बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा एक जनाको उम्मेदवारी खारेज

बिहीबार, ०८ माघ २०८२, १९ : ४३
बिहीबार, ०८ माघ २०८२

सारांश

  • बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका ६१ उम्मेदवारमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ।
  • निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै दलबाट दुई जनाको मनोनयन परेकोमा सहमतिपछि एक जनाको उम्मेदवारी खारेज गरियो।
  • कान्तुराम गौतमको उम्मेदवारी खारेज गरिएको छ, भने अन्य क्षेत्रका उम्मेदवारी यथावत छन्।

नेपालगञ्ज । बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका कुल ६१ जना उम्मेदवारमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन तालिकाअनुसार मनोनयनपत्रमाथि जाँचबुझ र निर्णय गर्ने समयभित्र निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै दलबाट परेका दुईमध्ये एक जनाको दर्ता खारेज गरिएको हो । 

जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २२ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको मनोनयन दर्ता भएको थियो । जसमध्ये क्षेत्र नम्बर ३ मा एउटै दलबाट दुई जनाको मनोनयन परेको थियो । 

निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार दुई जना उम्मेदवारबिच भएको सहमतिअनुसार एक जनाको मनोनयन खारेज गरिएको हो । नेपाली कम्युनिस्ट पार्टीबाट कान्तुराम गौतम र दीपककुमार गौरी मगरको मनोनयन दर्ता भएको थियो । दुवै जनाले सहमति गरेर एक जनालाई आधिकारिता दिने निर्णय गरेपछि कान्तुराम गौतमको उम्मेदवारी खारेज गरिएको अधिकृत गौतमले जानकारी दिए । 

कान्तुराम गौतम र दीपककुमार गौरी मगर दुवैले पार्टीको मनोनयनपत्रसहित निर्वाचन कार्यालयमा दर्ता गराएका थिए । कान्तुराम गौतम यसअघि तत्कालीन नेकपा माओवादीबाट खजुरा गाउँपालिका वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष भइसकेका छन् । 

योसँगै क्षेत्र नम्बर ३ मा अब २२ जनाको उम्मेदवारी कायम छ । निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार क्षेत्र नम्बर १ मा दर्ता भएका १६ जनाकै उम्मेदवारी कानुनबमोजिम कायम छ । यस्तै मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले क्षेत्र नम्बर २ मा दर्ता भएका २२ जनाको उम्मेदवारी पनि कानुनबमोजिम कायम रहेको बताए । 

यस पटक बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि पूर्वमन्त्री, बहालवाला प्रतिनिधि सभा सदस्य, नेपाली कांग्रेसका प्रदेश सभापति र जिल्ला सभापति, तथा लुम्बिनी प्रदेश सभाका सांसदसमेत उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप