बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाजालाई विलासी सहर बनाउने ट्रम्पको महत्त्वाकाङ्क्षी योजना

समुद्री किनारमा १८० वटा गगनचुम्बी भवन र आफ्नै विमानस्थल बन्ने
शुक्रबार, ०९ माघ २०८२, ०८ : २०
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • अमेरिकाले गाजालाई पुनर्निर्माण गरी 'नयाँ गाजा' बनाउने गुरुयोजना सार्वजनिक गरेको छ।
  • योजनाअनुसार १८० वटा गगनचुम्बी भवन र ठुला आवास गृहहरू निर्माण गरिनेछ, जसले २१ लाख मानिसलाई समेट्नेछ।
  • इजरायली सेनाको सुरक्षा घेरा कायम रहने र रफाहबाट पुनर्निर्माण सुरु हुने बताइएको छ।

दाभोस । अमेरिकाले युद्धबाट ध्वस्त भएको प्यालेस्टिनी क्षेत्र गाजालाई पूर्ण रूपमा पुनर्निर्माण गरी ‘नयाँ गाजा’ (न्यू गाजा) बनाउने बृहत् गुरुयोजना सार्वजनिक गरेको छ। स्विट्जरल्याण्डको दाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले यससम्बन्धी योजनाका सङ्केत र नक्साहरू प्रस्तुत गरेको हो।

यस योजनाअनुसार भूमध्य सागरको किनारमा १८० वटा गगनचुम्बी भवनहरू निर्माण गरिनेछ भने रफाह क्षेत्रमा ठुला आवास गृहहरू बनाइनेछ। २१ लाख जनसङ्ख्याका लागि नयाँ आवासीय, कृषि र औद्योगिक क्षेत्रहरू विकास गर्ने लक्ष्य राखिएको छ। ‘म मूलतः घरजग्गा व्यवसायी हुँ, यो सबै स्थानको खेल हो,’ ट्रम्पले दाभोसमा भने, ‘समुद्र किनारको यो सुन्दर सम्पत्ति धेरै मानिसका लागि के हुन सक्छ भन्ने कुरा हेर्न लायक हुनेछ।’

ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गाजामा झन्डै ६ करोड टन भग्नावशेष हटाउनुपर्ने अवस्था रहेको जानकारी दिए। उनले हमास निःशस्त्रीकरणको सम्झौतामा हस्ताक्षर गर्न तयार भइसकेकाले अब गाजालाई ‘फ्री जोन’ र ‘हमास जोन’ मा विभाजन नगरी एकमुष्ट विकास गरिने बताए। ‘हामीसँग कुनै प्लान बी छैन, हामी यसैलाई सफल बनाउनेछौँ,’ कुश्नरले दृढता व्यक्त गरे।

gaza

अमेरिकी मास्टर प्लानको नक्सामा तटीय पर्यटन क्षेत्र, औद्योगिक कम्प्लेक्स, डाटा सेन्टर, र अत्याधुनिक उत्पादन केन्द्रहरूका लागि छुट्टाछुट्टै जोनहरू निर्धारण गरिएको छ। इजिप्टको सीमा नजिक नयाँ बन्दरगाह र विमानस्थल निर्माण गरिनेछ भने इजिप्ट र इजरायलको सीमा जोडिने ठाउँमा ‘त्रिपक्षीय नाका’ बनाइनेछ। पुनर्निर्माणको काम रफाहबाट सुरु भई बिस्तारै उत्तरतर्फ गाजा सहरसम्म चार चरणमा अघि बढ्नेछ।

यद्यपि, यो योजनामा इजरायली सेनाको भूमिका अझै कायमै रहने देखिन्छ। नक्सामा इजरायल र इजिप्टको सीमानामा एक खाली क्षेत्र देखाइएको छ, जसलाई ट्रम्पको २० बुँदे शान्ति योजनाले ‘सुरक्षा घेरा’ भनेको छ। गाजा पूर्ण रूपमा सुरक्षित नभएसम्म इजरायली सेना उक्त क्षेत्रमा रहने उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप