भन्ने त लाग्छ होला नि ?
कुन कलाकारलाई यस्तो लाग्दैन र ? तर मेरो लागि बक्स अफिसको अर्थ ‘धेरै मान्छेले हेरे’ भन्ने हो । व्यापारभन्दा पनि धेरैभन्दा धेरै दर्शकमाझ मेरो काम पुगोस् भन्ने चाहना हुन्छ । अहिलेका एक्टरहरूले मेहनत गरिरहेका छन्, उनीहरू चरित्रका लागि ढल्न सक्छन् भन्ने कुरा जनमानसमा देखियोस् भन्ने मेरो उद्देश्य हुन्छ । आर्थिक पाटोभन्दा पनि मेरो मेहेनत कति पब्लिकले हेरे भन्ने कुरालाई म बक्स अफिसको गणनाको रूपमा लिन्छु ।
ब्रेकअपपछि पनि अभिनेत्री सृष्टिसँग फिल्म अभिनय गरिरहनुभएको छ । सहज हुन्छ त ?
म एउटा कलाकार हो । कलाकारको काम अभिनय गर्नु हो । कलाकारिता गर्दा म चरित्रमा हुन्छु । त्यो चरित्रको सम्बन्ध फिल्मको अर्को चरित्रसँग हुन्छ । अर्को कलाकार को भन्ने अर्थ राख्दैन । म त्यो सोच्दिनँ । सृष्टि र मेरो प्रेममा ब्रेकअप भएको हो । अहिले पनि ऊ र म राम्रो साथी हौं । साथीसँग काम गर्दा असहज त हुँदैन । फिल्म मात्र होइन, हामी प्रचारमा पनि एकसाथ हिँडिरहेका छौं ।
तपाईँ र सृष्टिको ६ फिल्ममा सहकार्य भएको छ । सृष्टि तपाईंका लागि कति लक्की ?
अब लक्की त म भन्न सक्दिनँ । सहकार्य रमाइलो र सजिलो लाग्छ । ऊ बुझ्ने र अभिनय राम्रोसँग बुझिसकेको मानिस हो । त्यत्तिकै पर्सनल पनि मलाई एकदमै सजिलो हुन्छ, सहज हुन्छ । मेरो विचारमा दर्शकको पनि चाहना यही हो । फिल्ममा पनि हाम्रो जोडी राम्रो देखिन्छ ।
केहीअघि एउटा कार्यक्रममा सृष्टिले झुक्किएर तपाईँलाई ‘दाइ’ भन्नुभयो, यसलाई कसरी लिनुभयो ?
(हाँस्दै) त्यो त सामान्य ‘टङ स्लिप’ मात्रै थियो । सृष्टिको बानी मलाई थाहा छ, उनले त्यो अर्थमा भनेकी होइनन् भन्ने मैले बुझिहालेँ । मेरो पनि कति ठाउँमा शब्दहरू चिप्लिरहेका हुन्छन् । मलाई थाहा थियो कि यो कुरा अरूका लागि चाहिँ इन्ट्रेस्टिङ मसला हुन सक्छ, तर मेरो लागि यो केही पनि होइन ।
सृष्टिसँग फेरि प्रेम र विवाहको सम्भावना कति छ ?
हाम्रो विवाह वा प्रेमको बारेमा अहिले नै नयाँ केही छैन । हामी जे निर्णय लिन्छौँ । त्यसमा खुसी हुन्छौँ । हाम्रा शुभचिन्तकहरू पनि त्यसमै खुसी भइदिनुहोला भन्ने चाहन्छु ।
‘भाइरल गोर्खे’ हेर्न बाँकी दर्शकलाई के भन्नुहुन्छ ?
यो एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म हो । यसमा हाँसो छ, मन छुने दृश्यहरू छन् र एउटा महत्त्वपूर्ण मेसेज पनि छ । विशेषगरी अहिलेको टिकटक पुस्ता र सामाजिक परिवेशलाई बुझ्न यो फिल्मले सहयोग गर्नेछ । हामीले केही कुराहरू लुकाएर पनि राखेका छौँ, जुन हलमा फिल्म हेर्दा दर्शकका लागि सरप्राइज हुनेछ । त्यसैले फिल्म हेर्न दर्शकमा अनुरोध गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण