दलहरूले देखाएनन् समावेशी सिद्धान्त : कर्णालीका १२ क्षेत्रमा ३ महिला उम्मेदवार
सारांश
- नेकपा र एमालेले कर्णाली प्रदेशमा महिला उम्मेदवारलाई टिकट नदिएको समाचारमा उल्लेख छ।
- कांग्रेसले भने दैलेख-१ मा युवा महिला नेतृ बासना थापालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।
- रास्वपाले हुम्लामा टासी ल्हाजोमलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ, उनी जलवायु अभियन्ता हुन्।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समावेशिताको वकालत गरेर कहिल्यै थाक्दैनन् । उनी समानुपातिकदेखि समावेशिता यो देशमा ल्याउने माओवादी नै हो भन्छन्, तर कर्णालीमा प्रतिनिधि सभा उम्मेदवार छनोटमा भने नेकपाबाट एक जना पनि महिला नेतृले टिकट पाएनन् ।
उसो त उम्मेदवार सिफारिसकै क्रममा पनि नेकपाले महिलाहरूको नाम खासै पठाएको थिएन् । १२ वटा निर्वाचन क्षेत्रमा सबै पुरुष उम्मेदवार छन् । नेकपाबाट उम्मेदवारी दर्ताका लागि रुकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख–१ मा अम्मरबहादुर थापा, दैलेख–२ मा योगेन्द्रबहादुर शाही, सुर्खेत–१ मा जीतबहादुर राना, सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पामा धनबहादुर बुढाले टिकट पाएका छन् ।
यस्तै हुम्लामा डा. दीपेन्द्र रोकाया, कालिकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्ति बस्नेत, सल्यानमा रमेश मल्ल र मुगुमा चन्द्रबहादुर शाहीलाई नेकपाले उम्मेदवार बनाउँदा एक जना पनि महिला उम्मेदवार छैन । बरु ०७९ को निर्वाचनमा माओवादीले जुम्लामा गोमा कुवँरलाई उम्मेदवार बनाएको थियो ।
यस्तै अर्को ठुलो दल नेकपा एमालेले पनि कर्णालीमा एक जना पनि महिलालाई उम्मेदवार बनाएन । सिफारिसका क्रममा डोल्पाबाट बद्मीकुमारी बोहोराको नाम प्रमुखताको साथ सिफारिस गरिएको थियो । तर टिकट वितरण गर्दा ओलीले त्यहाँ लंक रोकायालाई दियो ।
एमालेले सुर्खेत–१ म ध्रुव शाही, सुर्खेत–२ मा कुलमणि देवकोटा, सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, कालिकोटमा नगीन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लंक रोकाया, जाजरकोटमा डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै दैलेख–१ मा रविन्द्रराज शर्मा र दैलेख–२ मा लक्ष्मी पोखरेलले टिकट पाएका छन् । एमालेले यसअघिका चुनावमा पनि प्रायः महिलालाई उम्मेदवार बनाएको छैन । उनीहरूले महिला नेतृलाई केवल समानुपातिक कोटामै सीमित गरेका छन् ।
समावेशीका गफ गरेर नथाक्ने यी कम्युनिस्ट दुई ठुला दलभन्दा बरु कांग्रेसले युवा महिला नेतृ बासना थापालाई दैलेख–१ को प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । एमालेबाट मुगुमा खड्गबहादुर शाही, सुर्खेत–१ मा विष्णुकुमार खड्का,२ मा नारायण कोइराला, दैलेख–२ मा दीक्पालकुमार शाही, रुकुम पश्चिममा राजु केसी, जाजरकोटमा खड्गबहादुर बुढा, डोल्पामा कर्णबहादुर बुढा, कालिकोटमा हर्ष बहादुर बम, सल्यानमा केशबहादुर विष्ट, हुम्लामा जयपति रोकाया र जुम्लामा दीपबहादुर शाहीलाई टिकट दिँदा दैलेख–१ मा बासनाले टिकट पाइन् ।
उसो त सिफारिसका क्रममा कांग्रेसबाट धेरै महिला नेतृको नाम पठाइएको थियो । तर, विशेष महाधिवेशनपछि अन्योलता थियो । बासना कांग्रेस सभापति गगन थापा निकट मानिन्छन् । काठमाडौँमै जन्मे, हुर्केकी उनी विवाहपछि दैलेख आइन् । दैलेख सदरमुकाममा रहेको होटल पार्किङकी सञ्चालक समेत रहेकी थापा युवा महिला नेतृ हुन् । उनी दैलेखमा चर्चित महिला नेतृ हुन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी ०७४ मा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् ।
तर उनी थोरै मतान्तरले पराजित भइन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहकी थापाले अन्य पार्टीका पुराना नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । यो क्षेत्रमा ०७४ र ०७९ मा कांग्रेसले उम्मेदवार पाएको थिएन् ।
यहाँ चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यहाँ एमालेबाट रविन्द्रराज शर्मा नै उम्मेदवार बनेका छन् भने नेकपाबाट अम्मरबहादुर थापाले नै टिकट पाएका छन् । थापा र शर्मा दुवै परीक्षण भइसकेका नेताहरू हुन् । रास्वपाले एनके बस्नेतलाई उम्मेदवार बनाएको छ ।
यदि बासनाको ठाउँमा अरु भएको भए सायद टिकट ल्याउन सक्थेनन् । यहाँ ०७० सालको निर्वाचनपछि कांग्रेसले आफ्नो उम्मेदवार पाएको थिएन । ०७४ मा एकातिर वामगठबन्धन हुँदा राप्रपालाई सहयोग गरेको कांग्रेसले ०७९ मा कांग्रेस–माओवादी र समाजवादीबिच गठबन्धन हुँदा समाजवादीका अम्मरबहादुर थापाले टिकट पाए, उनले जिते पनि । अहिले नेकपाबा उनी पुनः चुनावी मैदानमा छन् । थापाले एमाले र नेकपाका दुई पुराना नेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यो क्षेत्रमा विगतदेखि नै कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुँदै आएको छ ।
रास्वपाले बनायो टासीलाई उम्मेदवार
बरु नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ हुम्लामा टासी ल्हाजोमलाई उम्मेदवार बनाएको छ । उसो त उनी रास्वपाको समानुपातिक बन्दसूचीमा परेकी थिइन् । उनको नाम पार्टीले फिर्ता लियो । अहिले प्रत्यक्षतर्फकै उम्मेदवार बनाएर पठायो ।
उत्तरी हुम्लाको लिमीकी टासी सुशीला कार्की नेतृत्वको सरकारमै मन्त्री बन्ने लाइनमा थिइन् । तर उनको नागरिकतासम्बन्धी प्रश्न उठेपछि रोकियो । पछि उनले उक्त कुराको खण्डन गरिन् । आरोप र विषय उठाउने जेनजीहरूले कमजोरी पनि स्वीकार गरेका थिए । टासी जलवायु अभियान्ता हुन्, उनी जेनजी उमेर समूहकी हुन् ।
त्यस्तै विनिता कठायतलाई पनि रास्वपाले उम्मेदवार बनाएको छ । जुम्लाबाट रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण