बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशका सांसद देवकोटाको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र शर्माको संयुक्त इजलासमा सुनुवाइ हुँदै

बिहीबार, ०८ माघ २०८२, ११ : १८
बिहीबार, ०८ माघ २०८२

सारांश

  • गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुने भएको छ।
  • तत्कालीन माओवादी केन्द्रको पत्रका आधारमा सभामुखले देवकोटालाई पदमुक्त गरेपछि उनले सर्वोच्चमा रिट दिएका थिए।
  • देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सदस्य भएको र माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गरेका छन्।

काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले सांसद पदबाट हटाउने निर्णयविरुद्ध दिएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

तत्कालीन माओवादी केन्द्रको पत्रका आधारमा सभामुखबाट सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध देवकोटाले सर्वोच्चमा रिट दिएका थिए । तत्कालीन माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर ह्वीप उल्लङ्घन गरेको भन्दै देवकोटालाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए । २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

यसअघि सर्वोच्चले देवकोटाले दिएको रिटमा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि उनको मनोनयन पत्र, निर्वाचन आयोगले दिएको प्रमाणपत्र र निर्वाचन आयोगले २०७९ मङ्सिर २९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप